क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनले मनायो सहिद सप्ताह

क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनले मनायो सहिद सप्ताह

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले सहिद सप्ताहको दोस्रो दिन माडी नगरपालिका वसन्तपुर चोकमा कोणसभा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य ध्रुवले सहिदको सालिकमा माल्यार्पण गरेर कार्यक्रम सुरु गरेका थिए ।

प्रमुख अतिथि ध्रुवले आज भएको परिवर्तन सहिदको रगतका कारण सम्भव भएको बताए । सहिदहरूले देखाएको सपना पूरा नभएकाले निर्णायक क्रान्ति लड्नुपर्ने उनको भनाइ थियो । माडीका सातजनालगायत देशभरबाट हजारौँ योद्धाको बलिदान आमूल परिवर्तनका लागि भएको पनि ध्रुवले बताए ।

जनताका छोराछोरीले बलिदान गरेर स्थापना गरेको लोकतान्त्रिक गणतन्त्रमा पनि जनताले आवश्यकताअनुसारको अधिकार प्राप्त गर्न नसकेको र सहिदहरूको सपना पूरा नभएकाले सहिद परिवार, आमश्रमजीवी जनता यो व्यवस्थाप्रति असन्तुष्ट रहेको नेता ध्रुवले बताए । जनयुद्धको नेतृत्व गरेका प्रचण्ड आफ्नो बाटो, सिद्धान्त छोडेर संसदीय व्यवस्थामा गएकाले उनी श्रमिक सर्वहारा वर्गका नेता नरहेको पनि उनले प्रस्ट पारे । उनले भने, ‘प्रचण्ड आन्दोलनलाई छोडेर आज सामन्त, फटाहा र दलालहरूको पक्षमा गई दलाल सत्ताको रक्षाका लागि जनतामाथि दमन गरिरहेका छन् ।’ उनले यो सत्ता दलालहरूको रहेको पनि बताए ।

मिटरब्याजीहरू, लघुवित्तहरू, भूमाफियाहरू, दृष्टिबन्धक भूमाफियाहरूले जनतालाई निकै सताएकाले भ्रष्टाचार, शोषण, दमनका विरुद्ध निरन्तर सशक्त सङ्घर्ष गर्नुपर्ने नेता ध्रुवले बताए ।

उनले भने, ‘सहिद र जनयुद्धको एउटा साइनो छ । ती बन्दुक आज हामीसँग छैनन् । सहिदका सपना पूरा भएका छैनन् । सहिद परिवार विचलित हुनुपर्ने अवस्था छ । जनयुद्धमा रगत बगाउनेहरूलाई प्रतिक्रियावादी शक्तिहरूले आतङ्ककारी र हत्याराको संज्ञा दिएका छन् । त्यसका विरुद्ध निरन्तर प्रतिरोध गरेर क्रान्तिलाई विजयसम्म पुर्याउने अभिभारा हामीमाथि छ ।’

यो सत्ता रवि, सोविता वा दुर्गाहरूले ल्याएको नभएर नेपाली जनताले दस वर्षसम्म जनयुद्ध लडेर ल्याएको तर पनि लोकतान्त्रिक गणतन्त्र जनताको पक्षमा नभई दलालहरूको पक्षमा रहेकाले यसका विरुद्ध सशक्त विद्रोह अघि बढाई निर्णायक बनाउनुपर्ने उनले बताए ।

देशमा वडादेखि नगरपालिका, प्रदेश, केन्द्रीय सत्ता सबैतिर भ्रष्टाचार रहेको र जनताले भ्रष्ट व्यवस्था ल्याउन रगत नबगाएको प्रस्ट पार्दै नेता ध्रुवले धने, ‘हामीले कल्पना गरेको यो व्यवस्था होइन । नेपाली जनताले गाँस, बास, स्वास्थ्य, शिक्षासहितको शासन खोजेका हुन् । त्यो प्राप्त नहुन्जेल, सहिदको सपना पूरा नहोउन्जेल हाम्रो पार्टी निरन्तर सहिदहरूले देखाएको बाटोमा लाग्नेछ ।’

अहिले हल्ला चलाइएको समाजवादी मोर्चाको कुनै एजेन्डा नभएको, नेपाली जनताका पक्षमा नभएको, यही संसदीय व्यवस्थालाई मलजल गर्न र यही संसदीय व्यवस्थाका पक्षमा लड्नका लागि विप्लव, प्रचण्डलगायतले सञ्चालन गरेका पार्टीहरूले समाजवादी मोर्चा गठन गरेको ध्रुवले बताए । समाजवादी मोर्चाका नामबाट जनतालाई फेरि ठग्न थालिएकाले त्यसका विरुद्ध पनि झन्डा उठाउनुपर्ने बेला आएको प्रमुख अतिथि ध्रुवको भनाइ थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टीले नयाँ जनवादी क्रान्ति पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्ति पूरा गर्ने विश्वास उनले दिलाए । जनयुद्धमा माडीबाट तिलक खाती ‘बिहानी’, वासु पौडेल ‘प्रवीण’, केशव पौडेल ‘विदुर’, निलकण्ठ सुवेदी ‘सुवास’, निरज उप्रेती र हेमराज रानाभाट ‘हिक्मत’ को बलिदान भएको थियो ।

कार्यक्रममा महाधिवेशन आयोजक समिति सदस्य तथा चितवन जिल्ला संयोजक घननाथ सापकोटा ‘विकास’ ले उत्पीडित जनताको मुक्तिका लागि माओवादी नेतृत्वमा २०५२ साल फागुन १ गते महान् जनयुद्धको सुरुआत भएलगत्तै फागुन १४ गते तत्कालीन सरकारले दिलबहादुर रम्तेलको हत्या गरेको दिन र २०२८ साल फागुन २१ गते झापा विद्रोहका योद्धाहरू रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नेत्र घिमिरेलगायतलाई पञ्चायती सत्ताले सुखानीमा पुर्याएर हत्या गरेको दिनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले सहिद सप्ताहका रूपमा मनाएको स्मरण गराए । आजका उपलब्धि तिनै सहिदहरूको बलिदानका कारण भएको कसैले भुल्नु नहुने पनि उनको भनाइ थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला सहसंयोजक दुर्गा, केन्द्रीय सदस्य सूचना तथा प्रकाशन विभागका सदस्य आशिष चौधरीलगायत अतिथिका रूपमा सहभागी थिए । त्यसैगरी पार्टी सल्लाहकार बाधुराम परियार, दिवाकर न्यौपाने अतिथिका रूपमा उपस्थित रहेको कार्यक्रमको सञ्चालन पार्टी प्रदेश सदस्य तथा माडी इन्चार्ज सीपी सेढाईंले गरेका थिए । कार्यक्रममा जिल्लाका पार्टी नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :