केपीको स्वविवेकले प्रतिबन्ध लगाएको होइन : नेता पुन

 

मेची : नेपाल कम्युनिस्ट पार्टीद्वारा मेचीमा सञ्चालित सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ को अन्तिम समीक्षा कार्यक्रम चैत ४ गते सम्पन्न भएको छ । मेची ब्युरो कार्यालय सदस्य तारा थापाको अध्यक्षता र पार्टीका पोलिटब्युरो सदस्य तथा अभियान टोली प्रमुख ओमप्रकाश पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अभियानमा क्रियाशील सबै अभियानकर्मीले आफ्नो अनुभूतिसहितको समीक्षात्मक रिपोर्ट राखेका थिए । मेचीका इलाम र पाँचथरमा सञ्चालन गरिएको अभियानले जनतामा राम्रो उत्साह ल्याएको, पार्टी सङ्गठनको विस्तार र राजनीतिक प्रचारप्रसार राम्रो भएको, पार्टीमा पूर्णकालीन कार्यकर्ताको सङ्ख्यामा वृद्धि भएको र पछिल्लो चरणमा केपी वलीको दलाल सामाजिक फासिवादी सरकारले गरेको दमन र पार्टीमाथि लगाएको कथित प्रतिबन्धले जनतामा झन् सरकारप्रति आक्रोश बढेको तथा पार्टी पङ्क्तिमा थप जुझारुपनको विकास भएको समीक्षा उक्त कार्यक्रममा गरिएको थियोे ।

समीक्षा बैठकमा पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले सबै अभियानकर्मीहरूलाई बधाई दिँदै अब पार्टीले अघि सारेको एकीकृत जनक्रान्ति जनतामा सर्वस्वीकार्य भैसकेकाले अब दृढताका साथ अघि बढ्न आह्वान गरे । उनले भने, ‘अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिवेश क्रान्तिअनुकूल छ । विश्वसाम्राज्यवादीहरू आपसी अन्तरविरोधमा फसेका छन् । विश्व तेस्रो विश्वयुद्धको परिवेशमा छ । देशभित्रका दलाल पुँजीवादीहरू पनि आपसी अन्तरविरोधमा फसेका छन् र सङ्कटग्रस्त हँुदै गएका छन् । उनीहरूले आफ्नो असफलतालाई गृहयुद्धमार्फत विषयान्तर गर्न खोज्दैछन् । सीके राउतजस्ता विखण्डनकारीलाई स्वागत गर्ने र अँगालो हाल्ने तर देशमा वैज्ञानिक समाजवादी क्रान्तिका लागि सङ्घर्षरत हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउनेजस्ता हर्कत केपी र प्रचण्डको आफ्नो स्वविवेकमा भन्दा पनि इन्डो अमेरिकी साम्राज्यवादी शक्तिको निर्देशनमा भएको हो । अहिले सीके र प्रतिबन्धको काण्डले दलाल सरकार झन् सङ्कटमा परेको छ । प्रतिबन्धको नाटक पानीको फोका फुटेझैँ कथित ३५ दिने अल्टिमेटम पनि हावामा उड्नेछ ।’

पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान ३ छिट्टै सुरु हुने भएकाले अब यसलाई निरन्तरता दिन पनि नेता पुनले कार्यकर्तालाई निर्देशन दिए । दलालहरूले लगाएको प्रतिबन्धको कडा जबाफ पार्टीले दिने र उनीहरूले घोषणा गरेको अन्यायपूर्ण युद्धको सामना दृढतापूर्वक गर्ने भएकाले सोही दिशामा अघि बढ्न पनि समीक्षामा सहभागी अभियानकर्मीलाई नेता पुनले निर्देशन दिए ।

२०७५ चैत ५ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :