सरकारी पार्टीमा फेरि बल्झियो सम्धीकाण्ड

ईश्वर पोखरेल आफ्नै सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्ष नियुक्त गर्दै

ईश्वर पोखरेल

सरकारी पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी वलीका दाहिने हात भएर बसेका एक पात्र हुन् ईश्वर पोखरेल । वलीका विश्वासपात्रका रूपमा उनी सधैँ लाभको पदमा मात्र देखिन्छन् । आफ्नै सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्ष नियुक्त गर्ने निर्णयसँगै उनका विगतका अन्य धन्धाका बारेमा पनि चर्चा चुलिएको छ ।
पोखरेलका सम्धी कोइरालालाई नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयले सोमबार बैङ्कको सञ्चालकमा नियुक्त गरिएको छ । बैङ्कका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष कोइरालालाई बनाउने गरी सञ्चालक नियुक्त गरिएको स्रोतको भनाइ छ । पोखरेल भने वलीका उत्तराधिकारीका रूपमा उपप्रधान तथा रक्षामन्त्रीसमेत छन् । राजनीतिक आन्दोलनदेखि सत्तासम्म पोखरेल सधँै लाभको पदमा छन् र सधैँ विवादित र आलोचित पनि छन् । पैसा र सुन भकारीमा लुकाएको काण्डमा पनि उनी सर्वत्र आलोचित बनेका थिए ।
सरकारी पार्टीको सचिवालय सदस्य तथा नेकपाको स्कुल विभाग प्रमुखसमेत रहेका पोखरेलको नाउँ कोरोना महामारी नियन्त्रणका लागि गठन भएको कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजक बनेर झन्डै साढे तेह्र अर्ब समाप्त पार्नेमध्येमा पनि जोडिएको छ । समाचारस्रोतहरू भन्छन्, कोरोना नियन्त्रणका लागि औषधि उपकरण खरिद गर्ने विषयमा पनि व्यापारीसँग उनको गहिरो सम्बन्ध छ ।
पोखरेलले आफ्नै सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्ष नियुक्त गर्ने निर्णय गराएपछि भने उनको नातावादका बारेमा पनि नकारात्मक चर्चाहरू बढेका छन् । उनले आफ्ना सम्धीलाई वाणिज्य बैङ्कको अध्यक्षमा सातौँपटक नियुक्ति दिलाएका हुन् । पोखरेलमाथि राजनीतिक शक्तिका आडमा कोइरालालाई आयल निगमको अध्यक्षदेखि खाद्य संस्थानको अध्यक्ष र मोरङ क्याम्पसको प्रमुखसमेत बनाएको अभियोग छ । पोखरेलले सम्धीलाई नै उच्च शिक्षा परिषद्को उपाध्यक्ष र अहिले पनि वाणिज्य बैङ्कको अध्यक्ष बनाएका हुन् ।
पोखरेल सत्तानजिक र आफैँ हर्ताकर्ता भएपछि सम्धीलाई गराएको नियुक्तिको सूची यसप्रकार रहेको सार्वजनिक भएको छ ः
१. २०५१ सालको एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक ।
२. कार्यकाल सकिएलगत्तै विराटनगरको एक स्नातकोत्तर क्याम्पसको प्रमुख ।
३. २०६१ मा जबजवादी स्कुल विभागको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा आयल निगमको कार्यकारी अध्यक्ष ।
४. निगमको कार्यकारीको कार्यकाल सकिएपछि उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त ।
५. उच्च मावि शिक्षापरिषदको उपाध्यक्षबाट निवृत्त भएपछि राजेन्द्र खेतानको लक्ष्मी बैङ्कको अध्यक्ष ।
६. त्यसपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति ।
७. उपकुलपतिको कार्यकाल सकिएको केही महिनामै राष्ट्रिय वाणिज्य बैङ्कको सदस्य नियुक्त गरेर अध्यक्ष बनाइँदै ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :