बाढीमा परी ज्यान गुमाउनेहरूप्रति नेकपाले दियो श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोले अछाम जिल्लाको रामारोशन गाउँपालिकाको सिराबाट बग्ने कैलास खोलामा भदौ ०२ गते राती आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

नेकपाका सेती–महाकाली ब्युरो कार्यालय सचिव प्रशान्तले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बाढीमा परी ज्यान गुमाउने रामारोशन गाउँपालिका ५ सैनीका १२ जनाप्रति श्रद्धाञ्जली र मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।

विज्ञप्तिमा बाढीमा परी हराइरहेकाहरूको यथाशीघ्र खोजी गर्न, घाइतेहरूको निःशुल्क उपचार गर्न, ज्यान गुमाउनेहरूका परिवारजनहरू र धनजन क्षति भएका जनतालाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न राज्यसँग जोडदार माग गरिएको छ । बाढीपहिरोको जोखिममा रहेका सम्भावित बस्तीहरूलाई सुरक्षित बसाइका लागि उपयुक्त स्थानहरूमा स्थानान्तरण गर्न पनि नेकपाले माग गरेको छ ।

कोरोना महामारीको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर आवश्यक स्वास्थ्य सतर्कता अपनाई भौतिक दूरी कायम गर्दै बाढीग्रस्त क्षेत्रमा उद्धार तथा सक्दो राहत वितरणकार्यमा जुट्न नेकपाले पार्टीपङ्क्तिलाई निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :