जुम्लामा धर्मछोरी बलात्कार गर्ने प्रेमजङ्गलाई बचाउने षड्यन्त्रविरुद्ध अखिल क्रान्तिकारीको चेतावनी

जुम्लामा धर्मछोरी बलात्कार गर्ने प्रेमजङ्गलाई बचाउने षड्यन्त्रविरुद्ध अखिल क्रान्तिकारीको चेतावनी

जुम्ला : जुम्लाको चन्दनाथ नमुना माध्यमिक विद्यालय खलङ्गामा कक्षा ४ मा अध्ययनरत १४ वर्षीया छात्रा बलात्कृत भएको घटना सार्वजनिक भएको छ । यसप्रति अखिल क्रान्तिकारीले सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई नबचाउन र सख्त कारबाही गर्न माग गरेको छ ।

अखिल क्रान्तिकारी कर्णाली प्रदेश छात्रा विभागकी इन्चार्ज सुन्देवी शाहीले जारी गरेको विज्ञप्तिमा उक्त घटनामा बालिकालाई पढाइलेखाइको व्यवस्था गरिदिने र घरायसी काममा सहयोग पुग्ने गरी धर्मछोरी बनाएर घरमा राखिएकी १४ वर्षीया बालिकालाई पटकपटक बलात्कार गर्दै आएको आरोपमा जुम्ला चन्दनाथ ७ का ४८ वर्षीय प्रेमजङ्ग महतलाई प्रहरीले नियन्त्रणमा लिएको र उक्त घटना केही समयपहिले नै सार्वजनिक भए पनि विभिन्न प्रलोभन दिएर मिलापत्रको कागज बनाइदिएर बलात्कारको घटना गुपचुप बनाउन खोजेको पीडित पक्षको भनाइ रहेको पनि उल्लेख छ । यसप्रकारको गैरकानुनी काममा जनप्रतिनिधिलगायत जिम्मेवार व्यक्तिहरू नै संलग्न हुनुले उक्त घटना ज्यादै रहस्यमय बन्दै गएको भन्दै छ ।

शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्याग, समर्पण र बलिदानको पर्याय, प्रतिपक्षी विद्यार्थी आन्दोलनको नेता सङ्गठन हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) संसद्वाद, सुधारवाद, अवसरवाद, दक्षिणपन्थी संशोधनवाद र प्रतिक्रियावादसँग भीषण सङ्घर्ष गर्दै न्याय, मुक्ति र समानताका लागी सङ्घर्षशील सङ्गठन हो । पछिल्लो समय देशैभर बलात्कार, हत्या, हिंसाजस्ता जघन्य अपराधका घटना देशैभर बढिरहेका छन् । यसै सन्दर्भमा केही दिनपहिले मात्र जुम्लाको चन्दनाथ नमुना माध्यमिक विद्यालय खलङ्गामा कक्षा ४ मा अध्ययनरत १४ वर्षीया छात्रा बलात्कृत भएको घटना सार्वजनिक भएको छ । यसप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त घटनामा बालिकालाई पढाइलेखाइको व्यवस्था गरिदिने र घरायसी काममा सहयोग पुग्ने गरी धर्मछोरी बनाएर घरमा राखिएकी १४ वर्षीया बालिकालाई पटक–पटक करणी गर्दै आइरहेको आरोपमा जुम्ला चन्दनाथ ७ का ४८ वर्षीय प्रेमजङ्ग महतलाई प्रहरीले नियन्त्रणमा लिएको खबर छ । उक्त घटना केही समयपहिले नै सार्वजनिक भए पनि विभिन्न प्रलोभन दिएर मिलापत्रको कागज बनाइदिएर करणीको घटना गुपचुप बनाउन खोजेको पीडित पक्षको आरोप छ । जुन काममा जनप्रतिनिधिलगायत जिम्मेवार व्यक्तिहरू नै संलग्न हुनुले उक्त घटना ज्यादै रहस्यमय बन्दै गएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता जघन्य सामाजिक अपराधका घटनामा संलग्न जोसुकैलाई कडा सजाय दिनुको साटो जिम्मेवार व्यक्ति तथा निकायबाटै मिलापत्र गराउनु ज्यादै लज्जास्पद विषय हो । अतः यस घटनाको निष्पक्ष छानबिन गरेर पीडितलाई उचित न्याय र दोषीलाई कडा कारबाही गर्न सरोकारवाला निकायलाई हाम्रो सङ्गठन गम्भीर अपिल गर्दछ । अन्यथा घटनाको छानबिनलाई कमजोर र निष्पक्ष नबनाएर अपराधी र त्यसका मतियारलाई उम्काउन खोजिएको खण्डमा हाम्रो सङ्गठन जस्तोसुकै कदम चाल्न बाध्य हुने कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :