भेडेटार–रवि–राँके सडक अलपत्र

काठमाडौँ : तीन वर्षमा निर्माणकार्य सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको भेडेटार–रवि–राँके सडक १ वर्ष समयावधि सकिँदा ६ प्रतिशत मात्र काम भएको छ । सम्झौताअनुसार १ वर्षमा ठेकेदार कम्पनीले २० प्रतिशत काम सकेको हुनुपथ्र्यो । ठेकेदारले पर्याप्त उपकरण र मजदुर खटाएको छैन । पहिलो चरणको ६ महिना त ठेकेदारका काका नाता पर्ने एकजना व्यक्ति उत्तरप्रदेशबाट चुनावमा उठेको भन्दै ठेकेदार चुनाव प्रसारमा लागेकाले निर्माणकार्य सुरु नै भएको थिएन । ठेकेदारले स्थानीय साना उपकरण मात्र प्रयोग गरेको र आफ्ना ठूला उपकरण नल्याएकाले बीचैमा भाग्न सक्ने आशङ्का स्थानीयको छ ।

भारत लखनउमा केन्द्रीय कार्यालय रहेको ‘एप्को इन्फ्रान्ट प्रा.लि.’ ले कमिसनमा उक्त ठेक्का बिक्री गर्न ग्राहक खोजिरहेको सरकार निकट एकजना निर्माण व्यवसायी बताउँछन् । रवि–राँके, रवि–बुधबारे र बुधबारे–भेडेटार तीन खण्डमा विभाजन गरेर काम सुरु गरेको उक्त सडकले धनकुटा, मोरङ, पाँचथर र इलामका पहाडी भूभागलाई पूर्व–पश्चिम जोड्नेछ । सडकको लम्बाइ १ सय किमि रहेको छ । यो सडकले कोसीमार्ग र मेचीमार्गलाई जोड्नेछ । यो मार्ग बनेमा पूर्वपश्चिम राजमार्ग प्रयोग नगरी काठमाडौँबाट इलाम हुँदै दार्जिलिङ पुग्न सकिनेछ ।

ठेकेदारको लापरबाहीबारे स्थानीयले गुनासो गरिरहेको बेला गत भदौमा ठेकेदारको फिल्ड कार्यालयमा तोडफोड र आगजनी भएको थियो । उक्त आक्रमणको जिम्मा भने कसैले लिएको छिैन । कामको प्रगति मूल्याङ्कन हेर्दा भारतीय उक्त निर्माण कम्पनीले बदमासी गरेको सर्वसाधारणको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :