एमसीसीविरुद्ध बजाइए रित्ता थाल


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध रित्तो थाल बजाएको छ । रूपन्देही जिल्लाका सैनामैना, बुटवल र भैरहवामा रित्तो थाल बजाएर विरोध प्रदर्शन गरिएको नेकपा रूपन्देहीले जनाएको छ ।

विरोध प्रदर्शनमा वक्ताहरूले एमसीसी परियोजना हिन्द–प्रशान्त रणनीतिसित सम्बन्धित रहेकाले नेपालमा अमेरिकी सेना ल्याएर चीनका विरुद्ध प्रयोग गर्न थालिएको, अमेरिकालाई जासुसी सेटेलाइट र मिसाइल चार्ज गर्न हाई भोल्टेज आवश्यक भएकाले विद्युत् परियोजना अगाडि सारिएको, पाल्पाको दोभानस्थित वसन्तपुर डाँडामा अमेरिकी जासुसी यन्त्रसहित सेना राख्न लागिएको र मुस्ताङको युरेनियम खानी कब्जा गर्ने उद्देश्यले एमसीसी सम्झौता संसद्बाट पारित गर्न लागिएको बताइएको थियो ।

कार्यक्रममा वक्ताहरूले एमसीसीको अर्को उद्देश्य दक्षिणएसियामा कम्युनिस्ट प्रभाव रोक्ने, नेपाली क्रान्तिलाई रोक्ने र दमन गर्ने नीति रहेको समेत बताएका थिए । उनीहरूले यसका विरुद्ध देशको स्वाधीनता र सार्वभौमिकताका पक्षमा देशभक्त नेपालीहरू सङ्घर्षमा उत्रिनुपरेको बताए ।

यसअघि नेकपा लुम्बिनी ब्युरोले एमसीसीका विरुद्ध पर्चा वितरण, पोस्टरिङ, कोणसभा, पुतलादहन, प्रदर्शनलगायत सङ्घर्षका कार्यक्रम सफल पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :