‘विचार वा आस्थाको आधारमा दमन गर्नु गम्भीर मानवअधिकारको उलङ्घन भएको छ’

 

बुटवल : नेपालमा मानवअधिकार तीव्र रुपमा उलङ्घन भइरहेकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । मानव अधिकारको संरक्षण राज्यले गर्नुपर्ने भन्दै विचार वा आस्थाको आधारमा दमन गर्नु गम्भीर मानवअधिकारको उलङ्घन भएको बताएका छन् । उनीहरुले न्यायालयको फैसला विपरित अदालतभित्रै हत्कडी लगाउनु स्वतन्त्र न्यायपालिकामाथि गम्भीर अपमान भएको समेत बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजनामा बुटवलमा भएको ‘मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तक्र्रियामा वक्ताहरुले उक्त कुरा बताएका हुन् ।

दिल

कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग बुटवलका प्रमुख पवन भट्टले न्यायालय कानुनको सर्वोच्च निकाय भएको भन्दै तर न्यायालयले गरेका निर्णय वा फैसला सरकारले कार्यान्वयन गर्न नसकेको बताए । उनले संविधानका धाराहरुमा मानवअधिकार तथा प्रेस स्वतन्त्रताका सम्बन्धी सुनौला अक्षरहरु भएपनि कार्यान्वयनमा समस्या देखिएको बताए । उनले पछिल्लो पटक देशमा मानवअधिकारका जघन्य घटनाहरु घटेको भन्दै यसको सिकार सबैभन्दा बढी महिला तथा बालबालिका रहेको बताए ।

वरिष्ठ लेखक एवं अधिवक्ता दिल साहनीले मान्छेलाई सवैभन्दा प्यारो चीज अभिव्यक्ति स्वतन्त्रता हुने भन्दै यसको ज्ञारेन्टी राज्यले गर्न नसकेको बताए ।
अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले देशमा चारैतिर असन्तुष्टि फैलिएको बताउँदै मानव अधिकार सबैभन्दा कमजोर भएको बताए ।
बार एशोसियसन प्रदेश नं. ५ का प्रमुख षडानन्द भण्डारीले गणतन्त्रमा सबैभन्दा धेरै मानवअधिकार हनन् हुनु गम्भीर रहेको बताए । न्यायालयले गरेको निर्णय सरकारले कार्यान्वयन नगर्नु गलत भएको बताए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले मानव अधिकार आम नागरिकको विषय भएको भन्दै यसको संरक्षण राज्यले गर्नुपर्ने बताए । उनले नेकपाले उठाएको मुद्दा आधारभूत जनताको दैनिक जीवनसँग सम्बन्धित रहेको बताए । राष्ट्रिय स्वाधीनताका लागी नागरिक मञ्चका अध्यक्ष पदम कार्कीले अभिव्यक्ति स्वतन्त्रता मानव जीवनको जन्मसिद्ध अधिकार भएको भन्दै राष्ट्रियता र स्वाभिमानको पक्षमा बोल्दा अपमानित हुनुपर्ने अवस्था आउनु दुखद भएको बताए ।

कार्यक्रममा नेकपाका रुपन्देही जिल्ला सचिवालय सदस्य नवीन, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, लेखक एवं पत्रकार सिद्विचरण भट्टराई, पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, प्रेस युनियनका रुपन्देही जिल्ला अध्यक्ष रेखा भुसाल, इन्सेक प्रतिनिधि रिमा बिसी, रोडाढुंगा व्यवसायी समितिका गोपाल ज्ञवाली लगायतले मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा मन्तव्य राखेका थिए । केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षता, महासचिव हिम विष्टको सञ्चालन र संगठनका रुपन्देही जिल्ला अध्यक्ष शिव डुम्रेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

२०७५ असाेज १३ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :