एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका ६ जना विद्यार्थी गिरफ्तार, अखिल (क्रान्तिकारी)द्वारा रिहाईको माग

काठमाडौँ : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै विरोधमा उत्रेका विद्यार्थीहरुलाई प्रहरीले काठमाडौँका सुन्धाराबाट गिरफ्तार गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी ६ जना विद्यार्थीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । एमसीसी राष्ट्रहितविरुद्ध भएको भन्दै नेकपा निकट जनवर्गीय संगठनहरुले शुक्रबार देशभर विरोध प्रदर्शन गरेका थिए ।

यसैबीच अखिल (क्रान्तिकारी)ले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर घरपकड तथा मदन गरेको भन्दै विरोध जनाएको छ । संगठनका उपत्यका विशेष क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर विकले शान्तिपूर्ण विरोध प्रदर्शनमा धरपकड र मदन गरेको भन्दै भत्सर्ना गर्दै रिहाईको माग गरेका छन् ।

संयोजक हर्कबहादुर विकले विज्ञप्तिमा भनेका छन्, ‘नेपालको राष्ट्रिय हितविरुद्धको राष्ट्रघाती अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना खारेजीको मागसहित नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनद्वारा आज काठमाडौको सुन्धारामा आयोजिक संयुक्त विरोध प्रदर्शनमा दलाल फासिवादी सरकारले व्यापक धरपकड र दमन गरेको छ । राज्यको यस्तो निकृष्ट, असहिष्णु, फासिवादी एवंम् राष्ट्रघाती चरित्रप्रति हामी घोर निन्दा एवं भत्र्सना व्यक्त गर्दर्छौ ।’

संयोजक विकले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘यसै सन्दर्भमा उक्त विरोध प्रदर्शन कार्यक्रमबाट दलाल सत्ताको प्रहरी प्रशासनद्वारा ६ जना युवा विद्यार्थीहरुलाई गिरफ्तार गरेको छ । अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रुपमा विरोध जनाउन पाउने सार्वभौम मान्यता विपरीत रहेको राज्यको यस प्रकारको फासिष्ट रवैयाको हाम्रो संगठन घोर निन्दा गर्दछ । गिरफ्तार सम्पूर्ण विद्यार्थीहरुलाई अविलम्ब रिहाइको लागि जोडदार माग गर्दछौं । अन्यथा आम युवा विद्यार्थीहरुलाई गोलबन्द गर्दै संघर्षको माध्यमबाट जवाफ दिन बाध्य हुे कुराको चेतावनी दिन चाहन्छौं ।’

विकले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘अन्त्यमा, राष्ट्रिय स्वाभिमान र देशको अस्मितालाई सत्ता स्वार्थमा लिलाम गर्ने राष्ट्रघाती दलाल एवं जनघाती प्रवृत्तिका विरुद्ध देशभक्तिपूर्ण आन्दोलनमा साथ र सहयोगको लागि हामी सम्पूर्ण देशभक्त युवा विद्यार्थीहरुलाई विशेष अपिल एवं आग्रह गर्दछौं ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :