धरापमा पुरानो सत्ता

पुरानो संसद्वादी सत्ता उम्किनै नसक्ने गरी गम्भीर धरापमा पर्दै गएको छ । एकीकृत जनक्रान्तिको प्रतिरोध र दलाल सत्ताको क्षणभङ्गुरता दुवैको योग यो सत्ताको समाप्ति हो । यतिबेला यो सत्ताले त्यही अनिवार्य नियति बेहोरिरहेको छ जुन अनिवार्य र आवश्यक दुवै हो ।

शोषण, दमन, राष्ट्रघात र जनघातका कारण दैनिक जनताका दृष्टिमा बदनाम बन्दै गएको संसदीय सत्ताका सञ्चालकहरू अर्थात् सत्ताधारी संसद्वादी पार्टीका सञ्चालकहरू नै खुलेर सत्तामा गम्भीर सङ्कट परेको स्वीकार गर्न थालेका छन् । केही समयअघिसम्म अर्थात् एक थान संसद्वादी संविधान जारी गर्दा र त्यसयताका केही समयसम्म अकन्टक संसदीय व्यवस्था भन्दै कौलास्ने केपी वली, पुष्पकमल दाहाल र तिनका सेनामेनाहरू नै अब सत्ता गम्भीर सङ्कटमा पर्दै गएको स्वीकार्न बाध्य बनेका छन् । उनीहरुले यसको कारण अरुलाई दिए पनि यसको सत्य र यथार्थ भनेको पहिलो त यो सत्ताको क्षणभङ्गुरता वा छोटो आयु हो भने अर्को सत्य उदाउँदै गरेको वैज्ञानिक समाजवादी सत्ता हो । नेकपाले सञ्चालन गरेको एकीकृत जनक्रान्तिका कारण वैज्ञानिक समाजवादी सत्ताको भ्रूण अब देखिने गरी नै उदाउँदो छ ।

उसै त दलाल पुँजीवादी सत्ता सीमित दलालहरूको स्थार्थका लागि निर्मित र संरक्षित हुन्छ । यसमा मुठीभर शासकहरू र तिनका आसेपासेहरूभन्दा अरूको हित हुँदैन । व्यापार, व्यवसाय, लगानी, सरकारी ढुकुटीबाट हुने मुनाफा, विदेशी दानदातव्य र भिक, भ्रष्टाचार र लूट सबै तिनै सत्ता सञ्चालकहरू र तिनका वरिपरिका केही पात्रहरूका लागि मात्र पर्याप्त हुन्छ । सत्ता र सरकारमा सामेल नहुनेहरू उसै पनि दलाल पुँजीवादी सत्ताबाट अस्वीकार्य र विस्थापित हुन्छन् । त्यसमाथि पौराणिक कथाको ‘रामराज्य’ नै दिन्छु भनेर भोट असुलेका संसद्वादी राजनीतिक पार्टीहरूले देश र जनताका लागि एउटा माखोसमेत मार्न नसकेपछि र सुखसुविधधाजति सबै आफ्ना नाउँमा थुपारेर अभाव, महँगीजति सबै जनताका नाउँमा थोपरेपछि जनता उसै निरास, विरक्त र आक्रोशित भएर अर्को विकल्प खोज्न तम्सिइसकेकै थिए । संसद्वादका रक्षकहरूले सत्तासङ्कट अस्वीकार गरेर यसअघि निरास र आक्रोशित जनतालाई थामथुम पार्न अनेक नौटङ्कीहरू गर्दै आएका हुन् तर अब सरकारको मात्र होइन, दलाल सत्ताको आङमा लगाइएका सबै वस्त्रहरू नटालिने गरी थोत्रिइसकेका छन् । यो यथार्थको एउटा नकारात्मक पाटो हो भने अर्कातिर उदाउँदै गरेको वैज्ञानिक समाजवादी सत्ता सकारात्मक पाटो हो । दलाल पुँजीवादकै चिहानबाट वैज्ञानिक समाजवादी सत्ता जन्मिने कुरा कसैले अस्वीकार गर्न र टार्न सक्तैन ।

वर्तमान दलाल सत्ताका सञ्चालकहरूलाई धेरै भ्वाङहरू टाल्नु परेको थियो– एकातिर कम्युनिस्ट नाउँ भँजाउँदाको भ्वाङ, अर्कातिर नक्कली समाजवादको नाराको भ्वाङ अनि अर्कातिर शान्ति, सुख र समृद्धिको भ्वाङ । विकासको भ्वाङ त सधैँ ह्वाङ्गै देखिएकै कुरा भयो । यी सबै भ्वाङहरू अब टाल्नै नसकिने गरी खुलेपछि अब उनीहरू विगतका संसद्वादी पार्टी र सरकार हरूझैँ विभिन्न विषयमा गाँड कोराकोर गरेर समय व्यतित गरिरहेका छन् । कम्युनिस्ट पार्टीको झन्डाको दुरुपयोगको रहस्य अब आमजनसमुदायले नै बुझिसकेको कुरा भयो । केपी वली र पुष्पकमल दाहालहरूले दिने समाजवाद काङ्ग्रेसको भन्दा गएगुज्रेको दलाल र भ्रष्टाचारी भएको छ्याङ्ग भइसकेको छ । देशमा सधैँ अशान्ति छ । राष्ट्रघात, जनघात र महँगीले आकाश छोएको छ । यो नक्कली समाजवादी सरकारले जनतालाई दिएका उपहारहरु हुन् । यिनै उपहारका कारण जनता विद्रोहमा न्, विकल्पको खोजीमा छन् । यो दलाल सत्ताको भरपर्दो विकल्प नेकपा हो र उसले सञ्चालन गरेको एकीकृत जनक्रान्तिका माध्यमबाट उदाउने वैज्ञानिक समाजवादी सत्ता हो ।

पुरानो सत्ताका सञ्चालकहरूमा सत्ता उन्माद बढेको छ । दलाल सत्ताका शासकहरू जब सत्तामा हुन्छन् उनीहरूमा अनौठो किसिमको मात चढेको देखिन्छ । प्रायः शासकहरू सत्तामातले दृष्टिविहीन मात्र होइन, श्रवणशक्तिशून्य र निर्विवेकी पनि हुन्छन् । अल्पायुको प्रतिक्रियावादी सत्तामा बसेका केपी वलीहरू होऊन् वा पुष्पकमल दाहालहरू होऊन्, रामबहादुर थापाहरू होऊन् वा गोकुल बास्कोटाहरू नै होऊन्, उनीहरूका अभिव्यक्ति, कार्यशैली र जीवनपद्धतिलाई हेर्दा आममानिसमा भ्रम थियो, यिनीहरू अजम्मरी छन् । चौतर्फी असफलता, बदनामी र विघटनका कारण अब आजनसमुदायलाई पनि लाग्दै गएको छ, यो दलाल सत्ता भ्रम हो र वैज्ञानिक समाजवादी सत्ता सत्य र यथार्थ । विदेशी स्वार्थ र इशारामा सञ्चालित केही पुरना स्थापित सञ्चारमाध्यमहरूले समेत यो व्यवस्थाको विकल्पमा चलिरहेको बहसलाई महत्वपूर्ण स्थान दिन थालेका छन् । उनीहरूको चिन्ता यो सत्ता ढल्न लागेकोमा होइन, वैज्ञानिक समाजवादी सत्ता उदाउन लागेकोमा हो । यसको अर्थ स्पष्ट छ, यो दलाल सत्ता अब उठ्नै नसक्ने गरी ढल्दैछ र नयाँ सत्ता उदाउँदैछ । दुनियाँ यसको व्यग्र प्रतीक्षामा छ । सम्पादकीय

२०७६ असोज १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :