नेकपा (बहुमत) का नेता रामचन्द्र बलामीप्रति हार्दिक श्रद्धाञ्जली !

नेकपा (बहुमत) का नेता रामचन्द्र बलामीप्रति हार्दिक श्रद्धाञ्जली !

काठमाडौँ / नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य रामचन्द्र बलामीको ६० वर्षको उमेरमा बिहीबार दुःखद् निधन भएको छ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले शोक वक्तव्य जारी गरी पार्टी नेता बलामीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र पार्टीपङ्क्तिप्रति समवेदना प्रकट गरेका छन् ।

२०१९ सालमा काठमाडौँ मनपा १६ टौदलमा जन्मिएका बलामी ४० वर्षभन्दा बढी कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए । उनी उच्च रक्तचाप, मधुमेहलगायत समस्या झेलिरहेका थिए । केही दिनअघि मस्तिष्कघातका कारण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएर उपचार गराइरहेका नेता बलामी अस्वस्थताकै कारण पोखरामा गत महिना सम्पन्न पार्टी चौथो पूर्ण बैठकमा सहभागी हुन सकेका थिएनन् । उपचारकै क्रममा निमोनियाबाट ग्रस्त भएका बलामीको अस्पतालमै निधन भएको हो ।

पशुपति आर्यघाटमा बलामीको सम्मानमा आयोजित श्रद्धाञ्जलीसभामा नेकपा (बहुमत) का संयोजक कञ्चन, पार्टी प्रवक्ता सुदर्शन, नेकपा (क्रान्तिकारी माओवादी) का नेता हरिभक्त कँडेललगायत कयौँ कम्युनिस्ट नेता–कार्यकर्ताले उनको शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका थिए । उनको आजै अन्तिम संस्कार गरिएको छ । उनका जीवनसँगिनी सुशीला बलामी, छोरा रोशन बलामी, छोरीहरू रोजिना बलामी श्रेष्ठ, स्मृति बलामी र आकृति बलामी छन् ।

प्रवक्ता सुदर्शनले जारी गरेको श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य कमरेड रामचन्द्र बलामीको ६० वर्षकै उमेरमा बिहीबार भएको असामयिक निधनले हाम्रो पार्टीलाई स्तब्ध बनाएको छ । हाम्रो पार्टी कमरेड रामचन्द्र बलामीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ र उहाँकी जीवनसँगिनी सुशीला बलामी, छोरा रोशन बलामी, छोरीहरू रोजिना बलामी श्रेष्ठ, स्मृति बलामी, आकृति बलामीलगायत शोकसन्तप्त सम्पूर्ण परिवारजन र पार्टीपङ्क्तिमा गहिरो समवेदना प्रकट गर्दछ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘२०१९ सालमा काठमाडौँ महानगरपालिका– १६ टौदलमा जन्मिएका कमरेड रामचन्द्रले यसअघि विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपा एकीकृत, तुल्सीलाल अमात्य नेतृत्वको नेकपा, नारायणमान बिजुक्छे ‘रोहित’ नेतृत्वको नेपाल मजदुर किसान पार्टी, सीपी मैनाली नेतृत्वको नेकपा (माले) मा आबद्ध भएर चार दशक लामो राजनीतिक जीवन बिताइसक्नुभएको छ । कम्युनिस्ट आन्दोलनका विभिन्न अनुभव हासिल गर्दै उहाँ हाल नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्यको भूमिकामा हुनुहुन्थ्यो । सरल र इमानदार छवि बनाउनुभएका कमरेड रामचन्द्रको कम्युनिस्ट आन्दोलनको इतिहासप्रति गहिरो रुचि र अध्ययन थियो । उहाँको निधनले नेपालको कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति पुगेको छ ।’

वक्तव्यको अन्त्यमा भनिएको छ, ‘उच्च रक्तचाप, मधुमेहलगायत समस्या झेलिरहेका कमरेड रामचन्द्र बलामी पछिल्लो समयमा मस्तिष्कघातका कारण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहनुभएको थियो । उपचारकै क्रममा निमोनियाबाट ग्रस्त हुनुभएका उहाँको आज अस्पतालमै निधन भएको हो । आजै पशुपति आर्यघाटमा आयोजित श्रद्धाञ्जलीसभामा नेकपा (बहुमत) का संयोजक क कञ्चन, पार्टी प्रवक्ता क. सुदर्शन, नेकपा (क्रान्तिकारी माओवादी) का नेता क. हरिभक्त कँडेललगायत कयौँ कम्युनिस्ट नेता–कार्यकर्ताले कमरेड रामचन्द्र बलामीको शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्नुभयो । उहाँको आजै अन्तिम संस्कार गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :