जनताको अपहरण गर्न र पार्टी फुटाउन छोडेर कोरोनाविरुद्ध सहकार्य गर : जनस्वास्थ्यकर्मी महासङ्घ


काठमाडौँ : अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई जनताको हत्या, अपहरण र पार्टी फुटाउने घृणित कार्य गर्न छोडेर कोरोना भाइरसको सङ्क्रमणविरुद्ध आफ्नो सङ्गठनलगायत सबैसँग सहकार्य गर्न आह्वान गरेको छ । महासङ्घका अध्यक्ष टीकाप्रसाद कँडेलले विज्ञप्ति जारी गरी देश र जनताविरुद्ध भ्रष्टाचार गर्नेहरूलाई महामारी साम्य भएपछि कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

कँडेलले विज्ञप्तिमा भनेका छन्, ‘विभिन्न सङ्घर्ष र आन्दोलनका चरणहरू पार गर्दै हाम्रो गौरवशाली सङ्गठन अहिले महामारीका विरुद्ध पनि विभिन्न आवरण र शैलीमा जनताको पीडामा मलम लगाइरहेको छ । प्राविधिक कठिनाइलाई झेल्दै सङ्गठन सक्रिय रहेको छ । कोरोना महामारीले यो दलाल पुँजीवादी सरकारलाई पूर्ण रूपमा नङ्ग्याएको छ । महामारीको यस्तो डरलाग्दो परिस्थितिमा पनि सरकार नाङ्गो रूपमा भ्रष्टाचार, अपहरण, अन्य दल फुटाउने फोहोरी खेलमा प्रस्तुत भइरहेको छ । हिजो हामीलाई खुला रूपमा भ्रष्टाचारको विरोध गर्न नदिएर हाम्रो गौरवशाली पार्टी र सङ्गठनलाई प्रतिबन्ध लगाएर होस् वा कुमार पौडेलजस्ता होनहार नेताहरूको हत्या गरेर होस् दलाल सत्ताले आफ्नो फासिवादी चरित्र उदाङ्गो पारेको थियो ।’

उनले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘कोरोना महामारीले आक्रान्त पारेको यो घडीमा स्वास्थ्य सामग्री होस् वा महामारीको अग्रपङ्क्तिमा रहेर दिनरात सेवा गर्ने चिकित्सकका विषयमा सरकारले देखाएको भ्रष्ट, दलाल रूपका साथै अन्य पार्टी फुटाउने र नेताहरूलाई अपहरण गर्ने सरकारको फासिवादी रूप छताछुल्ल भएको छ । हामी चाहन्छौँ– सरकार यी सबै किसिमका घिनलाग्दा फोहोरी खेल छोडेर जनताको सेवाका निम्ति हाम्रो सङ्गठनका साथै अन्य पार्टी, सङ्गठन, विभिन्न, सङ्घसंस्था, नागरिक समाज, बुद्धिजीवीसँग सहकार्य गरोस् र कोरोनाविरुद्धको लडाइँमा विजय प्राप्त गर्दै जनताको मन जितोस् । हाम्रो सङ्गठन र साथीहरू देशको सबैभन्दा जटिल र कठिन बस्ती र गाउँहरू जहाँ सरकारलाई पनि पुग्न अप्ठ्यारो परेको छ, त्यहाँ गएर जनताको सेवा गर्न चाहन्छन् र कोरोनाविरुद्धको लडाइँमा सङ्गठन अन्य किसिमका सङ्घर्षलाई स्थगित गर्दै सरकारसँग सहकार्य गरी बिरामी, निमुखा सामान्य अस्पतालसम्म जान नसक्ने जनताको सेवामा अग्रसर हुन चाहन्छ ।’

कँडेलको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कोरोना महामारीको यो डरलाग्दो परिस्थितिको गलत फाइदा उठाएर भ्रष्टाचार, कालोबजारी, अपहरणजस्ता कार्यमा निर्देशन दिने साथै संलग्न हुने जोकसैलाई सङ्गठन यो कठिन परिस्थितिपछि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिन चाहन्छ । यस कठिन परिस्थितिमा आफ्नो परबाह नगरी सेवा गर्नुहुने डाक्टर, नर्स र अन्य चिकित्सा पेसाका साथीहरू, सञ्चारमाध्यमबाट सचेतना जगाउनुहुने सञ्चारकर्मी साथीहरू, अहोरात्र कर्तव्य पालन गर्ने प्रहरीहरू, बुद्धिजीवी र नागरिक अगुवाहरूका साथै उच्च मनोबलसहित एकान्तबासमा रही आफ्नो परिवार, समाज र राष्ट्रलाई माया गर्नुहुने सङ्क्रमित साथीहरूप्रति हाम्रो गौरवशाली सङ्गठन हार्दिक सम्मान व्यक्त गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :