माओवादी केन्द्रमा समानुपातिकको किचलो

अम्बिका चन्द/काठमाडौं: समानुपातिकतर्फबाट नाम छनौट प्रक्रियाको विषयलाई लिएर माओवादी केन्द्रभित्र चुलिएको विवाद छताछुल्ल भएको । केन्द्रका नेताद्वय हितमान शाक्य र झक्कुप्रसाद सुवेदीमाथि काठमाडौं पेरिसडाँडामा रहेको कार्यालयमै हातपात भएको घटनासँगै आन्तरिक विवाद छताछुल्ल भएको हो ।

माओवादी केन्द्रभित्र रहेका इमानदार र पुराना नेता तथा कार्यकर्ताहरूले आफ्नो पार्टीमा सिनियर र योगदान गरेभन्दा नेताको चाकडी गर्ने र मोटो रकम बुझाउनेहरू समानुपातिकको सूचीमा परेको भन्दै व्यापक असन्तुष्टि पोखिरहेका छन् । उनीहरूको पार्टीमा योगदान गरेका, सहिद परिवार, घाइते अपाङ्गहरूलाई प्रामिकता नदिएर नेताको श्रीमती, छोराछोरीलाई नातागोताको व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिकतर्पmका उम्मेद्वार छनौट भएको बताएका छन् ।

माओवादी केन्द्रका ३ नं. प्रदेश इन्चार्ज रहेका हितमान शाक्य र संयोजक झक्कु सुवेदीमाथि आक्रमण गरेको भनी चर्चामा आएका सिन्धुपाल्चोकका पुराना नेता हिमलाला पराजुली ‘हिमाल’ ले समानुपातिकको सूचीमा आफ्नो नाम १ नम्बरमा हुँदाहुँदै पनि पार्टीका नेताहरूले दोलखाका आङडेण्डी लामासँगै २ करोड रुपैयाँ कमिसन लिएर प्रदेशमा सदस्य बनाएको बताएका छन् । साथै, पराजुलीले पार्टीमा योगदान नगरेका पसल थापेर बसेका, निस्क्रिय रहेका नेताका श्रीमती छोराछोरी बुहारी, इष्टमित्र, नातागोता र मोटो रकम बुझाउनेबाहेक कुनै अवसर नपाउनेसमेत बताएका छन् । पार्टीमा रहेर सक्रियतापूर्वक काम गर्ने क्रियाशील सहिद परिवारलाई पार्टीले अपमान गरेको पनि उनको ठहर छ ।

माओवादी केन्द्रले समानुपातिकतर्पmको कोटामा प्रदेश नं. ३ बाट नेता झक्कु सुवेदीकी छोरी भावना सुवेदीलाई प्रदेशसभा सदस्यमा छनौट गरेको छ । यस्तै, नेताहरू महे्श्वर दाहालकी श्रीमती सीता अधिकारी, दिलिप प्रजापतिकी श्रीमती प्रतिमा श्रेष्ठ पनि समानुपातिकको सूचीमा परेका छन् । यस्तै, प्रचण्डका नजिकका मानिने पूर्व विद्यार्थी नेता रामदीप आचार्यकी श्रीमती कृष्णा शाह र माओवादी नेता एवं पूर्व सभासद् नरबहादुर बिष्टकी श्रीमती पुष्पा घर्ती पनि समानुपातिकको सूचीमा छन् । यस्तै, रुकुममा माओवादी नेता जनार्दन शर्माकी बुहारी विमला केसी शर्मा पनि समानुपातिकमा परेकी छिन् ।

यसरी समानुपातिकको सूचीमा आफन्त र मोटो रकम बुझाउनेहरू प्राथमिकतामा परेपछि माओवादी केन्द्रका विभिन्न तहका नेता कार्यकर्ताहरू निरास हुँदै असन्तुष्टि पोखिरहेका छन् । स्रोत: रातो खबर साप्ताहिक, वर्ष ३, अङ्क २९, पूर्णाङ्क १२४

२०७४ पुस २१ अपरान्ह ४ः४९ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :