सङ्गमलगायत नेता–कार्यकर्तालाई रिहा नगरे सशक्त प्रतिरोध : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले पार्टी ब्युरो सदस्य एवम् रूपन्देही जिल्ला इन्चार्ज सङ्गम, विष्णुप्रसाद भट्टराई, नाथुप्रसाद थारूलगायत आफ्नो पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकलाई तत्काल रिहा नगरे कडा प्रतिरोधमा उत्रिने बताएको छ ।

लुम्बिनी ब्युरो इन्चार्ज भीमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै साउन १६ गते गिरफ्तार भएका आफ्ना नेता–कार्यकर्ता तथा शुभचिन्तकलाई रूपन्देही जिल्लाको बुटवलबाट प्रहरीले कायरतापूर्ण गिरफ्तार गरेको घटनाले सिङ्गो पार्टीपङ्क्तिलाई स्तब्ध र आक्रोशित बनाएको बताएका छन् ।

विज्ञप्तिमा इन्चार्ज भीमले सुकुमबासी बस्तीमा स्थानीय जनताका समस्याबारे छलफल गरिरहेको अवस्थामा नेकपाका नेता–कार्यकर्ता र शुभचिन्तकलाई गिरफ्तार गरेको भन्दै देश कोरोना सङ्कट र प्राकृतिक विपत्तिले भयावह भइरहेको बेला केपी–प्रचण्ड नेतृत्वको सामाजिक फासिवादी सरकारले पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकलाई हतियार भेटिएको भनी झूट्टा मुद्दा लगाएर जेल चलान गर्ने र दमनबाट क्रान्तिलाई निस्तेज गर्ने दिवासपना देखिरहेको बताएका छन् ।

उनले गिरफ्तार नेता–कार्यकर्ता तथा शुभचिन्तकहरूको तत्काल रिहा गर्न माग गर्दै अगाडि भनेका छन्, ‘हामी स्पष्ट गर्दछौँ– क्रान्तिकारी पार्टी, नेता, कार्यकर्ता, शुभचिन्तक तथा श्रमजीवी जनतामाथि फासिवादी दमन गरेर देशलाई ब्रह्मलुट गर्ने, जनतालाई कङ्गाल बनाउने र साम्राज्यवादको दलाली गरेर देशलाई पराधीन बनाउने हर्कत किमार्थ पूरा हुन सक्दैन । त्यसकारण गिरफ्तार गरिएका हाम्रो पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकलाई यथाशीघ्र रिहा गरियोस् । यसो नगरिए हाम्रो पार्टी सशक्त प्रतिरोधमा उत्रिन बाध्य हुने स्पष्ट गर्दछ ।’

इन्चार्ज भीमले गिरफ्तार गरिएका नेता–कार्यकर्ता तथा शुभचिन्तकहरूको रिहाइका लागि पहल गरिदिन सम्पूर्ण कानुन व्यवसायी, बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार एवम् सरोकारवाला सबै पक्षमा हार्दिक अपिलसमेत गरेका छन् । विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :