कोरोनाको जोखिम उच्च भएपछि काठमाडौँ उपत्यकामा आजबाट अत्यावश्यकबाहेकका सबै सेवा बन्द

काठमाडौँ उपत्यकामा कोरोनाको उच्च जोखिम देखिएपछि आज आइतबारदेखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ ।

उपत्यकाका धेरै ठाउँमा कोरोना सङ्क्रमणका नयाँ केसहरू देखापरिरहेका छन् । ट्राभल हिस्ट्री नभएका केसहरू पनि देखा पर्न थालेपछि काठमाडौँमा समुदायमा कोरोना फैलिसकेको बताइएको छ । लकडाउन खुकुलो भएसँगै काठमाडाैँमा बाहिरबाट भित्रिनेको सङ्ख्या पनि ह्वात्तै बढेपछि कोठमाडौँ भित्रिएकाहरूबाट सङ्क्रमण बढेको पाइएको हो ।

यस्तै प्रत्यक्ष जनसम्पर्कमा रहने सुरक्षाकर्मीहरूलाई पनि धेरै ठाउँमा सङ्क्रमण भएको पाइएको छ । लकडाउन खुला भएसँगै बजारहरूमा भीडभाड बढेको छ । भीडभाडमा जाने मानिसहरूले लापरबाही र हेल्चेक्र्याइँ गरिरहेको देखिन्छ भने व्यापारिक केन्द्रहरूमा पनि स्वास्थ्य सावधानीका मापदण्ड अपनाइएको पाइएको छैन । मास्क लगाउने र भौतिक दूरी कायम गर्ने कुरामा पनि सावधानी अपनाएको देखिएको छैन । सार्वजनिक यातायातका साधनमा पनि लापरबाही गरेको पाइएको छ ।

कोरोनाको उच्च जोखिम भएपछि उपत्यकामा आज आइतबारदेखि अत्यावश्यकबाहेकका अन्य सेवा बन्द भएका छन् । कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सवै सेवा बन्द गरेका हुन् ।

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको साउन २३ मा बसेको बैठकको निर्णयअनुसार आगामी भदौ ८ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएका हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :