पूर्वी कमान्डमा अभियान उद्घाटनको रौनक

अम्बिका चन्द / काठमाडौं : नेकपा पूर्वी केन्द्रीय कमान्डअन्तर्गत धनुषाको धनुषाधाममा सोमबार जनसभा गरी एकीकृत जनजागरण अभियान उद्घाटन गरिएको छ । स्थानीयको व्यापक सहभागितामा सम्पन्न उक्त सभालाई नेकपाका केन्द्रीय सदस्य देवनारायण शाह, जिल्ला इन्चार्ज राजु कार्की, अमर, महेन्द्र मण्डललगायतले सम्बोधन गरेका छन् । यस्तै मोरङको रानी र बेलबारीका छ स्थानमा भित्तेलेखन गरिएको छ । केराबारीमा मशालजुलुससहित कोणसभा गरिएको छ ।

सभालाई मोरङ जनपरिषद् प्रमुख दीपक राईले सम्बोधन गरेका छन् । यस्तै सुनसरीको इटहरीचोकमा मशालजुलुससहित सभा र बसपार्क क्षेत्रमा भित्तेलेखन गरिएको छ । सभालाई नेकपाका जिल्लास्तरीय नेताहरू सन्तोष बिष्ट, सागर, वीरताले सम्बोधन गरेका छन् । यस्तै संखुवासभाको सदरमुकाम चैनपुरस्थित त्रिचोकमा मशालजुलुस निकालिएको छ । जुलुुसपछि सम्पन्न कोणसभालाई जिल्ला जनसरकार प्रमुख छिरिङले सम्बोधन गरेका छन् । त्यहाँ शान्तिपूर्ण रुपमा चलिरहेको सभामा प्रहरीले हस्तक्षेप गरी लाठीचार्जसमेत गरेको बताइएको छ । मेचीको झापामा पनि एक सभा सम्पन्न गरिएको छ । सभालाई नेकपाका केन्द्रीय सदस्य निर्मलले सम्बोधन गरेका छन् । यस्तै महोत्तरीको बेलगढी, सप्तरीको सिरुवारी र सिराहामा पनि मशालजुलुुुस निकाल्नुका साथै सभाहरू सम्पन्न भएको नेकपा पूर्वी कमान्ड कार्यालयले जनाएको छ । 

यसैबीच ढिलो गरी प्राप्त समाचारअनुसार आइतबार झापाको झापा बजारबाट नेकपाका दुईजना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेमा चमनलाल माझी र मौसम लिम्बु नेकपाका जिल्ला सदस्य भएको र उनीहरू दुवैजनालाई सदरमुकाम चन्द्रगढीमा राखिएको जनाइएको छ । पार्टी कामको सिलसिलामा रहेको बेला प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

२०७४ माघ १६ गते बिहान ९ : २९ म प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :