कोरोना सङ्क्रमण समुदायमा फैलिँदै

काठमाडौँ : विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको मापदण्डबिना नै लकडाउन खुला गरिएपछि नेपालमा कोरोना सङ्क्रमणको दर दिनप्रतिदिन उकालो चढिरहेको छ । पछिल्लो २४ घन्टामा थप ४ सय १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो । यता काठमाडौँमा मात्रै अहिलेसम्म ६ सयभन्दा बढी सङ्क्रमित भएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २० हजार ७५० पुगेको छ । सङ्क्रमितमध्ये ५७ जनाको मृत्यु भएको छ भने १४ हजार ९ सय १६ जनाले कोरोनालाई पराजित गरेका छन् ।

काठमाडौँमा समुदायमा सङ्क्रमण फैलिसकेको र पर्याप्त मात्रामा पीसीआर गरेको खण्डमा धेरैजना सङ्क्रमित भेटिनसक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन् । सोमबार पर्सामा मात्र ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै कैलालीमा ६७ जना, सप्तरीमा ५१, मोरङमा ४६, काठमाडौँमा ४३, महोत्तरीमा ३१, धनुषामा ३०, कञ्चनपुरमा १६ तथा बाँके र कास्कीमा ८ र ८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसैबीच सोमबार नै विराटनगरको कोसी अस्पतालमा कोरोना सङ्क्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका ५ का ७७ वर्षीय पुरुष छन् । उनलाई ज्वरो र श्वासप्रश्वासको समस्या भएको अस्पतालले जनाएको छ ।

यसैबीच प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै प्रादेशिक अस्पताल जनकपुरधामका दुईजना चिकित्सकसहित १६ जना कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उता नेपालगन्जमा जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगन्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :