१५ हजार नेपालीसहित चार लाख आप्रवासीलाई देश निकाला गर्ने

काठमाडौँ : करिब १५ हजार नेपालीसहित करिब ४ लाख आप्रवासीलाई अमेरिकी सरकारले देश निकाला गर्नसक्ने गरी त्यहाँको अदालतले बाटो खुला गरेको छ । अब डोेनाल्ड ट्रम्प सरकारले ‘टेम्पोररी प्रोटेक्सन स्टाटस’ (टीपीएस) अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीहरूलाई देशबाट निकाल्न सक्नेछ ।

यसरी देश निकाला हुनेमा नेपालसहित निकारागुआ, सुडान, एल साल्भाडोर, हाइटी र होन्डुराससहित १० देशका आप्रवासी बढी छन् । न्युयोर्क टाइम्सका अनुसार हाल ४ लाख आप्रवासी अमेरिकामा बसिरहेका छन् । अमेरिकाको सङ्घीय अपिल अदालतले त्यहाँ बस्दै आएका आप्रवासीको टीपीएस सुविधा खारेज गर्ने निर्णय सरकारको क्षेत्राधिकारभित्र रहेको ठहर गरेको छ ।

आप्रवासीहरूबाट त्यहाँको राष्ट्रिय सुरक्षामा खतरा भएको र रोजगारीमा अमेरिकीहरू नै प्राथमिकतामा हुने भन्दै ट्रम्प सरकारले विभिन्न देशका नागरिकले पाएको टीपीएस सुविधा खारेज गर्ने कदम चालेको थियो । तर कानुनी जटिलता र मुद्दा विचाराधीन रहेका कारण ट्रम्पले टीपीएस सुविधा खारेज गरेर उनीहरूलाई निकाल्न सकिरहेका थिएनन् । अदालतको सोमबारको फैसलाले उनलाई आफ्नो पुरानो निर्णय कार्यान्वयन गर्न बाटो खोलिदिएको न्युयोर्क टाइम्सले जनाएको छ ।

अमेरिकाको नाइन्थ सर्किटको अपिल अदालतले करिब ४ लाख आप्रवासीको अमेरिकामा कानुनी रूपमा बस्न पाउने अधिकारलाई खारेज गरिदिएको र आप्रवासीले आफैँ अमेरिका नछाडे उनीहरूलाई निकाला गर्नसमेत सरकारलाई अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :