बारामा सुकुमबासी विमर्श

बारा/साउन २९ः नेपाल भूमिहीन सुकुमबासी संघको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनको नेतृत्वमा जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित टाँगिया बस्तीमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । वैकल्पिक व्यवस्था नगरी टाँगिया (सुकुमबासी) बस्ती खाली गर्ने सरकारको षड्यन्त्रका विरुद्ध सुकुमबासी बस्तीमा जनजागरण पैदा गर्न र टाँगिया बस्ती व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया भएको थियो । अखिल नेपाल भूमिहीन सुकुमबासी संघ र नेपाल कम्युनिस्ट पार्टीले सो टाँगिया बस्तीका सुकुमबासीहरुको उचित व्यवस्थापनको लागि कानुनी, राजनैतिक र मानवअधिकारको पक्षमा सबै पहल र संघर्षहरु गर्ने प्रतिवद्धतासमेत जनाएको छ । अन्तरक्रिया कार्यक्रममा टाँगिया बस्ती सरोकार समिति लगायत सबै अगुवा सुकुमबासीहरुले सरकारसँग आफ्ना मागहरु विगत २०६४ सालदेखि राख्दै आएको २०६४ सालदेखि नै टाँगिया बस्ती सरोकार समिति बनाएर संघर्ष गर्दै आएको तर सरकारले त्यसको बेवास्ता गर्दै आएको गुनासो पोखेका थिए । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज नयन र सेक्रेटरी रमणसहितको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा टाँगिया बस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटा, सदस्यहरु लिला रानामगर, प्रेम तामाङ, अनिस पुलामी मगर र सुमन लामालगायतले आफूहरु विकास विरोधी नभएको तर बसोबास गर्दै आएका १ हजार ४ सय ७६ घर परिवारलाई २ विगाहा ५ कठ्ठाको दरले जमिन, एक घर एक रोजगार, शहरको नजिकमा बसोबास र १८ महिनसम्म खानपिनको व्यवस्थापन राज्यले गर्नुपर्ने माग राखेका थिए ।

जितपुर–सिमरा – १६ टाँगिया बस्तीका सुकुमबासीहरु २०३१ सालदेखि बसोबास गर्दै आएका हुन् । अहिले सरकारले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनी तयारी गरेको जमिन पर्ने उक्त टाँगिया बस्तीमा हाल १ हजार ४ सय ७६ घर परिवार र करिब ८ हजारको जनसंख्या रहेको सुकुमबासी बस्ती छ । २०६४ सालमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय भए यता गठन भएका सबै सरकारहरुले उक्त बस्तीलाई उचित व्यवस्थापन गरेर मात्रै एयरपोर्ट निर्माणको कार्य थालनी गर्ने भने तापनि हालसम्म कुनै सरकारले लिखित कार्वाही अगाडि नबढाएकोले हाल त्यहाँको बस्ती अन्यौलमा पर्दै गएको छ । आगामी मंसिरदेखि द्रुत गतिमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारको योजनासँगै आसपासमा रहेका दर्ता जमिन वाला ८० विगाहाको काँठ बस्ती र २० विगाहाको ककडी बस्तीको जमिनको मुहाब्जा सडक छेउको प्रतिकठ्ठा ४ लाख ६० हजार र सडकभित्रको २ लाख ४० हजार प्रतिकठ्ठाका दरले मूल्यांकन गरी सूचना टाँस गरिसकेको र टाँगिया बस्तीमा भनें घरमात्रै नापजाँप गरी बिना व्यवस्थापन सुकुमबासी बस्ती खाली गर्ने षड्यन्त्र गरिएको बुझिएको छ । 
२०७४ साउन २९ गते २ः०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :