क्रान्तिकारी टे«ड युनियन महासङ्घका तीन आङ्गिक सङ्गठनद्वारा श्रममन्त्रीलाई २१ बुँदे ध्यानाकर्षण

क्रान्तिकारी टे«ड युनियन महासङ्घका तीन आङ्गिक सङ्गठनद्वारा श्रममन्त्रीलाई २१ बुँदे ध्यानाकर्षण

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घअन्तर्गत अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर सङ्घ केन्द्रीय समितिका अध्यक्ष बीएस पौडेल, अखिल नेपाल क्रान्तिकारी पर्यटन तथा एयरपोर्ट श्रमिक सङ्घका अध्यक्ष रामचन्द्र थापा र अखिल नेपाल क्रान्तिकारी अटोमोबाइल श्रमिक सङ्घ केन्द्रीय समितिका अध्यक्ष रमेश बस्नेतले मजदुरको पारिश्रमिक अविलम्ब वृद्धि गर्न, यसअघि वृद्धि गरिएको पारिश्रमिक लागू गर्न र मजदुरको न्यूनतम तलब तीस हजार कायम गर्न माग गर्दै श्रममन्त्री शेरबहादुर कुँवरलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
तीन सङ्गठनले संयुक्त रूपमा बुझाएको २१ बुँदे ध्यानाकर्षणपत्रमा राजपत्रमा प्रकाशित भएको न्यूनतम पारिश्रमिक अधिकांश उद्योग प्रतिष्ठानहरूमा हालसम्म पनि कार्यान्वयन नभएकाले अविलम्ब लागू गर्न माग गरिएको छ । त्यसैगरी महिला र पुरुषमा समान कामको समान ज्याला (पारिश्रमिक) नदिई गरिएको विभेद अन्त्य गर्न, समान दक्षता र समान काम गर्ने नेपाली र छिमेकी मुलुकका कामदारहरूमा पारिश्रमिकलगायत सेवासुविधाहरूमा गरिएको विभेद अन्त्य गर्न माग गरिएको छ ।
ध्यानाकर्षणपत्रमा अधिकांश प्रतिष्ठानहरूमा कार्यस्थलको सरसफाइ, स्वच्छ सफा पिउने पानी, सफा शौचालयको उचित प्रबन्ध गर्न, बुट, हेल्मेट, चस्मा, पन्जा, मास्क, ड्रेसलगायत सुरक्षा सामग्री प्रबन्ध गर्न, श्रम सम्झौता/नियुक्तिपत्र र परिचयपत्र नदिई काममा लगाइएकाहरूलाई ती सामग्री उपलब्ध गराउन, श्रमिक आपूर्तिकर्ता (ठेकेदार) कम्पनीहरूमार्फत काम गराइएका उद्योग प्रतिष्ठानका साथसाथै स्वयम् ठेकेदारहरूबाटै पनि नियमानुसार पारिश्रमिकलगायत अन्य सेवासुविधा नदिई अति जोखिमका साथ काम लगाई श्रम शोषण गरेको र ओभर टाइम नदिइएकाले त्यसको व्यवस्था गर्न माग गरिएको छ ।
ध्यानाकर्षणपत्रमा श्रमिकको पारिश्रमिक बैङ्क खातामा जम्मा गर्न, ट्रेड युनियन खोल्ने र सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्न, श्रम ऐन २०७४, श्रम नियमावली २०७५, ट्रेड युनियन ऐन, ट्रेड युनियन नियमावली, नेपालको संविधान २०७२ को मौलिक हक, मानवअधिकार र आईएलओ १६९ को अवहेलना गरिएकाले मानवीय संवेदनशीलतालाई नकुल्चिन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :