नेकपा (बहुमत) ले अनेकोटमा मनायो २५ औँ सांस्कृतिक प्रतिरोध दिवस

नेकपा (बहुमत) ले अनेकोटमा मनायो २५ औँ सांस्कृतिक प्रतिरोध दिवस

अनेकोट (काभ्रे) : नेकपा (बहुमत) ले २५ वर्षअघि सात जनसंस्कृतिकर्मीले सशस्त्र प्रहरीसँग निःशस्त्र प्रतिरोध गरेर बलिदान गरेको दिन र घछनाको सम्मानमा बलिदानस्थल अनेकोटमै पुगेर प्रतिरोध दिवस मनाएको छ ।
नेकपा (बहुमत) काभ्रेको आयोजनामा अनेकोटमा आइतबार बिहान आयोजित सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा पार्टीका नेता–कार्यकर्ता, सर्वसाधारण जनसमुदायले सहिदको सालिकमा माल्यार्पण र अबिरार्पण गरी महान् सहिदहरूले देखाएको प्रतिरोध र बलिदानको बाटोमा हिँड्ने प्रतिबद्धता व्यक्त गर्दै वैज्ञानिक समाजवादी क्रान्तिबाट वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र सहिदका सपना पूरा हुने धारणा व्यक्त गरे ।
पार्टी जिल्ला संयोजक कृष्ण सेवाको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा (बहुमत) का केन्द्रीय कार्यालय सदस्य बाबुराम गजमेर, सचिवालय सदस्य श्यामबहादुर बोहोरा, पार्टीको केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरो संयोजक अशोक सुवेदी, पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू अग्रीम, सुन्तली तामाङ, माधव गौतम, शम्भु फुयाल, सहिद परिवार रीता घिमिरेका साथै काभ्रे जिल्लाका क्रान्तिकारी जनसमुदायको उल्लेख्य सहभागिता थियो । गजमेर, बोहोरालगायत वक्ताले सहिदका सपना पूरा गर्न निरन्तर क्रान्तिमा लामबद्ध भइरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अनेकोटमा बलिदान गर्ने सहिदको सालिकमा माल्र्यापण गरी आरम्भ भएको कार्यक्रमका सहभागीले दलाल पुँजीवादी सत्ताका विरुद्ध र वैज्ञानिक समाजवादका पक्षमा लामो समयसम्म नारा लगाएका थिए ।
२०५५ साल चैत ५ गते काभ्रे अनेकोट दाहालगाउँमा सेल्टर लिएर बसेका च्याङ्बा लामा, निर्मला देवकोटा, सुभद्रा सापकोटा, चिनीमाया लामा, गुम्बसिंह लामा, डम्बर श्रेष्ठ र मञ्जु कँवरलाई सशस्त्र प्रहरी फौजले घरमा आगो लगाई गोली हानेर क्रूरतापूर्वक हत्या गरेको थियो । जनयुद्धरत नेकपा (माओवादी) ले चैत ५ गतेलाई सांस्कृतिक प्रतिरोध दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । माओवादीकै नाममा सत्ता र सरकारमा पुगेका संसद्वादी दलहरूले सहिदको बलिदानको दुरुपयोग गरे पनि नेकपा (बहुमत) लगायत क्रान्तिकारी मालेमावादीहरूले सहिदको बलिदानलाई क्रान्तिको ऊर्जाका रूपमा लिएर प्रतिरोध दिवस मनाउँदै आएका छन् । नेकपा (बहुमत) को भ्रातृ सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घले काठमाडौँ संवाद डबलीमा पार्टी संयोजक कञ्चनको प्रमुख आतिथ्यमा आइतबार नै प्रतिरोध दिवस मनाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :