बारले भन्यो– प्रधानन्यायाधीश राणाको भूमिका ठीक भएन

काठमाडौँ : नेपाल बार एसोसिएसनले न्यायपालिकाभित्रको कार्य सम्पादनका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको भूमिका सन्तोषजनक नभएको बताएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश राणाको न्याय सम्पादनको कार्य व्यावहारिक नभएको बताएका हुन् । पदबहाली हुँदाको समयमा राणाले न्यायपालिकाभित्रको विकृति–विसङ्गति हटाउँछु भनेर प्रतिबद्धता जनाए पनि प्रधानन्यायाधीशले आफ्नै प्रतिबद्धता र जनअपेक्षाअनुसार काम नगरेको उनले बताए । न्यायाधीश नियुक्तिमै कमजोरी भएको भन्दै अध्यक्ष श्रेष्ठले भने, ‘न्यायालयको अनुगमन–नियमन गर्ने न्यायपरिषद्ले नै ठीक ढङ्गले काम गरेको देखिएन ।’

नेपाल बार एसोसिएसनले न्याय सम्पादनमा भएका विकृति–विसङ्गति हटाउन भन्दै प्रधानन्यायाधीशसमक्ष विभिन्न १७ बुँदे मागसहितको पत्र बुझाएको छ । उच्च तथा सर्वोच्च अदालतमा नियुक्त भएका केही न्यायाधीशहरुमा पदअनुकूलको अनुभव तथा ज्ञानको अभाव रहेको गुनासो आएको भन्दै बारले त्यस्ता न्यायाधीश पहिचान गरी न्यायपरिषद्मा हाजिर गराई लामो अवधिको प्रशिक्षण, तालिम र अध्ययनको व्यवस्था गर्न सुझाव दिएको छ ।

अदालतका आदेश, फैसलाहरुको कार्यान्वयन तत्काल गर्न, अदालतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रभावलाई नियन्त्रण गर्न पनि बारले माग गरेको छ ।

त्यस्तै न्याय क्षेत्रभित्रका विसङ्गति–विकृति, बिचौलिया र भ्रष्टाचार नियन्त्रण गर्न नेपाल बार एसोसिएसनको प्रतिनिधिसमेत सम्मिलित विशेष संयन्त्र गठन गर्न पनि बारले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :