जीवन बलिदान गर्ने तर सहिदका सपना मर्न नदिने विप्लवकाे प्रतिबद्धता

जीवन बलिदान गर्ने तर सहिदका सपना मर्न नदिने विप्लवकाे प्रतिबद्धता

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बरु जीवन बलिदान गर्ने तर सहिदका सपना मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शुक्रबार दिउँसो सरकारसँग भएको ३ बुँदे वार्तामा हस्ताक्षर कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शान्तिपूर्ण राजनीतिप्रति प्रतिबद्ध रहेको पनि बताएका छन् ।
तर, ६ वर्षअघि लिएको एकीकृत जनक्रान्तिको कार्यक्रम भने कायमै रहेको पनि उनले बताए । वर्तमान संसदीय प्रणालीमा रहेको कमजोरीको व्याख्या गर्दै वैज्ञानिक समाजवादबारे जनमत संग्रहको माग पनि राखेका छन् ।

सरकार र नेकपा वार्ता टोलीबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवले अहिलेको व्यवस्थाप्रति असहमत भएरै विद्रोहमा गएको सम्झिए ।

तर, सरकारसँग सहमतिमा आएपछि परिस्थिति बदलिएको संकेत गरेका उनले भने, ‘कम्युनिस्टहरु विद्रोह मात्र गर्दैनन्, जब परिस्थिति बदलिन्छ र राज्यले आफ्नो भूमिका पूरा गरेको स्थितिमा कम्युनिस्टहरु शान्तिका दूत पनि हुन् ।’

सरकारसँग भएको सहमतिप्रति कार्यान्वयन गर्नेमा विशेष जोड दिएका विप्लवले आफ्नो माग पूरा हुने वातावरण बनाउन पनि माग गरे । ‘आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको भविष्यबारे जनमत दिने अधिकार पाउनुपर्छ, हामी त्यसका लागि तयार छौं’, उनले भने ।

जनताले कहिल्यै स्वतन्त्रतापूवर्क ‘स्टेप’ चाल्न नपाएको र कहिलेकाहीँ राज्य–सरकारले चाल्न खोज्दा पनि नहुने परिस्थिति रहेको उनले बताए ।

विप्लवले भने, ‘हाम्रो अहिले पनि भनाइ छ, नेपालमा आज कसैले पनि सुरक्षित अनुभूति गर्ने स्थिति छैन । सबै नेताहरुलाई, पार्टीहरुलाई र जनतालाई आफ्नो जीवनमाथि आफैं हावी भएको/नेतृत्व गरिरहेको अनुभूति भएको छैन । हरेक घटनाक्रममा एउटा ठूलो तरंग नेपाली जनताको बीचमा छ, अहिले पनि छ ।’

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरू शान्तिपूर्ण राजनीतिमा आएपनि कसैको हस्तक्षेप नस्वीकार्ने बताएका छन् ।

विप्लवले आफूहरू कसैको हस्तक्षेपसँग नझुक्ने बताए । ‘हामी खुला हुनुपर्छ । हामी खुला छौं । हामी सहकार्य गर्न, हातेमालो गरेर अगाडि बढ्न तयार छौं,’ विप्लवले भने, ‘तर हामी यहीँ पनि भन्छौं, कसैले हामीलाई हस्ताक्षेप गर्‍यो भने, कुनै विदेशीले हामीलाई हस्तक्षेप गर्न खोज्यो भने हाम्रो जीवन यो धर्तीमा गाडिन्छ, तर हामी झुक्ने छैनौं । हाम्रो यो प्रतिबद्धता छ ।’

उनले छिट्टै साथीहरूसँग खुला आकाशमा मिलन हुने भन्दै खुशी पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :