निर्दोष व्यक्ति र जनतामाथिको मुद्दा फिर्ता लिन नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बैतडीले प्रेस विज्ञप्ति प्रकाशित गरी दोगडाकेदार गापा रिम बस्ने उत्तम जोशीले पार्टीविरुद्ध सुराकी गर्ने, मदिरा पिएर सर्वसाधारण जनतामाथि आतङ्क मच्चाउने अनैतिक कार्य गरेकाले उनलाई पार्टीले कारबाही गरेको प्रस्ट पारेको छ । इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनले विज्ञप्ति प्रकाशित गरी जोशीमाथि केन्द्रीय योजना अनुसार पार्टीले कारबाही गरेको भए पनि सर्वसाधारण जनता र कारबाहीमा सहभागी नभएका पार्टी कार्यकर्तामाथि किटानी दिइएकाले उक्त जाहेरी फिर्ता नलिइएमा अझ उच्च स्तरको कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी राष्ट्रघात, जनघात, सामाजिक विकृति–विसङ्गतिका विरुद्ध सङ्घर्षरत रहेको कुरा आमनेपाली जनसमुदायलाई अवगत नै छ । यसरी जनताको न्यायपूर्ण आवाजलाई दमन गर्ने जोकोही शोषक, सामन्त, भ्रष्टाचारीका विरुद्ध जनसङ्घर्ष गर्न हाम्रो पार्टी सदैव तयार छ । यही सिलसिलामा बैतडी दोगडाकेदार गापा रिम बस्ने नमराज जोशीका छोरा उत्तम जोशीले सत्ता र शक्तिको आडले जाँडरक्सीले मातेर स्थानीय जनतामाथि निर्मम तरिकाले कुटपिट गरी दादागिरी मच्चाउने, विभिन्न विकासे योजनाहरूमा चरम भ्रष्टाचार गरी जनविरोधी हर्कतहरू बढाएको र नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरूलाई सीआईडी–सुराकी गरी गिरफ्तार गराएको हुनाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको थियो र निज उत्तम जोशीलाई पटकपटक सम्झाइबुझाइ गर्दासमेत दिनदहाडै जनविरोधी हर्कतहरू बढाएको हुनाले चेतावनीस्वरूप पार्टीको केन्द्रीय योजनाअनुसार उत्तम जोशीलाई हाम्रो पार्टीले कारबाही गरेको कुरा जेठ ३० गतेको विज्ञप्तिमै उल्लेख गरेका थियौँ । आज पनि पुनः हाम्रो पार्टीले नै गरेको हो भन्ने जानकारी गराउन चाहन्छौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो कारबाहीलाई लिएर भ्रष्टाचारी, फटाहा उत्तम जोशीले कुनै आधार नभई बिनाकारण झूट्टा मुद्दा ज्यान मार्ने अभियोग लगाएर स्थानीय पाँचजना जनतालाई फसाएको छ । साथै हाम्रो पार्टीका सेती–महाकाली ब्युरो सदस्य कमरेड रामसिंह कुँवरको कुनै संलग्नता नहुँदा पनि झूटो किटानी मुद्दा हालेको हुँदा यस्ता झूट्टा मुद्दाहरूको र निज उत्तम जोशीका घृणित कार्यहरूको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । झूटा मुद्दामा फसाइएका निर्दोष स्थानीय जनताहरूलाई यथाशीघ्र ससम्मान रिहा गर्न जोडदार माग गर्दछौँ र हाम्रा सेम ब्युरो सदस्य क. रामसिंह कुँवर र स्थानीय जनताहरूका नाममा दायर गरिएको झूट्टा मुद्दा तत्काल फिर्ता गरेर आफ्ना आनीबानी सुधार गर्न उत्तम जोशीलाई निर्देशन गर्दछौँ ।’

विज्ञप्तिमा चेतावनी दिँदै भनिएको छ, ‘अन्यथा मिति २०७७।०२।२४ गतेको कारबाहीभन्दा पनि झन् सशक्त कडा खालको कारबाही गर्न बाध्य हुने चेतावनीसमेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’ विज्ञप्ति  सहित  :

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :