साम्राज्यवादको प्यादा जेलेन्स्कीको अमेरिका भ्रमणप्रति रुस आक्रोशित

युक्रेन र अमेरिकाले शान्ति नचाहेको रुसको प्रतिक्रिया

साम्राज्यवादको प्यादा जेलेन्स्कीको अमेरिका भ्रमणप्रति रुस आक्रोशित

काठमाडौँ : साम्राज्यवाद र विशेषतः अमेरिकी साम्राज्यवादको उक्साहट र स्वार्थमा रुससँग युद्ध गरिरहेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका भ्रमण गरेपछि रुसले आक्रोश व्यक्त गर्दै अमेरिका र जेलेन्स्कीले शान्ति नचाहेको र युद्ध लम्ब्याउन चाहेको प्रमाणित भएको भनी आक्रोश व्यक्त गरेको छ । युक्रेनको मुखुन्डो लगाएर अमेरिकाले आफूसँग अप्रत्यक्ष वा छद्म युद्ध गरिरहेको दाबी पनि रुसले गरेको छ ।
जेलेन्स्कीले अमेरिका भ्रमण गरेर त्यहाँको संसद्लाई सम्बोधन गरेपछि अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभले यो ‘उत्तेजक कार्य’ भएको र भ्रमणको नतिजा भयानक हुनसक्ने चेतावनी दिएका छन् । अमेरिकाले रुसलाई थप आक्रोशित बनाउँदै रुसविरुद्ध घातक हतियार र ठूलो परिमाणमा आर्थिक सहयोग गर्ने घोषणा गरेपछि रुसको कडा प्रतिक्रिया आएको हो ।
रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले जेलेन्स्कीको अमेरिका भ्रमणमा शान्तिका विषयमा कुनै वार्ता नहुनु अमेरिकाले रुससँग छद्म युद्ध गरिरहेको थप प्रमाण रहेको बताएका छन् । प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनको यो कदमले रुसलाई आफ्नो विशेष सैन्य अभियानको लक्ष्य हासिल गर्नबाट नरोक्ने पनि प्रस्ट पारेका छन् ।

सञ्चारमाध्यमहरूका अनुसार रुसी राजदूत अनातोली एन्टोनोभले रुसी सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा भनेका छन्, ‘मानिसहरूले आफ्नो कदमबारे सोचविचार गरून् भन्ने रुसले चाहको तर अमेरिकाले युक्रेनलाई पेट्रियट मिसाइल डिफेन्स सिस्टम दिने खबर चिन्ताजनक छ ।’
यिनै विषयहरूलाई प्रमाणका रूपमा अघि सार्दै रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले भनेकी छिन्, ‘युक्रेनी राष्ट्रपति र अमेरिकी राष्ट्रपतिको वासिङ्टनमा भएको भेटले युक्रेन र अमेरिका शान्ति चाहँदैनन् भन्ने देखाउँछ । उनीहरूको नियत युद्ध जारी राख्ने हो ।’
जेलेन्स्कीले अमेरिका भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्नुका साथै त्यहाँको संसद्लाई सम्बोधन गरेका थिए । बाइडेनले युक्रेनलाई १.७ अर्ब डलरको थप सहयोग गर्ने र ४५ अर्ब डलर दिने बताउँदै अमेरिका युक्रेनको साथमा दृढतापूर्वक उभिने बताएर रुसलाई थप चिढ्याएका छन् । प्याट्रियट मिसाइलले रुसी आक्रमणबाट बचाउ गर्ने अमेरिका र जेलेन्स्कीको विश्वास छ ।
एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :