बुटवलमा गुन्जिए परिवर्तनका स्वरहरू

mmmबुटवलः पौष २१, बुटवलमा स्रष्टाहरूले आफ्नो कविताका माध्यमबाट परिवर्तनका आवाज गुन्जाएका छन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको आयोजनामा आयोजित ‘सिर्जनामा परिवर्तनका स्वरहरू’ कार्यक्रममा स्रष्टाहरूले आफ्ना सिर्जनात्मक आवाज गुन्जाएका हुन् ।

उक्त कार्यक्रममा दिल साहनी, रामचन्द्र भट्टराई, अजम्बरध्वज खाती, चतुर्भुज आत्रेय, शिवशङ्कर बस्याल, गिरी श्रीसमगर, कविराज पौडेल, देवेन्द्र घिमिरे, ताराप्रसाद श्रेष्ठ, शिव पौडेल, निशान पटेल, लीला राना, प्रेम विक, जयन्ती थापा, विकास केसी, ज्ञानु केसी, प्रकाशसिंह राना, गंगाराम कहाँर र गणेश खनालले कवितावाचन गर्नुभएको थियो । त्यस अवसरमा सङ्गठनका तत्कालीन अध्यक्ष महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ का अमर कविताहरू पनि वाचन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज वीरजङ्गले राष्ट्रिय स्वाधीनता गम्भीर सङ्कटमा परेको बेला लेखक तथा साहित्यकारहरू जुर्मुराउँदै राष्ट्रिय स्वाधीनताका पक्षमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमा अतिथिहरू वरिष्ठ माक्र्सवादी चिन्तक दिल साहनी, प्रगतिवादी कवि रामचन्द्र भट्टराई तथा प्रलेस रूपन्देही शाखाका अध्यक्ष देवेन्द्र घिमिरेले सङ्क्षिप्त रूपमा विचारोत्तेजक मन्तव्य राखेका थिए । कार्यक्रमा रक्तरञ्जित सांस्कृतिक परिवारले विभिन्न क्रान्तिकारी गीत र नृत्य प्रस्तुत गरेको थियो ।

सयौँ जनसमुदायको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाले गर्नुभएको थियो भने सञ्चालन अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो प्रमुख खोमा तरामुमगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :