कार्यकर्तालाई भ्रमित नहुन नेकपा केन्द्रीय कार्यालयको आग्रह

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयले पार्टीको ८ औँ केन्द्रीय समितिको १२ औँ पूर्ण बैठक पूर्ण जनवादी वातावरणमा ऐतिहासिक महत्वका निर्णयहरू गर्दै महासचिवले प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई एकमतले पास गरेर सम्पन्न गरेको र देशी–विदेशी प्रतिक्रियावादीहरूले गरेको पार्टी फुटाउने, नेतृत्वलाई बदनाम गर्ने र जनता र कार्यकर्तालाई भ्रमित पार्ने षड्यन्त्रलाई बिफल बनाउन सफल भएको जनाएको छ । केन्द्रीय कार्यालयका सचिव असल क्षेत्रीले आज जारी गरेको प्रेस विज्ञप्तिमा यसबाट अत्तालिएर पार्टीभित्रका केही गलत उद्देश्यसहित आएका तत्वहरू विचलित र आतङ्कित भएर पार्टी र नेतृत्वप्रति गलत लाञ्छना लगाउँदै भाग्ने गरेको र भीम चापागाईं यसको एउटा उदाहरण रहेको जनाइएको छ ।

केन्द्रीय कार्यालयका सचिव असलले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :

‘भीम चापागाईंले हिजो मात्र फेसबुकमार्फत पार्टी, क्रान्ति र नेतृत्वमाथि गम्भीर सैद्धान्तिक विचलन देखापर्दै आएको, १२ औँ पूर्ण बैठकले स्पष्ट राजनीतिक लाइन पास गर्न नसकेको, घुमाउरो तरिकाले पार्टी संसदीय भासमा फसेकोजस्ता कपोलकल्पित आरोप लगाएर पार्टीबाट अलग भएको विज्ञप्तिप्रति हाम्रो पार्टी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । यो कुरा सर्वविदित छ कि नेपाली कम्युनिस्ट आन्दोलनमा विविध रुपमा देखापर्दै आएका विचलनहरूका विरुद्ध क्रान्तिकारी झन्डा उठाउँदै दलाल संसदीय व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि एकीकृत जनक्रान्तिको नेतृत्व नेकपाका महासचिव क. विप्लवले गर्दै आउनुभएको छ । अहिले सिङ्गो मुलुक, सर्वहारा वर्ग र सम्पूर्ण उत्पीडित जनताको आशा र भरोसाको केन्द्र पनि हाम्रै पार्टी र नेतृत्व बन्दै आएको छ । यो बेला विश्व–साम्राज्यवाद तथा देशी–विदेशी तत्वहरू क्रान्तिकारी नेतृत्व र क्रान्ति ध्वस्त पार्न चाहन्छन् । यसवाट हाम्रो नेतृत्व र सिङ्गो पार्टी पूर्ण रुपमा सचेत छ र सबै सचेत रहनु पर्दछ ।

हिजो मात्र हाम्रो पार्टीको ८ औँ केन्द्रीय समितिको १२ औँ पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले पूर्ण जनवादी वातावरणमा ऐतिहासिक महत्वका निर्णयहरू गर्दै महासचिव कमरेडले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावलाई एकमतले पास गरेको छ । देशी–विदेशी प्रतिक्रियावादीहरूले गरेको पार्टी फुटाउने, नेतृत्वलाई बदनाम गर्ने र जनता र कार्यकर्तालाई भ्रमित पार्ने षड्यन्त्रलाई बिफल बनाउन केन्द्रीय समिति सफल भएको छ । यसबाट अत्तालिएर पार्टीभित्रका केही गलत उद्देश्यसहित आएका तत्वहरू विचलित र आतङ्कित भएर पार्टी र नेतृत्वप्रति गलत लाञ्छना लगाउँदै भाग्ने गरेका छन् । भीम चापागाई यसको एउटा उदाहरण हो ।

हिजो मात्र सम्पन्न केन्द्रीय समितिको बैठकले भीम चापागाईंले अनधिकृत रूपमा विभिन्न स्रोतहरूबाट रु. ७७ लाख उठाएको प्रमाणसहित केन्द्रीय कार्यालयमा आएको र दुई दर्जनभन्दा बढी स्रोतहरूमा आर्थिक डिल गरेको कारण उहाँलाई छानबिनको दायराभित्र राखेको जानकारी पाएपछि पार्टी र नेतृत्वमाथि यस्ता अनर्गल आरोप लगाउँदै भागेको स्पष्ट गर्न चाहन्छौँ । साथै यस्ता खालका भगौडाहरूले गर्ने प्रचारबाजीबाट कोही पनि नेता, कार्यकर्ता, जनता र आमपङ्क्ति भ्रमित नहुन यसै विज्ञप्तिमार्फत सार्वजनिक गर्न चाहन्छौँ । पार्टी वैज्ञानिक समाजवादको उद्देश्यमा निरन्तर अगाडि बढिरहेको छ । यसमा सबै एकीकृत भएर अगाडि बढ्न पार्टी आह्वान गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :