जीवनको अन्तिम क्षणसम्म सहिदले देखाएको बाटोमा लडिरहनेछु : सुदर्शन

नख्खु कारागारमा मनाइयो सहिद रामवृक्ष स्मृति दिवस

काठमाडौँ : हाल नख्खु कारागारमा रहेका नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले रामवृक्ष यादवलगायत सहिदहरूले कोरेको बाटोमा जीवनको अन्तिम क्षणसम्म पनि अघि बढिरहने र लडिरहने बताएका छन् ।

नख्खु कारागारमा मङ्गलबार आयोजित सहिद रामवृक्ष यादवको स्मृतिमा आयोजित कार्यक्रममा नेकपा नेता सुदर्शनले रामवृक्ष यादव बलिदान र त्यागको प्रतीक भएको बताए । उनले भने, ‘रामवृक्ष यादवले आफ्नो परिवारका ७ जना (श्रीमती रामकुमारी यादव, छोरा शेखर यादव, ज्वाइँ डम्बर यादव, भाइहरू हरि, रामजुलुम यादव र हरि यादव) लाई क्रान्तिमा लगाउनुभएको थियो र साम्यवादी समाजको सुरुआत आफैँबाट गर्नुभएको थियो ।’

उनले भने, ‘यादवले मालेमावादी साम्यवादको लक्ष्य पूरा गर्न आफैँबाट सुरु गर्नुभएको थियो । मालेमावादलाई दरोसँग पकडेर समाजमा लागू गर्न कोसिस गर्नुभएको थियो । रामवृक्ष यादवको अर्को विशेषता भनेको सुविधा लिन पछि पर्ने र कठिनाइको सामना गर्न अघि बढ्ने हो ।’

रामवृक्षको बाटोमा अघि बढेका छौँ भन्नेहरू यादवका सपना र उद्देश्यभन्दा ठीक विपरीत गएको भन्दै नेता सुदर्शनले सत्ताधारी र नामधारी कम्युनिस्टहरूले यादवलगायत १० हजार सहिदहरूको रगतमाथि होली खेलेकाले मालेमावादको विकास, प्रयोग र रक्षाका लागि निरन्तर अघि बढ्न यादवको स्मृति दिवसमा दृृढ प्रतिज्ञा पनि गरे ।

कार्यक्रममा पूर्वमाओवादी नेता सिर्जन राय यादवले रामवृक्ष यादव दुस्मनका यातना र जेलनेलका सामु नझुकेको र मालेमावादी साम्यवादप्रति अगाध विश्वास भएका कारण बरु ज्यान दिएको तर नडग्मगाएको बताए । कारागारमा बस्नेहरू धेरै अन्यायमा परेको प्रस्ट पार्दै उनले निर्दोषहरू पनि कारागारमा भएको बताए । उनले न्याय र वर्गीय मुक्तिका लागि रामवृक्ष यादवको बाटोमा अघि बढ्ने बताए । वर्तमान संसदीय व्यवस्था धमिराको घरजस्तो एउटै धक्काले ढल्नसक्ने गरी मक्किएको पनि उनको भनाइ थियो ।

नख्खु कारागारमा मङ्गलबार भएको कार्यक्रममा यादवको तस्बिरमा माल्यार्पण गरिएको थियो । उमेश खत्रीको सञ्चालनमा भएको कार्यक्रममा सूर्य तिमिल्सिनाले स्वागत भाषण गरेका थिए ।

आज अर्थात् भदौ २ गते तत्कालीन नेकपा (माओवादी) का नेता सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवस हो । धनुषाको बर्मझियामा जन्मिएका यादवलाई तत्कालीन शेरबहादुर देउवा सरकारको संरक्षणमा काङ्ग्रेसी गुन्डाहरूले बर्मझियामै हत्या गरेका थिए । २०५१ साल भदौ १ गते नेपाल बन्दको कार्यक्रम सकेर भोलिपल्ट भदौ २ गते वीरेन्द्रबजारबाट घर फर्कंदै गर्दा सादा पोसाकमा रहेका प्रहरी र नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले घरेलु हतियार प्रयोग गरी बीभत्स तरिकाले यादवको हत्या गरेका थिए ।

नेपालमा जनयुद्ध सुरुआतको समयमा केन्द्रीय तहबाट भएको यो ठूलो बलिदान थियो । तराईमा माओवादीको प्रभाव विस्तार रोक्ने देशी–विदेशी षड्यन्त्रमा यादवको हत्या भएको माओवादी निष्कर्ष थियो । रामवृक्ष यादवको हत्या भएको आज २६ वर्ष पुगिसकेको छ । रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा महान् क्रान्तिकारी योद्धा, नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा तथा तत्कालीन महान् नेपाली जनयुद्धका पहलकर्ता रामवृक्ष यादवप्रति नेपाल कम्युनिस्ट पार्टीले श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेको छ । नेकपाले प्रत्येक वर्ष भदौ २ गते यादवको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :