सम्पादकहरुसँग क्रान्तिकारी कम्युनिस्ट पार्टीको अन्तरक्रिया

सम्पादकहरुसँग क्रान्तिकारी कम्युनिस्ट पार्टीको अन्तरक्रिया

काठमाडौं : अमेरिकाको एमसीसी सम्झौताको कार्यान्वयन, चुच्चे नक्सा, भारतीय अतिक्रमण, चीनको बिआरआई, नेपाल सरकारको असन्तुलित कुटनीति, युक्रेन युद्धमा अमेरिकाको पक्षधरता, नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, सुन तस्करी काण्ड, एउटा कान्डलाई ढाकछोप गर्न अर्को कान्ड घटाउने सरकारी रवैया, संक्रमणकालीन न्यायको विषय, जनजीविकाका तमाम विषयहरु, सत्ता, सरकार र संविधानको प्रश्न, देशको औद्योगीकरणको सवाल, विकसित धार्मिक अतिवाद, जातीय साम्प्रदायिकता भड्काउन खोजिएका घटनाक्रम लगायतका समसामयिक विषयमा मिडियाका सम्पादकहरुको सुझाव तथा धारणा लिने र प्राप्त सुझावका आधारमा पार्टीका आगामी संघर्षका कार्यक्रम तय गर्ने उद्देश्यले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मंगलबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना ग¥यो ।

कार्यक्रममा मूलधारका मिडिया– छापा, इलेक्ट्रोनिक र अनलाइन मिडियाका सम्पादकहरु सहभागी उक्त कार्यक्रममा सम्पादकहरूले तथा पत्रकारहरूले  सुझाव सहितका धारणा राखेका थिए। पत्रकारहरुले राखेका धारणाहरुको बारेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ कार्यालय सदस्य सिपी गजुरेल गौरवले महत्वपूर्ण संश्लेषण गरे । नेता गजुरेलले भने, “आजको यो अन्तरक्रियाबाट के थाहा पाइयो भने देशमा रहेका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई हेर्ने विषयमा हाम्रो पार्टी र अधिकांश मिडिया र पत्रकारहरुको समान छन् । देशमा विद्यमान आम समस्याको मूल जड कारण ०७२ सालको संविधान नै भएको संश्लेषण नेता गजुरेलको थियो । पत्रकार कोइरालालगायतका दर्जन बढी पत्रकारहरुले राखेको धारणाको सार खिच्दै नेता गजुरेलले, “यो संविधानमै समस्या भएका कारण अहिलेको भयावह स्थिति पैदा भएको हो । अब यो संविधानलाई फालेर जनगणतन्त्रमा आधारित जनपक्षीय संविधानको निर्माण गर्नुपर्छ । दशवर्षको जनयुद्ध लोकतान्त्रिक गणतन्त्रका निम्ति होइन, जनगणतन्त्रका निम्ति गरिएको थियो ।”

कार्यक्रममा केही पत्रकारहरुले क्रान्तिकारी कम्युनिस्ट पार्टीले उठाएका एजेण्डाहरु सही भए पनि शक्ति कमजोर रहेकोले पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्यासँग सम्बन्धित आन्दोलन प्रभावकारी नभएको, जनताको साथ समर्थन नदेखिएको भन्दै अन्य पार्टीसँग मिलेर जान सुझाव दिएका थिए । जवाफमा नेता गजुरेलले पार्टी ठूलो सानो, शक्तिशाली वा कमजोरभन्दा पनि विचार र राजनीतिक कार्यक्रम वा एजेण्डा सही छन् वा छैन भन्ने कुरा मुख्य हुने भन्दै सही र सत्य छ भने एक्लै भए पनि उभिन सक्नुपर्ने र एक दिन सही विचार र राजनीति नै श्रेष्ठ साबित भएरै छाड्ने विचार व्यक्त गरे ।पृथ्वी गोलो छ भन्दा वैज्ञानिक कपर्निकसलाई फासीको सजाय दिएको तर पछि उनैको विचार र निष्कर्ष दुनियाँमा सत्य साबित भएको प्रशंगको बारेमा चर्चा गर्दै देश र जनताका हितसँग जोडिएका एजेण्डाहरुलाई छाडेर सत्ता र शक्तिको पछि दौडिनुलाई अवसरवादको संज्ञा दिए । कार्यक्रममा पत्रकारहरुकै कतिपय प्रश्नहरुको जवाफ दिंदै प्रवक्ता कञ्चनले धर्म मानिसको व्यक्तिगत मामिला भएकोले धर्मलाई सामाजिक र राजनीतिक विषय बनाइन नहुने विचार व्यक्त गरे । नेता कञ्चनले भारतीय विस्तारवादी शासकहरुको सिको गर्दै मुुलुकमा धार्मिक अतिवादले टाउको उठाउन थालेको चर्चा गर्दै यस्तो प्रवृत्तिलाई बेलैमा नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा पत्रकारहरुका अधिकांश सुझाव तथा आलोचनालाई सकारात्मक रुपमा लिदै प्रवक्ता कञ्चनले कार्यक्रममा सहभागी पत्रकारहरुलाई धन्यवाद ज्ञापन गरेका गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :