जनपत्रकार संगठन नेपाल काठमाडौँ जिल्लाले बुझायो महासंघलाई ज्ञापनपत्र

जनपत्रकार संगठन नेपाल काठमाडौँ जिल्लाले बुझायो महासंघलाई ज्ञापनपत्र

काठमाडौँ: जनपत्रकार संगठन नेपाल काठमाडौँ जिल्ला समितिले पत्रकार महासंघ काठमाडौँ शाखालाई ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष जितेन्द्र महर्जनको नेतृत्वमा गएको टोलीले शाखाका अध्यक्ष सुर्य सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपालको पत्रकारिता क्षेत्र र सम्पूर्ण पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई थप मर्यादित, अनुशासित र जिम्मेवार बनाउन भन्दै जनपत्रकार संगठनले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायीत्वलाई सुनिश्चित गर्न का लागि ठोस पहल गर्न माग गरिएको छ । साथै कोभिडका कारण रोजगार गुमाएका संचारकर्मीको पुनस्र्थापन, राहत र स्वास्थ्य उपचारका लागि पहल गर्न आग्रह गरेको छ ।

संगठनले सदस्यहरुको सुद्धिकरण गरि महासंघलाई मर्यादित र जिम्मेवारी बनाउन आग्रह गरेको छ । ‘पत्रकारिता गरिरहेका पत्रकारलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित गरियोस ।’ महासंघलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस् । महासंघलाई आत्मानिर्भर र स्वदेशी सहायताबाट संचालन गर्न पहल गरियोस् ।’

संगठनले समानुपातिक विज्ञापन प्राणालीलाई कार्यान्वयन गर्न संस्थागत पहल गर्न आग्रह गरेको छ । साथै, पत्रकारहरुको बृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गर्न माग गरेको छ ।

अनलाइन संचारमाध्यम तथा भिडियोमार्फत पत्रकारिता गर्ने पत्रकारहरुको सुरक्षा ग्यारेन्टी गर्न पहलकदमी लिन संगठनले माग गरेको छ । पत्रकारहरुको स्वास्थ्य बीमा, जीवन बीमा र संचार सामाग्रीको बीमा गर्ने व्यवस्था गर्न पनि माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष सुवेदीले जनपत्रकारले उठाएका मुद्धाहरु महासंघका साझा मुद्धा भएकाले यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘श्रमजिवी पत्रकारहरुका मुद्धाहरुमा महासंघ जिम्मेवार छ । महासंघको मुख्य मुद्धा पनि यहि हो ।’ ज्ञापनपत्र बुझ्दै उनले भने, ‘सदस्यहरुको सुद्धिकरणका लागि पनि हामी कार्यन्वयनकै तहमा जाँदैछौँ । यी मागहरु महासंघकै एजेण्डा हुन् । कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :