कृष्ण सेन ‘इच्छुक’ का योगदानहरू सम्झिँदै कविता र आख्यानमा मधेस विमर्श

कृष्ण सेन ‘इच्छुक’ का योगदानहरू सम्झिँदै कविता र आख्यानमा मधेस विमर्श

लाहान (सिराहा) : सांस्कतिक सहिद कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसको पूर्वसन्ध्यामा इच्छुक सांस्कृतिक प्रतिष्ठानले मधेस केन्द्रित दुुई साहित्यिक विषयमा विमर्श गरेको छ । प्रतिष्ठानले सिराहाको लाहानमा यही वैशाख २३ गते ‘नेपाली साहित्यमा मधेस’ विषयमा विमर्शका साथै कविगोष्ठी र अन्तरक्रिया सम्पन्न गरेको हो ।

विमर्श कार्यक्रममा इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका प्राडा ताराकान्त पाण्डेयले ‘नेपाली कवितामा मधेस’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमाथि प्राडा राजेन्द्रप्रसाद विमलले टिप्पणी गरेका थिए ।

त्यसैगरी माक्र्सवादी अध्येता रोशन जनकपुरीले ‘नेपाली कथा साहित्यमा मधेस’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रगतिवादी सांस्कृतिक चिन्तक निनु चापागाईंले त्यसमा टिप्पणी गरेका थिए ।
पाण्डेयले कार्यपत्र प्रस्तुत गर्दै मधेसमा व्याप्त अभावग्रस्त जनजीवन, शोषण, दमन, वर्गीय एवम् जातीय उत्पीडन, महिलाहरूले भोग्नुपरेको चरम लैङ्गिक उत्पीडन, बोक्सीका नाउँमा दिइएका यातना र मलमूत्र ख्वाइएका घटना अझै राम्ररी उजागर हुनुपर्ने बताए । इच्छुकलगायत कयौँ कविले कविता साहित्यको माध्यमबाट मधेसी जनजीवन र समस्याको चित्रण गरेको स्मरण गराउँदै डा. पाण्डेयले मधेसकेन्द्रित कविताहरूमा वर्गीय समस्या, केन्द्रीकृत राज्यप्रणालीबाट मधेसले बेहोरेको विभेद, लैङ्गिक, जातीय उत्पीडन, प्राकृतिक प्रकोपहरूको विरोधको स्वर आएको र सबै किसिमका उत्पीडनका विरुद्ध मधेसमा प्रयोग हुने सबै भाषामा यसप्रकारका कविता लेखिनुपर्ने बताए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्राडा राजेन्द्र विमलले पीडाको कुनै जात, भूूगोल लिङ्ग नहुने र वर्गसङ्घर्षले नै सबै विभेदको अन्त्य गर्ने भएकाले त्यसैलाई केन्द्रमा रोखर सिर्जना गर्न सुुझाव दिए । शासक वर्गप्रति कटाक्ष गर्दै उनले शासकहरूले राष्ट्रियता भुलेर दलाली गर्दै देशलाई बरबाद पारिरहेकाले यी विषय सिर्जनामा समेटिनुपर्ने सुझाव दिए ।

‘नेपाली कथा साहित्यमा मधेस : सङ्क्षिप्त अवलोकन’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अध्येता रोशन जनकपुरीले मानवीय जीवनका जटिलताहरूका बारेमा मधेसकेन्द्रित कथा साहित्य लेखिएको भन्दै प्रतिरोध नै आधुनिक कथाका मूल स्रोतहरू रहेकाले मधेसको जनजीवनमा कथा सिर्जना गर्ने मधेसी र गैरमधेसी स्रष्टाहरूले मधेसको जीवन र मनोविज्ञान छुन सक्नुपर्ने बताए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै निनु चापागाईंले मधेसले शाहकालदेखि नै उपनिवेशको उत्पीडन खपिरहेकाले मधेसले भोगिरहेका वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक उत्पीडनका कथा र व्यथाहरू कथामा अझ खारिएर आउनुपर्ने बताए ।


प्रतिष्ठानका कार्यसमिति सदस्य एवम् अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्राडा जगदीशचन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रष्ठिानका सदस्यसचिव मित्रलाल पंज्ञानीले गरेका थिए । कम्युनिस्ट नेता कृष्णदेव सिंहले आगन्तुकहरूलाई स्वागत गरेका थिए ।

कार्यक्रममा आयोजित कविगोष्ठी र अन्तरक्रियामा शिला योगी, अशोक सुवेदी, विश्वनाथ महतो, उमेश आचार्य, छायादत्त न्यौपाने, अर्जुनप्रसाद गुप्ता, बोधकुमार घिमिरे, गोपाल मरहट्टा, मोदनाथ मरहट्टा, पुरुषोत्तम आचार्य, जीवछ उदासी, चतुुर्भुज केवरत, राममणि पोखरेल, पुण्य कार्की, लालबिहारी यादव, राजेश विद्रोहीलगायतले भाग लिएका थिए । स्रष्टाहरूले कविता, गीत र धारणासमेत प्रस्तुत गरेका थिए ।

नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्ध सञ्चालन भइरहेको समयमा २०५९ साल जेठ १३ गते तत्कालीन फासिवादी सत्ताले महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर जनपक्षीय साहित्यकार एवम् पत्रकार कृष्ण सेन ‘इच्छुक’ को नृशंस हत्या गरेको थियो । इच्छुकको सम्मान र स्मृतिमा स्थापित प्रतिष्ठानले देशभर विभिन्न सिर्जनात्मक र वैचारिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :