मन्त्री अपहरणको भित्री कथा

अपहरणकारीलाई कारबाही गर्न चौतर्फी दबाब


काठमाडौँ : पूर्वआईजीपी सर्वेन्द्र खनाल, महेश बस्नेत र कृष्णकुमार श्रेष्ठले प्रम केपी वलीकै प्रत्यक्ष निर्देशनमा समाजवादी फोरम पार्टीका तर्फबाट स्वास्थ्यमन्त्री भएका पूर्वमन्त्री सुरेन्द्र यादवलाई अपहरण गरेको खुलासा भएको छ । डा. बाबुराम भट्टराईले बिहीबार बिहान काठमाडौँ, नक्सालबाट यादवलाई उद्धार गरेपछि अपहृत यादवले उक्त घटनाको खुलासा गरेका हुन् । खनाल प्रचण्डको आशीर्वादमा आईजीपी भएको बताइन्छ । सुरुमा वलीसँग सम्बन्ध राम्रो थिएन । विवादास्पद गतिविधिमा संलग्न खनाल प्रहरीको नेतृत्वमा रहँदा नै सरकारसँग अनुमति नलिईकन भारतीय सुरक्षा सल्लाहकार अजित गोयलसँग एउटा बैठकमा बसेर विवादास्पद अभिव्यक्ति दिएपछि सरकारले खण्डन गर्नुपरेको थियो । खनाललाई सी जिनपिङको नेपाल भ्रमणअगाडि नै बर्खास्त गर्ने योजना सरकारको भए पनि तारतम्य मिलेको थिएन । त्यहीबीच नेपाल प्रहरीको बन्दोबस्तीका सामान खरिद घोटालाकाण्डमा खनालका विरुद्ध अख्तियारमा मुद्दा पर्यो र त्यो अनुसन्धानकै प्रक्रियामा छ । त्यसपछि गोकुल बास्कोटामार्फत वलीसँग आत्मसमर्पण गर्न गएका खनाललाई प्रम वलीले धाप मार्दै ‘मुद्दा छिन्ने मान्छे भएर जानुपर्छ’ भनेपछि खनाल प्रचण्ड गुट छोडेर वलीतिर लागेका हुन् ।

प्रेम राई पनि अख्तियार प्रमुखका दाबेदार छन् । वलीले दुवैलाई हरियो घाँस देखाएको र कसलाई कता लग्ने ढुङ्गो नलागेको स्रोतको दाबी छ । अख्तियार प्रमुख बन्नका लागि वलीको विश्वास जित्न गृहमन्त्रीलाई थाहै नदिईकन नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या खनालकै अङ्गरक्षकबाट भएको एकजना पूर्वमाओवादी नेताको दाबी छ । सर्लाही हत्याकाण्डपछि वली र सर्वेन्द्र खनालको सम्बन्ध सुध्रिएको ती नेता बताउँछन् । समाजवादी फोरम विभाजित गर्ने र राजपालाई सरकारमा ल्याउने काम फत्ते गरेर देखाएपछि अख्तियारको पद सुरक्षित गरिदिने आश्वासन पाएपछि खनाल मन्त्री अपहरण गर्न हौसिएको स्रोतको दाबी छ । सुरुमा यो काम गोकुल बास्कोटालाई दिइएको बताइएको छ ।

पूर्वएमालेका तर्फबाट तनहुँमा रामचन्द्र पौडेललाई पराजित गरेका ‘किसन’ भनिने कृष्णकुमार श्रेष्ठ जग्गा दलाल हुन् । उनको काठमाडौँको थानकोट, चितवन, दमौलीलगायत विभिन्न स्थानमा जग्गा व्यापार छ । उनी र केदार श्रेष्ठ (रविभवन) मिलेर रसुवाको हिमालय मिनरल वाटर दलाली गरी कोरियन कम्पनीलाई बेचेका र अजय सुमार्गीसँग मिलेर कोरियनलाई लखेटेका थिए । कृष्णकुमार श्रेष्ठ (किसन) एकजना ठेकेदार, दलाल र कमिसनखोर व्यापारी हुन् । त्यसैगरी महेश बस्नेत वली गुटका गुन्डा नाइके मानिन्छन् । प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ (प्ररायु सङ्घ) हुँदाहुँदै केपी वलीले गुट सुदृढ गर्न ‘युथ फोर्स’ गठन गरेका थिए । उक्त सङ्गठन एमाले पार्टीको नभएर वली गुटको एकल गुन्डा दल थियो । यसरी सर्वेन्द्र खनाल, कृष्णकुमार श्रेष्ठ र महेश बस्नेत मिलेर प्रलोभन र मधेस आन्दोलनको मुद्दा खोतलेर जेल पठाउने धम्की दिएर अपहरणकाण्ड रचेको देखिन्छ ।

पूर्वमाओवादीमा ध्रुवीकरण

अध्यादेश र अपहरणकाण्डपछि प्रचण्ड र रामबहादुर थापाका बीचमा पटकपटक भेटघाट भएको छ । थापा जनार्दन शर्मा ‘प्रभाकर’ को उक्साहटमा आफूलाई असहयोग गरेको र गृहमन्त्रीबाट हटाउन खोजेकाले टाढिन पुगेको गुनासो गर्दै बिनानिष्कर्ष छुट्टिएका थिए । बिहीबार साँझ पम्फा भुसालको पहलमा प्रचण्ड, थापा, हितमान शाक्य, प्रशान्त र पथिकसहित भएको छलफलपछि पूर्वमाओवादीहरूबीच ध्रुवीकरण गरेर जाने सहमति भएको बताइएको छ । अध्यादेशकाण्ड र अपहरणकाण्डपछि पूर्वमाओवादी र नारायणकाजी गुटमा यस्तो अवस्थामा त्यही पार्टी र नेता भनेर बसिरहनु अनैतिक हुन्छ भन्ने बहस चल्न थालेको छ । प्रचण्ड, किरण र विप्लव मिलेर पूर्वमाओवादी गुट निर्माण गर्नुपर्छ भन्ने दक्षिणपन्थी, अवसरवादी चर्चा पनि चलाइएको छ ।

वलीको गणित कमजोर

प्रवेशिका परीक्षा (एसएलसी) अनुत्तीर्ण भएका प्रम वली दलीय चलखेलको जोडघटाउमा पनि कमजोर साबित भए । मधेसवादी दल फुटाएर गृहमन्त्री थापासहित ४० प्रतिशत पुर्याएर पूर्वएमाले ब्युँताएर माधव नेपाल र झलनाथ खनाललाई पनि दबाबमा पार्ने वली गणित कमजोर देखियो । जता बहुमत उतै ढल्कने थापा प्रवृत्तिलाई आफ्नो गुटमा आएको देख्नुमा वलीको भयानक मनोगत धारणा र कमजोर सल्लाहकार टोली साबित बन्न पुग्यो । वली–थापा विभाजित समाजवादीको सरकार बनाउने, एमसीसी पक्षधर सरकारको नेतृत्व गर्ने र काङ्ग्रेसको माग पूरा गर्ने वली रणनीति तुहिन पुग्यो जसको कारण वली ईश्वर पोखरेलबाहेक पार्टीमा सबैको समर्थन गुमाउन पुगे ।

अविश्वासको प्रस्ताव आउनसक्ने

आफ्नाविरुद्ध अविश्वास प्रस्ताव आउन लागेको सूचना पाएपछि भ्रष्मासुरे कदम चालेका वली पार्टीभित्र र बाहिर घेराबन्दीमा परेको देखिन्छ । जारी अध्यादेश फिर्ता लिए पनि उनी अप्ठ्यारोमा परेका छन् । आगामी बजेट पारित गरेपछि वलीका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने र माधवकमुार नेपाललाई प्रधानमन्त्री बनाउने मोटामोटी सहमति छ । नेपाल प्रम भएपछि प्रचण्डले पार्टी नेतृत्व गर्नेछन् । प्रचण्डलाई प्रम बनाउँदा वली पक्षले पूर्वएमालेलाई भड्काउन सक्ने नेताहरूको बुझाइ छ ।

केपी वलीको नेतृत्वमा एमसीसी परियोजना पक्षधरहरूको ध्रुवीकरण पार्टीभित्र र बाहिर गर्ने देशी–विदेशी स्वार्थ समूहको तत्कालको रणनीति असफल भएको देखिन्छ । भारत निकट भनिएका नेताहरू वली गुटभित्रबाट निस्कनु, काङ्ग्रेस वलीविरुद्ध खरो रूपमा उत्रनु र मधेसवादी दलहरूबीच रातारात ध्रवीकरण हुनुले पश्चिमी तथा अमेरिकी प्रभावका सामु एसियाली शक्तिहरू नेपालको राजनीतिक शक्तिसङ्घर्षमा हाबी भएको ठानिएको छ । यद्यपि संविधानको नैतिक बल घटेको छ र अस्थिरताको बीजरोपण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :