मजदुरहरूको जीवन सङ्कटपूर्ण भयो : महासङ्घ

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घले कोरोना भाइरस र लकडाउनका कारण श्रमजीवी मजदुरहरूको जीवन सङ्कटपूर्ण भएको भन्दै एकपछि अर्को लकडाउन, निषेधाज्ञाको मारमा परेका श्रमिकहरू उद्योग, कलकारखानाका मालिकहरूबाट पनि श्रम शोषणमा परेको बताएको छ ।
महासङ्घका संयोजक विनोद थापाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै वेतन बोर्डले निर्धारण गरेको तलब, सेवा, सुविधा दिनुको साटो मजदुरलाई निष्कासन गर्ने, सङ्ख्या कटौती गर्ने, ज्याला नदिने, मानसिक तनाव दिने अत्यन्तै अमानवीय कार्य दिनदिनै बढिरहेको बताएका छन् ।
विज्ञप्तिमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरूबाट साबिकको भन्दा चार गुणा महँगो हवाई भाडा असुल्दै स्वदेशमा फर्काउन हवाई टिकटबापत ३ अर्ब २० करोड रुपैयाँ श्रमिकबाट असुली गरेको उल्लेख छ ।
गत असार १ गते सर्वोच्च अदालतले सरकारका नाममा जारी गरेको आदेशमा पनि श्रमिकहरूले न्याय पाउन नसकेको भन्दै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमातहत श्रमिकको लेबीमार्फत जम्मा भएको ६ अर्ब रुपैयाँ श्रमिकको हितमा खर्च गर्न नचाहने सरकार आमश्रमिक तथा मजदुरविरोधी पुँजीपति लुटेरा समूहको सहयोगी संस्था बन्न पुगेकोे विज्ञप्तिमा उल्लेख छ ।
थापाको विज्ञप्तिमा मानवीय सङ्कटको बेला श्रमिकमाथि हुने ज्यादतीको घोर भत्र्सना गर्दै सम्पूर्ण न्यायप्रेमी श्रमिकहरूलाई सङ्घर्षका लागि अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!