नेपाल बन्दमा व्यापक गिरफ्तारी, पाल्पामा पत्रकारमाथि दुर्व्यवहार

नेपाल बन्दमा व्यापक गिरफ्तारी, पाल्पामा पत्रकारमाथि दुर्व्यवहार

काठमाडौँ : सरकारले नेपाल बन्दका क्रममा व्यापक दमन, धरपकड र गिरफ्तारी बढाएको छ भने पत्रकारमाथि दुर्व्यवहार गरेको छ । राष्ट्रघाती एमसीसीविरुद्ध आह्वान गरिएको नेपाल बन्दका क्रममा देशभरबाट सयौँ आन्दोलनकारी गिरफ्तार भइसकेको आयोजकहरूले बताएका छन् । कञ्चनपुरलगायत कतिपय ठाउँमा प्रहरीले निर्मम लाठी प्रहार गरी आन्दोलनकारीलाई रक्तमुछेल पारेका विवरणहरू प्राप्त भएका छन् ।

यसै क्रममा प्रहरीले नेकपा निकट अखिल नेपाल लेखक सङ्घका महासचिव खोम तरामु मगरलाई रूपन्देहीबाट र नेकपाका युवा नेता दर्शन नेपालीलाई काठमाडौँको स्वयम्भूबाट गिरफ्तार गरेको समाचार प्रप्त भएको छ ।

यसैबीच पाल्पामा प्रहरीले पत्रकारमाथि दुर्ववहार गरेको छ । आज पाल्पाको सदरमुकाम तानसेनमा रिपोर्टिङमा रहेका पत्रकार र प्रशिक्षार्थी पत्रकारमाथि प्रेस परिचयपत्र देखाउँदादेखाउदै पनि प्रहरिले जबर्जस्ती नियन्त्रणमा लिने प्रयास गरेको छ ।

पाल्पाका पत्रकार मोहन निवाङका अनुसार बन्दकर्ताहरुले सडकमा निस्केर शान्तिपूर्ण रुपमा नाराबाजी गर्दै तानसेन तम्घास रोड, माथिल्लो प्रेट्रोल पम्पदेखि लहरेपीपल, क्याम्पस रोड हुँदै आन्दोलनचोकमा कोणसभा गर्ने तयारी गरिरहेको समयमा प्रहरीले लहरे पीपल अदालतअगाडि र क्याम्पस रोडअगाडि रोक्ने प्रयास गरेको थियो । क्याम्पसपछाडिको घेरा तोडेर बन्दकर्ताहरु नाराबाजी गर्दै आन्दोलन चोक पुगेपछि प्रहरीले घेरा हाली नियन्त्रणमा लिएर हिरासत पुर्याएको छ । गिरफ्तार हुनेहरुमा नेपाल कम्युनिस्ट पार्टी पाल्पाका सेक्रेटरी भुवन जीसी, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, नेकपा (क्रान्तिकारी माओवादी) पाल्पाका सचिव लीला श्रेष्ठ, टीकाराम पौडेल, लङ्क राना (केन्द्रीय सदस्य अखिल, क्रान्तिकारी), सुदीप विश्वकर्मा (संयोजक अखिल क्रान्तिकारी पाल्पा, वेदप्रसाद विश्वकर्मा (उपाध्यक्ष, युवा सङ्गठन नेपाल पाल्पालगायत सातजना छन् ।

बन्दकर्ता सातजनालाई नियन्त्रणमा लिएपछि प्रहरीले पत्रकारमाथि दुर्व्यवहार गर्दै नियन्त्रणमा लिने प्रयास गरेको थियो । प्रशिक्षार्थी पत्रकार तथा रातो खबर साप्ताहिकका पाल्पा बजार व्यवस्थापक, जनपत्रकार सङ्गठन नेपाल पाल्पाकी जिल्ला उपाध्यक्ष मनीषा आले र एकीकृत सम्प्रेषण राष्ट्रिय मासिक एवम् अनलाइन पत्रिकाका संवाददाता विजय सारुलाई नियन्त्रणमा लिन प्रहरीले समातेका थिए । दुर्व्यवहारमा पर्ने पत्रकारहरुमा जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष तथा रातो खबरका संवाददाता, एकीकृत सम्प्रेषण मासिक र अनलाइन पत्रिकाका प्रधान सम्पादक मुक्ति गैरे, एकीकृत सम्प्रेषण राष्ट्रिय मासिक पत्रिकाका संवाददाता महेश काम्मुमगर छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :