सहिद परिवारलाई सम्मान गरी सहिद सप्ताह मनाइयो

सहिद परिवारलाई सम्मान गरी सहिद सप्ताह मनाइयो

पाल्पा : पाल्पामा सहिद परिवारलाई सम्मान गरी सहिद सप्ताह मनाइएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला कार्य समिति पाल्पाको आयोजनामा सहिद परिवार सम्मान कार्यक्रम सम्पन्न गरी सहिद सप्ताह मनाइएको हो ।

एक पालिका एक कार्यक्रमअन्तर्गत जिल्लाका दसवटै पालिकामा साताव्यापी सहिद सप्ताह कार्यक्रमअन्तर्गत ५० भन्दा बढी सहिद परिवारलाई सम्मान गरिएको छ । मुलुकको परिवर्तनका निम्ति बलिदान दिएका सहिदको सम्झनामा साताव्यापी कार्यक्रम गरिएको नेकपा (बहुमत) पाल्पाका संयोजक मुक्ति गैरेले बताए । साताव्यापी सहिद परिवार सम्मान कार्यक्रमका प्रमुख अतिथि रहेका संयोजक गैरेले मुलुकको व्यवस्था परिवर्तन गर्न जनयुद्धमा होमिएका माओवादी सहिद परिवारले अझै पनि सम्मानजनक न्याय नपाएको बताए । जनयुद्धको अपेक्षा अवस्था परिवर्तन मात्रै नभएको धारणा राख्दै उनले मुलुकभित्रै स्वरोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारसहितको विकासलाई जनयुद्धले पूर्णता दिन नसकेको पनि बताए ।

सहिद परिवारका सदस्य लक्ष्मण रसाइलीले मुलुकको नेतृत्वमा पुगेर बागडोर समालेका प्रचण्डले जनयुद्धको भावनाविपरीत काम गरेको बताए । सर्वहारा जनताका छोराछोरीले लडेको जनयुद्धले पनि सहिदका अपेक्षा पूरा गर्न नसकेको उनको भनाइ थियो ।

सहिद सप्ताहमा नेकपा (बहुमत) का नेता–कार्यकर्ता र सहिद परिवारको उल्लेख्य सहभागिता थियो । कार्यक्रमको सहजीकरण जिल्ला समिति सदस्य विजय सारुले गरेका थिए । जनयुद्धको मूल नेतृत्व दाबी गर्ने र सरकार सञ्चालन गरिरहेको पार्टीले सम्मान दिन नसके पनि नेकपा (बहुमत) ले सम्मान गरेको भन्दै सहिद परिवारले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :