एमसीसी सम्झौता गराई नेपाललाई फसाउने अमेरिकी षड्यन्त्रको प्रतिरोध गर्न नेकपाको आह्वान


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ र नेपाल सरकारबीच भएको भनिएको सम्झौता हिउँदे अधिवेशनबाट पारित गराउने केपी वली सरकारको तयारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पार्टी प्रवक्ता प्रकाण्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकाले उक्त सम्झौतामा नेपाललाई फसाउने षड्यन्त्र गरिरहेको भन्दै त्यसको प्रतिरोध गर्न सबैलाई आह्वान पनि गरेका छन् ।

विज्ञप्तिमा प्रकाण्डले भनेका छन्, ‘अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच भएको भनिएको सम्झौता हिउँदे अधिवेशनबाट पारित गराउने केपी वली सरकारको तयारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले उत्तरसाम्राज्यवाद र एकाधिकार पुँजीवाद भयङ्कर आर्थिक, वैचारिक र राजनीतिक सङ्कटबाट गुज्रिरहेको भन्दै त्यो सङ्कट व्यापारयुद्ध र सैन्य युद्धका रूपमा अभिव्यक्त भएको बताएका छन् ।

प्रवक्ता प्रकाण्डले अमेरिकाले नेपाललाई मोटो रकमको गुलियो विषमार्फत फसाउन एमसीसी सम्झौतामा फसाउने षड्यन्त्र राजनीतिक र सामरिक दुवै दृष्टिले नेपालका निम्ति खतरनाक भएकाले सदन र सडक सबैतिरबाट सम्झौताका विरुद्ध सबै राजनीतिक पार्टी, लोकतान्त्रिक शक्तिहरू, बुद्धिजीवी, नागरिक समाज, देशभक्त र क्रान्तिकारी शक्तिहरूसमक्ष अपिल पनि गरेका छन् ।

विज्ञप्तिको अन्त्यमा प्रकाण्डले नेपालमा सैन्य अखडा कायम गराउन ढोका खोलिदिने राष्ट्रघाती, देशद्रोही दलाल प्रवृत्तिका विरुद्ध आआफ्नो स्थानबाट प्रभावकारी प्रतिरोध गर्नसमेत सबैसँग अपिल गरेका छन् । विज्ञप्तिकाे पूर्णपाठ… 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :