फौजीसँग विवाह गरेकी चेलीको पीडा

उर्मिला बास्तोला

म सानैदेखि माओवादी जनयुद्धप्रति आकर्षित थिएँ । तर पूर्णकालीन कार्यकर्ता भएर हिंडेकी थिइन । बुबाले पनि घरमै बसेर समर्थन मात्र गर्नुहुन्थ्यो । हाम्रो गाउँमा जनयुद्धप्रति समर्थन गर्नेहरू धेरै थिए । देशमा संकटकाल लागेपछि बुबालाई खोज्न प्रहरीहरू घरमा आउन थाले । त्यसपछि बुबा गाउँमा यताउता बस्न थाल्नुभयो । घरमा बस्न छोड्नुभएको थियो । बुबा छत्रप्रसाद थपलिया भन्दा पहिले म गिरफ्तार भएर छुटें । खैरहनी ११, कठारमा हाम्रो घर थियो । २०६० वैशाख ९ गते पुरानो गोरखागण कसरा अन्तर्गत भण्डारा व्यारेकले मलाई गिरफ्तार गरेको थियो । यातना कति दिए म व्यक्त गर्न गर्ने शब्द र साहस नै गर्दिन ।

एक दिन अकस्मात म रिहाँ भएँ । बुबा लगत्तै पक्राउ पर्नुभयो । बुबालाई फस्ट राइफल्स गण, भरतपुरले समातेर भण्डारा ब्यारेकमा पठाएको रहेछ । म पटक–पटक भण्डारा ब्यारेक जान्थेँ । तेरो बाउ छैन, थाहा छैन भन्थे । रुँदै फर्केर आउँथे । त्यो क्रम धेरै दिन चल्यो । बुबालाई कुमरोज गाउँबाट समातेका थिए । एकदिन एकजना सैनिक जवानले ‘गोडाको माइली औंला नभएको, पातलो बुढो मान्छे छ । तिम्रो बुबा हो ? भन्यो । मैले हो भनें । त्यसपछि उसले ‘यहाँ कुरा गर्न मिल्दैन, मलाई बाहिर कतै भेट’ भन्यो ।

एकदिन मैले ब्यारेक टाढा अलि परको बजारमा उसलाई भेटें । उसले ‘तिमी यसरी नबस, तिमीलाई मार्छन् । हामी विवाह गरौं” भन्यो । बुबा जिबितै भएको खबर पाएर खुशी थिएँ । अप्रत्यासित प्रस्ताव सुनें । त्यसपछि मैले ‘म माओवादीकी छोरी, मलाई पार्टीले सेनासँग लागि भन्छ । तपाईलाई पनि ब्यारेकबाट दबाब होला । दुवैलाई राम्रो हुँदैन’ भनेँ । त्यसपछि उसले घरको ठेगाना लियो ।

उसले मेरो घरमा गएर आमासँग विवाहको प्रस्ताव राखेछ । उसले ‘गरीब छु, तर पाल्छु, सिन्दुरको रक्षा गर्छु’ भनेछ । उसले मसँग विवाह गर्न चाहेको कुरा आशिष बस्नेत नामको लप्टनसँग पनि कुरा गरिसकेको रहेछ । लप्टन बस्नेत समझ्दार रहेछन् । काका, मामा, आमा सबैसँग सल्लाह भएपछि म पनि विवाहको लागि तयार भएँ । कता–कता डर लागिरहेको थियो । २०६२ असार २६ गते सामान्य ढंगले सैनिक जवान रुद्रप्रसाद बास्तोलासँग मेरो विवाह भयो ।

म श्रीमानलाई भेट्न भण्डारा गइरहन्थे । एकपटक मात्र बुबालाई भेट्न पाएँ । मलाई माओवादी आइमाई भन्दै हेला होचों गर्थे । मसँग विवाह गरेको भनेर श्रीमानप्रति पनि ब्यारेकमा छेडखान, हेलाँ हुन थालेछ । भाई ओमकृष्णसहित एकपटक हामीले बुबालाई भेटेको कारण मार्दैन कि भन्ने लाग्थ्यो । बुबा गिरफ्तार भएपछि मेरो पार्टीमा सम्पर्क थिएन । घरमा पनि कोही आउन्नथे । पछि लामो समयपछि बुबाको रिहाई भयो ।

विवाह भएपछि मेरो निगरानी हुन थालेछ । त्यो कुरा श्रीमानले पनि थाहा पाउनुभएको रहेछ । ‘मलाई भेट्न ब्यारेक नआउ’ भनेपछि छोड्ने हुन् कि भन्ने त्रास एकातिर दुःख देलान् कि भन्ने त्रास अर्कोतिर भयो । उहाँले मलाई काठमाडौं पठाउनुभयो । म कोठा लिएर माइती पनि नगई लुकेर बसें । विवाह भन्दा अगाडि नै असुरक्षाका कारण उहाँकै सल्लाहमा काठमाडौं गएर बसेकी थिएँ । ठूलो बुबा र आमाले ‘विवाह गर’ भन्नुभएको थियो ।

हाम्रो विवाह भइसकेको थियो । गणपति सन्तोष ढकालले ‘माओवादी केटीसँग विवाह गर्ने, त्यसलाई छोड् नत्र तँलाई पनि मार्छु भनेछन् । त्यत्रो दबाब आउँदा पनि मलाई उहाँले छोड्न मान्नु भएन । त्यसपछि श्रीमानलाई हतियार हराएको नक्कली काण्ड रचेर आरोपित गरिएछ । हाम्रो विवाहको सूचना सुन्नासथ गणपति ढकालले श्रीमानलाई पेस्तोल ताकेका थिए ।

मेरो श्रीमानलाई सेनामा जागिर लगाउने दयालु अधिकृत जितेन्द्रजंग कार्की हुनुहुन्थ्यो । कार्की सरले भण्डारा ब्यारेकमा तत्कालीन मेजर माधव खड्कासँग भनेर श्रीमानलाई स्वयम्भुस्थित बारुदखानामा सरुवा गरिदिनुभयो । काठमाडौं सरुवा भएपछि तनाव धेरै कम भयो तर त्यहाँ पनि हामीप्रति निगरानी, कुरा काट्ने क्रम हुँदै थियो । श्रीमान सेनाको जागिरमा म कोठा लिएर बसेकी थिएँ ।

हाम्रो विवाह भएको दुई वर्षमै शान्ति प्रक्रिया सुरु भयो । गत वर्ष कार्यालयमा पारिवारीक आवास खुल्यो । हामीलाई त्यसबाट वञ्चित गराउने खेल चलिरह्यो । कार्यालयकी एकजना महिला कर्मचारीले मलाई धम्क्याउँथी । कारण थाहा थिएन । धेरैपछि थाहा भयो, एकजना अधिकृत (अफिसर) सँग उसको हिमचिम रहेछ । उसको जे कुरा पनि छानविन, सोच–विचार नगरी ती हामिकले सुन्दा रहेछन् । उसले मेरो नाममा नक्कली फेसबुक चलाएकी रहिछ । मलाई हाकिमले स्पष्टिकरण लिए । २०७४ साउन २९ गते स्पष्टिकरण मागे । मैले सबै छलफलको ‘भ्वाइस रेकर्ड’ राखेकी थिएँ । हाकिम, त्यो महिलाले मलाई हकार–पकार गरेको पनि मसँग रेकर्ड थियो । हाकिमले रेकर्ड किन गरेको भनेका थिए । मैले “तपाईले भन्न हुने, मैले सुनाउन किन नहुने ? तपाईहरूको बीचमा गलत सम्बन्ध हो र सुनाउन नहुने ?” भनिदिएँ । त्यसपछि हाकिम मलाई पिट्न आए । मैले हाकिमले हामीलाई सम्झाउने, रेखदेख गर्ने कि केटीको कुरा सुनेर अभद्र व्यवहार गर्ने ? यो पदको गरिमा त्यही हो ? भनेँ । म राजनीतिक पृष्ठभूमिबाट त्यत्रो पीडा र खतरा झेलेर आएकी थिएँ । मैले गल्ती पनि गरेकी थिइनँ । त्यसैले डराउनुपर्ने कारण पनि छैन ।

मेरो अहिले ११ वर्षकी छोरी र ५ वर्षको छोरो छ । श्रीमान श्रीमतीका बीचमा अहिले पनि राम्रो छ । जनयुद्धका बेला दबाब र प्रलोभन झेलेर पनि हामी साथसाथ रहन सक्यौं । अहिले पनि खराब मान्छेहरू मलाई माओवादीकी छोरी भनेर हेप्न खोजेका छन् । मैले त यस्ता पीडा धेरै झेलेकी छु । मैले सबै कुरा बोल्न प¥यो भने हाकिम साहेबकै बदनामी हुनेछ ।
(कुराकानीमा आधारित)  स्रोत : रातो खबर साप्ताहिक , मंसिर २०

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :