आगो र बारुद

कविता

गोविन्द गौतम बारुद हो
कुमार पौडेल बारुद नै हो
तिलाठी बारुद हो
महाकाली सन्धि आरडीएक्स नै हो
किन गरिरहेछौ बारुदको खेती ?
कोठी खोल÷गाँजा रोप
अफिम युद्धको तयारी गर
महोदय !
बारुदको खेती बन्द गर
बारुदको खेती भयानक हुन्छ
बारुदमा आगो सल्कन सक्छ ।

बारुद सल्क्यो भने के हुन्छ ?
बारुदको आगो
पर्सावलको घौरा होइन
तिम्रो मसाजकेन्द्रको मुस्कान होइन
तिम्री प्रेमिकाको नखरा पनि होइन
आगो मर्यादित नहुन सक्छ
आगो अनुशासित नहुन सक्छ
नाथुराम भोकले मरिरहेको बेला
मामदमारमा बारुद फलिरहेको छ
महोदय !
बारुदको खेती बन्द गर
बारुदमा आगो सल्किन सक्छ ।

लाहुरबाट लखेटिएको
अथवा दसगजामै ढलेको
अछामी तिरुवा कान्छो बारुद हो
दोहाबाट लखेटिएकी डोल्मा बारुद हो
कसले पठायो डोल्माहरूलाई दोहा ?
डोल्माको प्रश्न भयानक बारुद हो
महोदय !
तिम्रो लकरको विप्रेषण बारुद हो
तिमी धान रोप्दैनौ
सिंहदरबारमा बारुदको खेती गर्छौ
र लोकतन्त्र फलाउने कुरा गर्छौ
महोदय !
किन गर्छौ बारुदको खेती ?
बारुदमा आगो सल्किन सक्छ ।

भाडाको सिपाही बारुद हो
मगन्ते देश बारुद नै हो
कालापानी बारुद हो
भोको पेट बारुद हो
र नश्लवाद बारुदकै थुप्रो हो
दसगजा माटो होइन
अग्निरेखा हो, अग्निरेखा
अग्निरेखा भड्किन सक्छ
तिमी शासक हौ कि गल्लावाल ?
महोदय !
बारुदको गल्ला बन्द गर
बारुदमा आगो सल्किन सक्छ ।

निर्मला छोरी मात्र होइन
बारुद हो, बारुद
एमसीसी विकास होइन, बारुद हो
यती ‘ब्रान्डेड’ बारुद
ओम्नी ‘ब्रान्डेड’ बारुद
बारुदको बिस्कुन खतरनाक हुन्छ
महोदय !
बारुदको खेती बन्द गर
बारुदमा आगो सल्किन सक्छ ।

३२ जेठ, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :