तस्करी नरोकिए जनकारबाही गर्ने नेकपाको चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी झापाले मेचीनगरको ज्यामिरगढी, काँकडभिट्टा, नकलबन्दा, बाहुनडाँगी, तिरिङलगायतको नाकाहरूबाट हुने तस्करी तत्काल बन्द गर्न चेतावनी दिएको छ । नेकपाले अन्यथा तस्करहरूमाथि जनकारबाही गर्ने चेतावनी पनि दिएको छ ।

जिल्ला सेक्रेटरी श्रीजङ्गले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला देशको अर्थतन्त्र दलालहरूको पञ्जामा कैद भएको छ । यसको असर आमनेपाली जनसमुदायले भोगिरहनुपरेको छ । देश र जनताको अधिकारका निम्ति लडिरहेको हाम्रो पार्टीलाई सरकारले प्रतिबन्ध लागाएर देशैभर दलाल, भ्रष्ट र तस्करहरूलाई जनप्रतिनिधिका रूपमा खडा गरेर वैधानिक रूपमा देशलाई लुटिरहेको छ । हाम्रो पार्टी प्रतिबन्धको बेवास्ता गर्दै जनताको घरदैलोमा गएर निरन्तर दलाल, भ्रष्ट, तस्कर, भूमाफिया, कमिसनखोरहरूको भन्डाफोर गर्दै आमजनसमुदायलाई एकीकृत जनक्रान्तिमा गोलबद्ध गर्दै अघि बढिरहेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा नेपालको पूर्वी नाकाका रूपमा चिनिने झापाको मेचीनगर नगरपालिकाबाट भ्रष्ट जनप्रतिनिधि र प्रहरीको सेटिङमा नेपालबाट भारततर्फ दिनहुुँ पशु चौपायासँगै सुख्खा सुपारी, छोगडा, हरियो मटर, सुकुमेल, चाइनिज नास्पाती, फोरेनगुड्सजस्ता सरसामानहरू ठूलो परिमाणमा तस्करी गरिरहेको व्यापक जनगुनासोले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण गराएको छ । दुईतिहाइ बहुमत प्राप्त केपी र पीकेमण्डली सरकार जनतालाई ढाड सेक्ने गरी कर लगाउने र तस्कर, दलालहरूलाई छूट दिने अनि जनआवाजलाई दबाउन बुट बजार्ने काममा व्यस्त रहेको छ । यस्तोखाले गतिविधिले सरकार जनताको नभएर दलाल, भ्रष्ट र तस्करहरूको रहेको कुरा स्पष्ट छ । यस्ता घिनौला हर्कतहरू जनताका सामु छताछुल्ल भएर एकपछि अर्को गर्दै आइरहेको छ । यस्ता गलत रबैयाका विरुद्ध आमजनसमुदाय सडक सङ्घर्षमा उत्रिनुको विकल्प छैन ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘मेचीनगरको ज्यामिरगढी, काँकडभिट्टा, नकलबन्दा, बाहुनडाँगी, तिरिङलगायतको नाकाहरूबाट हुने तस्करी तत्काल बन्द गर्न यसै विज्ञप्तिमार्फत सूचित गरिन्छ । अन्यथा हाम्रो पार्टी देश र जनताका पक्षमा रहेर तस्करहरूमाथि जनकारबाही गर्न बाध्य हुनेछ । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार केपी, पीके र बादल कम्पनी रहने यसै विज्ञप्तिद्वारा अवगत गराइन्छ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :