रुकुमका अधिकांश गाउँ विप्लवमय


सल्यान :नेपाल कम्युनिस्ट पार्टीले पश्चिम रुकुममा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानलाई तीव्रता दिएको छ । अभियानकै क्रममा नेकपाले चौरजहारी नगरपालिका ७ नार्जी बजारमा जनसभा गरेको छ ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य चिरन पुन ‘मिलन’, भर्खरै पूर्वमाओवादी केन्द्र त्यागेर नेकपामा प्रवेश गरेका पूर्वब्रिगेड भीसी शिशिरलगायत नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेता मिलनले जनताको पार्टी नेकपा भएको बताए । उनले प्रचण्ड–बाबुरामले जनयुद्वलाई धोका दिए पनि आफूहरुले नदिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पूर्वब्रिगेड भीसी शिशिरले प्रचण्ड एमालेमा विलय भएर पुँजीवादमा रमाइरहेकाले त्यस पार्टीको अस्तित्व नभएको बताए । उनले हजारौँ जनतालाई लडाएर प्रचण्डले पुँजीवादी महलको आनन्द लिइरहेको पनि बताए । अबको विकल्प एकीकृत जनक्रान्ति नै रहेको उनको भनाइ थियो । विप्लवले नेतृत्व गरेको नेकपालाई साथ दिन उनले सबैलाई आग्रह गरेका थिए । कार्यक्रम नेकपा चौरजहारी नगर इन्चार्ज कपिलको अध्यक्षतामा भएको थियो ।

अभियानकै क्रममा नेकपाले पश्चिम रुकुममा आइतबार मात्र ९ वटा सङ्गठन निर्माण गरेको छ । सल्यान–रुकुम अभियान टोलीका नेता मिलनका अनुसार चौरजहारी नगरपालिका वडा नम्बर २ मा दिनेश सेक्रेटरी रहेको ७ सदस्यीय वडा समिति बनेको छ । यहाँ अनन्त प्रमुख रहेको ३ सदस्यीय जनपरिषद् (जनसत्ता) र निर्मल विक संयोजक रहेको ५ सदस्यीय युवा सङ्गठन वडा समिति गठन गरिएको छ । इन्द्रलाल गौतम संयोजक रहेको ३ सदस्यीय गाउँ एकाइ समिति गठन गरिएको नेकपाले जनाएको छ ।

नगरकै वडा नम्बर ३ मा कुले खत्री सेक्रेटरी रहेको ७ सदस्यीय पार्टी वडा समिति, सहदेव नेपाली प्रमुख रहेको ३ सदस्यीय जनपरिषद् (जनसत्ता), प्रदीप कार्की संयोजक रहेको ३ सदस्यीय युवाको स्यालखोला एकाइ समिति, धनबहादुर विक संयोजक रहेको ३ सदस्यीय किसान सङ्गठनको स्यालखोला एकाइ समिति र मानबहादुर विक संयोजक रहेको ३ सदस्यीय दलित स्यालखोला एकाइ समिति निर्माण गरिएको नेकपाले जनाएको छ ।

पश्चिम रुकुममा ४ वटा टिम विभाजन गरेर अभियानलाई तीव्रता दिइएको नेकपा रुकुमले जनाएको छ । अभियानमा केन्द्रीय सदस्य मिलन, केन्द्रीय सदस्य तथा रुकुम इन्चार्ज अटल, युवा सङ्गठनका अध्यक्ष पाटन, दैलेख जिल्ला इन्चार्ज विवेक, पश्चिम रुकुम सेक्रेटरी चन्द्र बुढा, जिल्ला जनपरिषद् प्रमुख चन्द्रबहादुर खड्कालगायतको सहभागिता छ ।

२०७५ फागुन ६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :