सरकारको खेदजनक कार्य

संस्कृत भाषामा एउटा भनाइ छ, ‘विनाशकाले विपरीत बुद्धि ।’ विनाश र सर्वनाश हुने समयमा उल्टो बुद्धि पलाउँछ रे । यति बेला केपी वली सरकारले न्यायपूर्ण आवाज उठाउने जनतामाथि निर्मम दमन गरेर आफ्नो उल्टो बुद्धि देखाइरहेको छ । आफू पनि राष्ट्रियताको रक्षा गर्न नसक्ने र रक्षाको माग राखेर सडकमा उत्रिएका देशभक्तहरूमाथि पनि दमन गर्ने कार्य एउटा देशभक्त वा राष्ट्रवादी सरकारले गर्न सक्तैन । नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत स्थान कब्जा गरेको भारतीय साम्राज्यवादी हस्तक्षेपविरुद्ध सडक सङ्घर्षमा उत्रिएका देशभक्त र क्रान्तिकारीहरूलाई दमन गरेर वली सरकारले आफूलाई दमनकारी मात्र होइन, राष्ट्रघाती नै साबित गरेको छ । उसले आफूलाई भारतीय साम्राज्यवादको हितविरुद्ध जानेछैन भन्ने प्रमाणित गरेर देखाउने धृष्टता गरेको छ । सर्वोच्च अदालतले राष्ट्रियता रक्षाको माग गर्दै सडकमा उत्रिएका जनतालाई हस्तक्षेप र दमन नगर भनी दिएको आदेशलाई पनि वली सरकारले लत्याएको छ । जनभावनाविपरीत वली सरकार देशभक्तहरूमाथि दमन र धरपकडमा उत्रिएको छ । यो भत्र्सनायोग्य कदम हो ।

यतिबेला सिङ्गो जनसमुदाय नेपालको राष्ट्रियता, राष्ट्रिय अस्मिता र सार्वभौमसत्ताको रक्षाको माग गर्दै सडक सङ्घर्षमा छ । मुलुकका देशभक्त, स्रष्टाहरू कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो, भारतीय सेना कालापानी छोड्लगायत भावका सिर्जना लिएर सडकमा कविता र गीत गाइरहेका छन् तर केपी वली सरकारलाई कविले सडकमा गाउने गीत र कवितादेखि पनि डर लागेको छ । चोरको खुट्टा काट् भन्दा सबैभन्दा पहिले चोरले खुट्टा झिकेझैँ नेपालको राष्ट्रियता रक्षाको माग गर्दै सडकमा निस्किएका स्रष्टा, संस्कृतिकर्मी र कवि–साहित्यकारमाथि दमन गरेर वली सरकारले आफ्नु आयु खिइँदै र सकिँदै गएको सङ्केत गरेको छ । नेकपाले राष्ट्रियता रक्षाका लागि दोस्रो चरणको सडक सङ्घर्ष घोषणा गर्दा नेपालका देशभक्त, राष्ट्रवादी र क्रान्तिकारी माक्र्सवादी स्रष्टाहरू नेपालको राष्ट्रियता रक्षाका लागि विप्लव नेतृत्वको एउटै पार्टी मात्र भए पनि आन्दोलनमा छ भनेर खुसी भएका थिए । सङ्घर्षकै कार्यक्रमअनुसार २६ गते बिहीबार स्रष्टाहरू राष्ट्रियताको चेतले ओतप्रोत कविता र गीत लिएर कार्यक्रमस्थलमा पुगे तर स्रष्टाहरूको हातमा कविता देखेर अत्तालिएको वली सरकारले कविभन्दा पहिले नै प्रहरी तैनाथ गरिसकेको थियो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घको संयोजनमा संवाद डबलीमा आयोजित कार्यक्रममा सबै देशभक्त कविहरू थिए तर प्रहरीले हाम्रो सूचीमा रहेका नेकपाका नेता र साहित्यकार– संस्कृतिकर्मीहरूलाई समात्छौँ भन्दै हस्तक्षेप गर्यो । केही स्रष्टाहरू गिरफ्तार भए । केही स्रष्टाले घेरा तोडे । झन्डै २० जनाको हाराहारीमा रहेका स्रष्टाहरूले आफ्नो देशको माटो र सार्वभौमसत्ताको रक्षाका पक्षमा, वली सरकारको राष्ट्रघातको विरोध गर्दै कविता वाचन गरे । प्रहरीदमन विफल पार्दै घेरा तोड्न सफल केही स्रष्टाले लक्ष्मीप्रसाद देवकोटाको घर प्राङ्गणमा पुगेर कविता वाचन गरे र देशभक्तहरूलाई राष्ट्रियताको आन्दोलनमा लामबद्ध हुन आह्वान गरे ।

एकातिर जनता राष्ट्रियता रक्षाको माग गर्दै आवाज घन्काइरहेका छन् । अर्कातिर देशविदेशमा रहेका नेपाली नागरिक भारतीय साम्राज्यवादी दूतावासहरूअघिल्तिर प्रदर्शन गरिरहेका छन् । नेपालबाटै भारतीय दूतावासमार्फत भारत सरकारलाई नेपाली भूमि फिर्ता गर्न मागसहित ज्ञापनपत्र बुझाइएको छ । क्रमशः भारतीय साम्राज्यवादले नेपाली भूमि अतिक्रमण गरेको विषय अन्तर्राष्ट्रियकरण बनिरहेको छ तर वली सरकार भने राष्ट्रियताको रक्षाको माग गर्ने, नेपाली भूमिबाट साम्राज्यवादी सेना फिर्ताको माग गर्ने, नेपालको सार्वभौमसत्ता रक्षाको माग गर्ने देशभक्त नेपालीहरूलाई गिरफ्तार गर्ने, दमन गर्ने, हिरासतमा कोचेर झूट्टा मुद्दा लगाउने निन्दनीय कार्य गरिरहेको छ । यो राष्ट्रघाती कदम खेदजनक छ । हामी यसप्रकारको दमनकारी नीति र राष्ट्रघाती कदमको तीव्र निन्दा र भत्र्सना गर्दछौँ ।

नेपालको राजनीतिक इतिहासमा संस्कृतिकर्मी–स्रष्टाहरूको विशेष योगदान छ । राष्ट्र, जनता र राष्ट्रियतामाथि सत्ताले चरम थिचोमिचो गरेपछि उनीहरू आआफ्ना सिर्जना लिएर सडकमै उत्रिने गरेका छन् । २००७ सालअघिका मकेको खेती भनौँ वा जनतन्त्र कविता, २०३६ सालको सडक विता आन्दोलन होस् वा २०४६ सालको आन्दोलनमा होस्, स्रष्टा र संस्कृतिकर्मीहरू सडकमा उत्रिएपछि सत्ता डगमगाएको थियो । जनयुद्ध अवधिभर त स्रष्टाहरूले विचार र सिर्जनाबाट मात्र नभएर सशरीर युद्धमा लामबद्ध हुनुपर्ने अवस्था आयो र झन्डै दुई सय स्रष्टा–संस्कृतिकर्मीले बलिदानको बाटो नै रोजे । २०६२–०६३ को सडक आन्दोलनमा पनि स्रष्टाहरूले विभिन्न आर्कमा जमेर सिर्जना वाचन गरे । जनमत तयार पारे । स्रष्टाहरूको सिर्जनामा विचारका साथै कला, भावना र संवेग हुन्छ । जनतालाई छिट्टै प्रभावित पार्छ । स्रष्टाहरू सडकमा उत्रिनु भनेको एक हिसाबले सत्ता र सरकारको दिनगन्ती सुरु हुनु हो भन्ने सङ्केत विगत आन्दोलनहरूमा स्रष्टाले सडकमा सिर्जना वाचन गरेपछि आन्दोलनले एउटा मोड लिएका घटनाहरूबाट प्रमाणित हुन्छ । २०६३ सालमा षड्यन्त्रपूर्वक आन्दोलन सम्झौतामा टुङ्ग्याइएपछि पनि स्रष्टाहरु जनगणतन्त्र र राष्ट्रियताका लागि सिर्जनाअभियान लिएर सडकसडकमा उत्रिए । सहिदहरु जन्माउने बस्तीसम्म पुगे र उक्त षड्यन्त्रको भन्डाफोर गर्दै जनक्रान्तिको वातावरण तयार पारे ।

यतिबेला स्रष्टाहरू फेरि सडकमा उत्रिएका छन् । स्रष्टाहरूले ‘हामीलाई जागिर देऊ, जहान–छोराछोरीलाई लुगा हालिदेऊ र आफ्ना बालबच्चा स्कुल कलेजमा निःशुल्क पढाइदेऊ’ भन्ने माग राखेका छैनन्, थिएनन् । देशको रक्षा गर । राष्ट्रियता जोगाऊ । आफ्नो मुलुकबाट साम्राज्यवादी सेना हटाऊ भन्ने सन्देश दिन एकत्रित भएका स्रष्टाहरूलाई विप्लव पार्टीका नेता र कार्यकर्ता देख्ने, प्रहरी खटाएर आतङ्कित पार्ने, दमन गर्ने, गिरफ्तार गर्ने र आयोजकहरूलाईसमेत धम्क्याउने कार्य फासिवादी कार्य हो । यसको जति निन्दा गरे पनि कमै हुन्छ । त्यसैले सरकारले सोचोस्– देशभक्तहरुलाई जिस्क्याउँदाको परिणाम कति भयानक हुन्छ ! सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :