देशब्यापी प्रहरी दमन तीव्र/ अस्पतालको शैयाबाटै नेता लिम्बु गिरफ्तार

अम्बिका चन्द/काठमाडौं : मोटरसाईकल दुर्घटनामा परी अस्पतालमा उपचार गराइरहेका नेकपाका केन्द्रीय सदस्य सन्तकुमार लिम्बु ‘सुमन’ लाई प्रहरीले गिरफ्तार गरेको छ । लिम्बुलाई बिहिबार बेलुका मोरङ विराटनगरस्थित न्यूरो अस्पतालको शैयाबाटै गिरफ्तार गरिएकोे हो । नेकपाका मेची ब्युरो इन्चार्जसमेत रहेका लिम्बु कात्तिक १६ गते झापाबाट ताप्लेजुङ सदरमुकाम फुङ्लिङ जाँदै गर्दा पाँचथरको सिंगापुरमा दुर्घटनामा परेका थिए । अस्पताल स्रोतका अनुसार लिम्बुको टाउकोमा गम्भीर चोट लागेको छ र हालै शल्यक्रियासमेत भएको छ । यसरी नेकपाका नेता कार्यकर्ताहरुलाई पक्राउ गर्नु पर्ने कुनै कारण नभएपनि माथीको आदेश भएकोले पक्राउ गर्नुपरेको मोरङका प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीले बताएका छन् ।

यसैबिच नेकपा निकट दलित मुक्तिमोर्चाका केन्द्रीय सचिव जीतेन्द्र मोहरा ‘महावीर’, बुद्धिजीवी सङ्गठनका केन्द्रीय उपाध्यक्ष रामेश्वर थापा ‘विक्रम’, केन्द्रीय जलस्रोत विभागका सदस्य रामप्रसाद राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । नेकपाका जिल्ला सदस्यहरु रोशन ढकाल र लक्ष्मण कार्कीलाई पनि बिहिबार सुनसरीबाट पक्राउ गरेको छ । यसैगरी विहिबार रसुवाका सचिव चेरोङ तामाङ, घादिङ जिल्ला सदस्य मोहन घले र समर्थक रामदोङ तामाङलाई पक्राउ गरिएको छ । उता पाँचथरबाट नेकपाका कार्यकर्ता यलिया लिम्बु र सममर्थक डिल्ली बुढाथोकीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यसैबिच बुधबार रोल्पामा पनि नेकपाका जिल्ला इन्चार्ज र सेक्रेटरीलाई प्रहरीले गिरफ्तार गरेको छ । लामो समयदेखि अस्वस्थ रहेका जिल्ला इन्चार्ज दलबहादुर खत्रीलाई उपचारको लागि अस्पताल जाँदै गर्दा लिवाङबाट र सेक्रेटरी सन्तोष सुवेदीलाई सातदोबाटोबाट सादा पोशाकमा रहेका प्रहरीले पक्राउ गरेका हुन् । चुनावी अभियानमा दलबलसहित रोल्पा पुगेका माओवादी केन्द्रका नेता बर्षमान पुन र कुलप्रसाद केसीले आफ्ना कार्यकर्ताहरुलाई गिरफ्तार गर्न लगाएको नेकपा रोल्पाको भनाई छ । गिरफ्तारपछि एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा ‘सुवास’ ले प्रशासनलाई हिटलरी शैली बन्द गर्न आग्रह गरेका छन् । बुधबार नै रुकुम सदरमुकाम खलङ्गाबाट नेकपाका जिल्ला सदस्यहरु मोतिराम खड्का र दिपक विष्टलाई पनि गिरफ्तार गरिएको छ । पार्टीकामको सिलसिलामा बाटोमा हिँडिरहेकोबेला बिनाकारण आफना कार्यकर्ता गिरफ्तार गरिएको नेकपाका केन्द्रीय सदस्य बलबहादुर ओली ‘शितल’ ले बताएका छन् ।

२०७४ कात्तिक २४ बिहान ७ः३९ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :