सुलेमानी बन्ने कि लेन्डुप दोर्जे

राष्ट्रियताका विषयमा नेपाली देशभक्त जनमत जुरुक्कै उठिहाल्छ । केपी वली सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाले ‘प्रतिनिधिसभा’ को अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा अमेरिकी योजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगर्ने हो भने अमेरिकाले सुलेमानी बनाइदिन्छ भनेर दिएको धम्कीपछि सिङ्गो जनमत त्यो कायर र ‘डरछेरुवा’ अभिव्यक्तिका विरुद्ध केन्द्रीकृत बनेको छ । यसले राष्ट्रियताका लागि नेपाली जनता लेन्डुप होइन, सुलेमानी बन्न तयार छन् भन्ने राम्रो सङ्केत गरेको छ । सरकारी नेकपाकै सांसदले राष्ट्रघाती अभिव्यक्तिका विरुद्ध बास्कोटाको राजीनासम्म मागे । एमसीसीका कारण सरकारी पार्टीभित्रै महाकालीकाण्ड दोहोरिने सम्भावना बढ्दै गएको देखिएको छ ।

यतिबेला मुलुक निरन्तर राष्ट्रियताको बहस र आन्दोलनमा छ । एकातिर नेकपाको नेतृत्वमा राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको रक्षा, स्वतन्त्रता र समानताको विषयलाई लिएर निरन्तर क्रान्ति जारी छ भने राष्ट्रियता रक्षाको माग गर्दै भ्रष्ट र तस्करहरूलाई कारबाही गरेको आरोपमा नेकपाका कयौँ नेताहरू यतिबेला जेल र हिरासतको छिँडीमा कष्टपूर्ण जीवन बिताइरहेका छन् । सुलेमानी नबनेर लेन्डुप बन्न चाहेका भए कयौँ डरपोक र अवसरवादीहरूले झैँ उनीहरूले पनि पलायनको बाटो तताइसकेका हुन्थे तर इतिहासमा सधैँ लेन्डुपहरू मात्र कहाँ जन्मिन्छन् र ! नेपालमा ‘सुलेमानी’ हरू भएकै कारण मुलुकको अस्तित्व आजसम्म धानिएको छ र साम्राज्यवादहरूले अन्यत्रझैँ सीधै आक्रमण गर्न नसकेर केपी वली, शेरबाहादुर देउवा, प्रदी ज्ञवाली र गोकुल बास्कोटाहरू निर्माण गरिरहेका छन् । सुलेमानी कम्युनिस्ट क्रान्तिकारी वा अन्तर्राष्ट्रियतावादी भएकाले यहाँ सन्दर्भपात्र बनाइएका होइनन्, उनी अमेरिकी साम्राज्यवादको आतङ्कवादी र हस्तक्षेपकारी नीति र कार्यक्रमका विरुद्ध निरन्तर क्रियाशील रहँदारहँदैको अवस्थामा अमेरिकाको कपटपूर्ण र आतङ्कवादी आक्रमणमा मारिएकाले राष्ट्रवादका बिम्ब बनेका हुन् ।

केही दिनअघिसम्म कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपाली भूमि आफ्नो नक्सामा पार्ने र कालापनीमा सैनिक क्याम्प राख्ने भारतीय साम्राज्यवादविरुद्ध आन्दोलित नेपाली देशभक्ति धारा र जनआक्रोशलाई फकाएर, थर्काएर र छक्याएर भारतीय शासक खुसी पार्ने सरकारी धाराका बीच ध्रुवीकृत र केन्द्रित समाज आज अर्को राष्ट्रघाती योजना एमसीसीका विरुद्ध सतहमै उत्रिएको छ । आफ्ना विश्वासपात्र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा षड्यन्त्रपूर्ण तरिकाले अमेरिकाले घुसाएको एमसीसी योजना केपी वली र प्रदीप ज्ञवालीका हातबाट संसद्बाटै पारित गराउने तयारी भइरहेको समयमा नेपाली जनमत भने आफ्नो देशको रक्षा, साम्राज्यवादी अमेरिकी धम्की र आक्रमणका विरुद्ध बलिदान दिने इरानी सुरक्षा बलका कमान्डर सुलेमानी बन्ने कि आफ्नो व्यक्तिगत र गुटगत स्वार्थमा स्वतन्त्र राष्ट्र सिक्किमलाई भारतमा विलय गराएर मुख्यमन्त्री बन्दै भुस्याहा कुकुरको जस्तो बदनाम र गुमानम मृत्यु मर्ने काजी लेन्डुप दोर्जे बन्ने भन्ने विषयमा बहसमा छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अभिव्यक्तिपछि त्यसका विरुद्ध देशभक्त धारा अझै क्रियाशील बनेको छ । जनमत राष्ट्रियताका पक्षमा एकोहोरिएपछि बाध्य भएर सरकारी नेकपाभित्र पनि यसले भुइँचालो ल्यायो । पार्टी फुटाएरै भए पनि शेरबहादुर देउवासँग मिलेर राष्ट्रघाती महाकाली सन्धि गरेका केपी वलीले यतिबेला एमसीसी पारित गराउन फेरि अर्को बल्छी थापेका छन्– झलनाथ खनालको संयोजकत्वमा एमसीसी पारित गराएरै छोड्ने दाबी गरिरहेका प्रदीप ज्ञवालीसहितको छानबिन समिति बनाएर । वार्षिक अर्बौं रुपैयाँ प्राप्त हुन्छ भनेर पार्टीलाई गुमराहमा राख्दै महाकाली सन्धि गर्ने वलीले फेरि असमान, राष्ट्रियताविरोधी र बदनाम सर्तसहितको ५५ अर्बको लोभमा संसद्बाटै एमसीसी पारित गराउने नयाँ प्रपञ्च अपनाएका छन् । देशभक्त नेपालीले निरन्तर चनाखो भएर दबाब दिइरहनुपर्छ ।

नेपालको राष्ट्रियता रक्षाको कुरा उठ्दा एकातिर बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा, भीमसेन थापाहरूको नाउँ निरन्तर आइरहन्छ भने यसका विरुद्ध राष्ट्रघाती सुगौली सन्धि गर्ने दरबारिया पात्र चन्द्रशेखर पाध्या (दाहाल) को नाउँ आउँछ । राष्ट्रियताविरुद्ध काम गर्दै भारतलाई स्वतन्त्र देश सिक्किम सुम्पिने नकारात्मक पात्र काजी लेन्डुप दोर्जेको नाउँ पनि सबैको मुखमुमै राष्ट्रघाती बिम्बका रूपमा झुन्डिरहने गरेको छ । यतिबेला अमेरिकी साम्राज्यवादको घातक सुरक्षा योजनाको एमसीसी पारित गर्नु प्रकारान्तरले लेन्डुप वा चन्द्रशेखर बन्नु हो भने यसको दृढतापूर्वक प्रतिरोध गर्नु प्रकारान्तरले ‘सुलेमानी’ बन्नु हो । देशभक्त नेपाली जनताले लेन्डुपपथ वा चन्द्रशेखरपथ नभएर प्रतिरोध वा विद्रोहको सुलेमानीपथ रोज्ने पक्का छ ।

अमेरिका उसको आर्थिक प्रतिस्पर्धी तथा उदीयमान अर्थतन्त्र चीनलाई घेर्न विभिन्न बहानामा एसियामा घुस्ने दाउमा छ । देउवा र वलीजस्ता कमजोर पात्रहरू सत्तामा रहेको समयमा आफ्नो षड्यन्त्रपूर्ण योजना पारित गराउने र त्यसैमा टेकेर नेपालमा सियो बनेर पसी मुसल बनेर निस्किने उसको षड्यन्त्र अब देशभक्त नेपालीले नबुझ्ने कुरै भएन । यसकै लागि अमेरिकाले इन्डो प्यासिफिक स्ट्याटेजीको जाल फिँजाएको छ र एमसीसी नामको आर्थिक अनुदानको चिप्लो गोलीभित्र याङ्कीहरू लिएर भित्रिने बहाना खोजिरहेको छ । इराकी संसद्ले आफ्नो मुलुकबाट अमेरिकी सैनिक फिर्ता पठाउने निर्णय गर्दा पनि इराकमा आफ्नो धेरै लगानी भइसकेकाले इराकबाट अमेरिकी सेना फिर्ता जाँदैन भनेर अड्डी लिइरहेको सबैका सामु छर्लङ्ग छ । त्यसैले नेपाल अहिले कुनै पनि साम्राज्यवादी शक्तिसँग घोषित/अघोषित रूपमा रणनीतिक साझेदारीमा लाग्नु राष्ट्रका लागि हितकर हुन सक्दैन । नेपालको भूराजनीतिक अवस्था, लामो समयदेखि अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीति र साम्राज्यवादी युद्ध एवम् सैन्य गठबन्धनका विरुद्ध नेपाली जनताको राजनीतिक चेतना र कुनै पनि साम्राज्यवादी मुलुकसँग गरिने सैन्य रणनीतिक साझेदारीमा संलग्न हुन उचित नहुने जनताको अडानका कारण अमेरिकी योजनाको इन्डो प्यासिफिक रणनीतिका विरुद्ध जनताले नेकपाद्वारा सञ्चालित प्रतिरोध सङ्घर्षमा लामबद्ध हुनु आवश्यक छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :