हृदयको मझेरीमा सहिद परिवारसँग

संस्मरण

‘कसैको मुखबाट ‘छोरी !’ शब्द सुन्दा मेरो मन जागेर आउँछ र मलाई कसैले ‘छोरी’ भनेको सुन्न मन लाग्छ । मम्मी बाबाको तस्बिर हेर्छु चित्त बुझ्दैन, वास्तविक बाबाआमा कस्ता हुन्छन् थाहा छैन । मन दुखेर रोएको बेला मम्मी बाबाको अभाव महसुस गर्छु ।’

अस्मिताले भक्कानिँदै पीरको पेटारो फुकाइन् । उनको द्रवित अनुहार हेरिरहेछु म घोरिएर र देखिरहेछु उनको आँसुको तलाउमा सहिदका सजीव चित्र । थाम्नै नसकिने गरी उर्लिएको छ मनभित्र पीरको बाढी । उनको पीरभित्र निःसृत विद्रोह देखिरहेछु म । देख्छु हृदयबाट निस्किएको ज्वालामुखीजस्तै तातो आभा । छैन कतै निराशाको बादल ।

बादल फाटेको छ आकाशमा । पानी परेको छैन । गर्मी हर्लक्क बढेको छ । मकै धानजुँगा भएको छ । उत्तरतिर डाँडाकाँडा देखिन्छ । सहिद परिवारलाई के सोधम्ला ? मनभरि प्रश्नहरू लिएर बिहानै सालझन्डी आइपुगेको छु म । भित्ताभरि लहरै टाँसिएको छ पाँचजना सहिदका फोटो । सहिदको नाम लेखिएको छ फोटोमुनि । फोटो प्लास्टिकले छोपिएको छ । धुलोले नछोपोस् भनेर होला ।

वर्ष दिनमा सहिद तथा बेपत्ता परिवारको कार्यक्रम हुन्छ । उनीहरू आफ्ना प्रियजनको यादमा दुःख बिसाउँछन् । उनीहरूका ती दुखेसाहरू घडीको सुईजस्तै नयाँ वर्ष उसैगरी दोहोरिन्छन् । अर्थात् सामूहिक भेटघाट र स्मरण गर्ने दिन पनि सहिद सप्ताह । केही सहयात्रीहरू सिसमहलमा त पुगेका छन् । सहिदका करङलाई साटेका छन् कुर्सीसित । तर सहिद परिवार सहाराविहीन छन् । बेपत्ताहरू बेपत्तै छन् अझै ।

सानै उमेरमा अस्मिताले आमाबाबा गुमाइन् । उनको परिवारले जनयुद्वमा पाँचजना सदस्यलाई गुमायो । उनीहरू थिए– सुमित्रा घिमिरे, माधव घिमिरे, नारायण घिमिरे, कमल भुजेल र तीर्थ भुजेल । एउटै परिवारको यति धेरै बलिदानले हृदयलाई साँच्चिकै उद्वेलित, तरङ्गित र भावुक बनाउँछ सबैलाई । वर्गसङ्घर्षमा यसरी नै धेरैले परिवार गुमाए । शरीरका अङ्गहरू गुमाए । जीवन गुमाए । देशका लागि धेरै धेरै चीज गुमाए ।
अँ, म प्रश्नहरूले घेरिएँ ।
‘तपाईंहरू के सोचिरहनुभएको छ ?’
‘के सहिदका सपनाहरू पूरा होलान् ?’
‘तपाईंहरूले पनि धोका दिनुहुन्न भन्ने के ग्यारेन्टी छ ?’

अस्मिताको हृदयबाट प्रश्नको मूल फुट्यो । कसरी भन्नु ? दोधारमा परेँ म । के भन्नु के नभन्नुको बीचमा बल्झेर लडम्लाजस्तो भयो । योभन्दा अक्करको भीर अरू के हुन्छ जिन्दगीमा ? मैले उनलाई प्रस्ट्याउने कोसिस गरेँ । उनले गुनासो गरिन्, ‘गद्दारहरूले सहिद तथा बेपत्ता परिवारको आँसुलाई डलरसित साटिदिए ।’ मैले अनुमान लाएँ, कति आजित रहेछन् सहिद परिवार क्रान्तिमा भएको धोका र गद्दारीप्रति ।

म सहिदहरूलाई सम्झिरहेछु अर्थात् सहिदलाई सम्झिनेबित्तिकै तिनको सपना सम्झिन्छु र उनीहरूको करङको भर्याङ बनाएर सत्तामा पुगेकाहरूको अनुहार सम्झन्छु । मन भरङ्ग हुन्छ । युद्धमोर्चामा दिदी ढल्दा भिनाजुको लामबन्दी, भाइ ढल्दा दाजुको लामबन्दी, बहिनी ढल्दा ज्वाइँको लामबन्दी, अर्थात् दुस्मनको गोलीले छाती छेडेर रगतको पिचकारी छुट्दा भयभीत हुनुपर्ने मान्छेको जीवन तर त्यसो भएन । मृत्युमा झन् लामबन्दी भए– एउटै पङ्क्तिमा उभिएर । दुःख–कष्ट र भयलाई जितेर मृत्युञ्जयी चेतनाले यी पाँचजना योद्वाहरूले अमरत्व प्राप्त गरे । धेरैले गरे । ती सहिदहरूमध्ये सुमित्रा घिमिरे र कमल भुजेलकी छोरी थिइन् अस्मिता । उनका अभिभावकले देश र जनताका लागि दिएको बलिदान दूरगामी थियो । अर्थात् उनीहरू जति बाँचे, अनन्त बाँचे । उनीहरू मरेर पनि युग–युग बाँचिरहनेछन् । रगतको इतिहास मनमस्तिष्कहरूमा कहिल्यै नमर्ने गरी बाँचेका छन् ।

घिमिरे परिवार अर्घाखाँचीबाट बसाइँ सरेर रूपन्देहीको सालझण्डीमा आएको थियो । उनीहरू सर्वहारा वर्गको मुक्तिको बाटो पत्ता लगाए र वर्गसङ्घर्षमा सामेल भए । गोपनीयता भङ्ग नगरेको आरोपमा जल्लादहरूले सुमित्रा घिमिरेलाई २०५८ पुस २९ र कमल भुजेललाई २०५९ वैशाख ६ गते निर्ममतापूर्वक हत्या गरेका थिए ।

‘मम्मी बाबाको सम्झना हुन्छ र एक्लै बसेर कुनामा रुने गर्छु म । मम्मी बाबाको याद झन् बढी आउँछ । सोच्छु, उहाँहरू हुनुभएको भए…?’

कस्तो पीडादायी प्रश्न ! कति मर्म छ यसमा ? जसले आफ्ना आमाबाबालाई कहिल्यै देख्न पाएनन्, न्यानो माया कहिल्यै महसुस गर्न पाएनन् । हो, हामी रगतमै टेकेर यहाँसम्म आइपुगेका हौँ । फर्केर हेर्यौँ भने रगतपच्छे छ इतिहास । तर गद्दारहरूले भट्टीमा बेचेर खाए त्यो इतिहास । सपना मृत्युको घोषणा गरे । हामी सपना मृत्युको घोषणाविरुद्ध लडिरहेछौँ । लडिरहनेछौँ ।

महान् जनयुद्धमा धेरै सन्ततिहरूले आफूलाई बलिदानको यज्ञमा आहुत गराए । उनीहरू क्रान्ति वसन्तका सौन्दर्य थिए । वर्गमुक्तिको आदर्श स्पन्दन सुसेले । ती महान् योद्धाहरूको रगत खेर जानेछैन । एउटा मोर्चा हार्दैमा लडाइँ हारेको मानिन्न । रगतसित जोडिएको सपना, यसका लागि अन्तिम लडाइँ लड्न बाँकी नै छ ।

अस्मिताले भनिन्– ‘मम्मी र बाबाको सपना पूरा नभएको देखेर अत्यन्तै दुःख लाग्छ तर उहाँहरूको रगत खेर कसैगरी जान हुन्न ।’ उनको यो भनाइ अत्यन्तै मार्मिक र महत्वपूर्ण छ । यी कोलाजहरू अस्मिताका मात्र होइन, हज्जारौँ सहिद–बेपत्ता सन्तानका हुन् । ती महान् सहिदहरूका उदात्त सपनाहरू पूरा हुनेछन् । सहादतको मूल्यबोध मृत्युञ्जयी रहनेछ ।

बिदाबारी भएर निस्कँदा म निकै रन्थनिएको छु आज । मेरो शरीरमा छेस्कोसम्म केही बिज्या छैन । तर पीडाले मनमुटु दुखिरहेछ असाध्यै । सबैभन्दा दुखिरहेछ अस्मिताका आँखाबाट बगेको द्रवित हृदय । बाटोभरि यसैगरी लर्बराए पाइला र मनभरि सोचेँ– कहिले पूरा होलान् सहिदका सपना ? मन गह्रुङ्गो भएको छ, असाध्यै गहु्रङ्गो । अर्थात् सहिदहरूको सपना पूरा गर्ने दायित्वबोधले थिचिएको छ मन ।

अस्मिताहरू खोजिरहेछन् हराएका सपनाहरू र सोधिरहेछन्– खोइ हाम्रा मुटुका टुक्रा ? खोइ हाम्रा उज्याला सपनाहरू ?

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :