क्रान्तिको झन्डा सगरमाथाको चुचुरोमा फर्फराउनेछ

नेपालमा धेरैपटक सशस्त्र र निःशस्त्र आन्दोलन, सङ्घर्षहरू भए । ती आन्दोलन र सङ्घर्षबाट प्राप्त उपलब्धिहरू संस्थागत गर्न नसकेका कारण नेपाली जनताको हितमा संविधान बन्न सकेनन् । मुख्यतः दस वर्षको जनयुद्ध स्मरणयोग्य छ ।

वर्गविभाजित समाजलाई वर्गविहीन बनाउन, पुरानो राज्यसत्ताबाट हेपिएका, चेपिएका, थिचोमिचोमा परेको वर्गलाई मुक्ति दिलाउन, धनी र गरिबबीचको असमानता मेटेर समान बनाउन, भूमिहीन सुकुमबासीहरूलाई थोरै भए पनि जमिनको मालिक बनाउन, जनताका आधारभूत समस्याहरू गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार र मनोरञ्जनको ग्यारेन्टीका लागि भनेर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ साल फागुन १ गतेबाट जनयुद्धको उद्घोष गरिएको थियो । ‘बलिदान क्रान्तिको ऊर्जा हो’ भन्दै मरे सहिद जिते संसार भनेर शिरमा रातो कफन बाँधी सुन्दर समाज निर्माण गर्न योद्धाहरु महासमरमा हामफाले । महान् जनयुद्धका क्रममा दसौँ हजार नेपाली जनताका छोराछोरीहरूले जीवन उत्कर्ष गरे भने तत्कालीन राज्यले हजारौँ योद्धाहरू बेपत्ता बनाएका छन् र सयौँ योद्धाहरू घाइते, अपाङ्ग भएर बाँच्नुपरेको छ । बन्दुकको नालमा टिकेको राज्यसत्तालाई बन्दुकको नालबाट नै निर्मूल गर्नुपर्छ भन्ने मान्यता बोकेर सयौँ वर्षसम्म थिचोमिचोमा रहेका जनतालाई मुक्ति दिलाउनुपर्छ भन्दै व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिँदै महान् जनयुद्धमा स्वस्फूर्त लामबद्ध भए । जनयुद्धले एकपछि अर्को छलाङ मार्दै सफलताको शिखर चुम्न अगाडि बढ्दै थिए भने आमशोषितपीडित जनता माओवादी पार्टीप्रति विश्वास गर्न थाले । महान् जनयुद्धको उद्देश्य सीमित मुठीभर मान्छेलाई कुर्सीमा पुर्याउनका लागि मात्र थिएन, आंशिक परिवर्तन गरेर जनतालाई झुक्याउन पनि थिएन । जनयुद्धको उद्देश्य त सबै किसिमका अन्याय–अत्याचारबाट मुक्ति पाउने, सबै किसिमका विभेदको अन्त्य गर्ने, छुवाछूत मुक्त समाजको निर्माण गर्ने, राष्ट्रलाई स्वाधीन बनाउने सयौँ वर्षसम्म जन्जिरले बाँधेर राखेको जनतालाई मुक्त गर्ने, सम्पूर्ण जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक र अधिकारको सुनिश्चित गर्ने, पुरानो राज्यसत्तालाई ध्वस्त बनाई नयाँ र वैज्ञानिक व्यवस्था ल्याउने, राज्यसत्ताको मालिक मुठीभर मान्छे होइन, जनता नै राज्यसत्ताको मालिक बनाउने भन्ने थियो ।

महान् जनयुद्धले सफलता हासिल गर्दै गर्दा निरङ्कुश प्रतिक्रियावादी सामन्तीहरूको मुटुमा सात रेक्टरको भूकम्पको कम्पन गइरहेको थियो । मुख्यतः २४० वर्षसम्म जनतालाई दास बनाउने सामन्तवादलाई जनयुद्ध पचाउन गाह्रो भैरहेको थियो भने संसदीय व्यवस्थाको उपयोग गरी संसदीय व्यवस्थालाई मागी खाने र लुटी खाने भाडो बनाउने संसद्वादी दलहरूलाई पनि फलामको चिउरा साबित भएको थियो । जनयुद्ध भीषण ढङ्गले अगाडि बढ्दै गर्दा आम सर्वहारावर्ग र शोषित–पीडित जनताको आशाको केन्द्र बन्दै गर्दा प्रतिक्रियावादी राज्यसत्ताले किलो सेरा टु, जङ्गल अप्रेसन र कथित सङ्कटकाल लागू गर्दै जनतामाथि बर्बर दमन गरी निहत्था जनताको कत्लेआम गरियो । यी सबै बर्बर दमनको प्रतिरोध गर्दै जनयुद्ध नदीको वेगझैँ, समुद्री सुनामीझैँ उर्लेर दुस्मनलाई खरानी बनाउँदै संसारलाई नै चकित र आश्चर्य पार्दै अगाडि बढिरहेको थियो । देशीय सामन्त प्रतिक्रियावादी राज्यसत्ता मात्र होइन, मै हुँ भन्ने साम्राज्यवादी शक्तिहरूको पनि मुटु हल्लिसकेको थियो । जनयुद्ध सतिसालझैँ उभिँदा जनयुद्धलाई दमन गर्न तत्कालीन शाहीसेना मात्र परिचालन गरिएको थिएन, साम्राज्यवादका भाडाका कुत्ताहरूसमेत परिचालन गरिएको थियो । अत्याधुनिक हातहतियारले सुसज्जित शाही साम्राज्यवादी भाडाका टट्टुहरू मालेमावादको विचारयुक्त जनताको सेना जनमुक्ति सेनाको अगाडि निरीह र निकम्मा साबित भए । प्रतिक्रियावादी शाहीसेनाहरू निश्चित सदरमुकाम र निश्चित तारबारभित्र खुम्चिन बाध्य भए ।

जनताको आफ्नै सेना, आफ्नै जनसत्ता, आफ्नै जनअदालत स्थापना भए । ग्रामीण जनताले शान्ति र अमनचैन महसुस गरे भने घूसखोरी, भ्रष्टाचारी, सूदखोर, दलाल र बलात्कारीहरूको भागाभाग मच्चियो । महान् जनयुद्धले नेपाली जनताको मात्र होइन, विश्वभरिका श्रमिक सर्वहारा जनताको मन जितिरहेको थियो । न्याय र समानताका पक्षमा उभिने जनताले सामन्ती प्रतिक्रियावादी राज्यसत्ताको विकल्प पूर्ण जनवाद, समाजवाद हुँदै महान् साम्यवादी व्यवस्था मात्र अन्तिम विकल्प हो, अरू सबै भ्रम हो भन्दै महान् जनयुद्धलाई आआफ्नो ठाउँबाट साथ, सहयोग र समर्थन गर्दै गर्दा माओवादीले ८० प्रतिशतभन्दा बढी भूभाग आफ्नो कब्जामा लिइसकेको थियो । यो युद्धरत माओवादीले भनेको होइन, त्यतिबेलाको राज्यसत्ताको उनैका मालिक साम्राज्यवादीले भनेका हुन् ।

जनयुद्धको प्रत्याक्रमणको दोस्रो चरणको रणनीतिक योजनाअनुसार दुस्मनको ढाटमा टेकेर टाउकोमा हान्ने भन्ने थियो । त्यो योजनाले नेपाली क्रान्तिलाई विजयको सन्निकट पुर्याइसकेको थियो । ग्रामीण भूभाग पुरै खाली भई जनताको सत्ता चलिसकेको थियो भने पुरानो राज्यसत्ता सीमित घेराभित्र मात्र बाँकी थियो । भनौँ काठमाडौँ उपत्यकामा मात्र पुरानो राज्यसत्ता खुम्चिएको थियो । त्यो सीमित घेरा तोड्नका लागि जनमुक्ति सेनाहरू पश्चिम दिशाबाट थानकोट, दक्षिणबाट पनौती, उत्तरबाट साँखु र पूर्वबाट बनेपा हुँदै अगाडि बढ्दै गर्दा दुस्मनहरूले हरेस खाइसकेका थिए । जनयुद्ध सुरु हुँदा गुलेली चलाउन नजान्नेहरूले बन्दुक चलाउन जान्दछन् र ! भन्नेहरू आच्छुआच्छु भैसकेका थिए ।

खुनी शासकहरूको लुटी खाने स्वर्ग ध्वस्त बनाउँदै जनताको सुन्दर संसार निर्माण अथवा विजयको नजिकैनजिकै पुग्न लाग्दा जनयुद्धको नेतृत्व गर्नेहरुमा विचलन देखियो । नेपालीको उखान बनको बाघले खाओस्–नखाओस्, मनको बाघले खायो भने जस्तै पूरै डराएर क्रान्तिलाई विसर्जन गर्नतिर लाग्यो । दुस्मनसँग आत्मसमर्पण गर्दै भिक माग्न थाल्यो । विचार र आस्थाबाट विमुख हुँदै गयो । देशी–विदेशी प्रतिक्रियावादी मोहजालमा फस्दै गयो । त्यसैको सेरोफेरोमा साम्राज्यवाद र विस्तारवादको डिजाइनमा नेपालको क्रान्तिलाई इतिहासबाट नामेट गर्ने योजनाभित्रै तत्कालीन संसद्वादी दलहरूसँग १२ बुँदे सम्झौता भयो । १२ बुँदे सम्झौताअनुसार जनमुक्ति सेनालाई क्यान्टोनमेन्टमा राख्ने र त्यसको रेखदेख साम्राज्यवादकै गोटी संयुक्त राष्ट्रसङ्घको मातहतमा राख्ने निर्णय गरियो । फलस्वरूप जनयुद्धको महत्वपूर्ण उपलब्धि जनमुक्ति सेनालाई क्यान्टोनमेन्टमा राख्यो, जनसत्ता विघटन गर्ने निर्णय गर्यो । जनअदालत र जनकम्युनहरू खारेज गर्दै लग्यो । जनयुद्धको बेला भूमाफिया र दलालहरूको जग्गा कब्जा गरी सुकुमबासीलाई वितरण गरिएको थियो । त्यसपछि पुनः सुकुमबासीलाई उठिबास लगाई भूमाफियाको जग्गा फिर्ता गरियो । अब क्रान्ति नयाँ ढङ्गले अगाडि बढ्छ भन्ने भ्रम छरेर जनमुक्ति सेनालाई पिँजडाको सुगाझैँ पिँजडाभित्र हुलेर हतियारबाट अलग बनाइयो । आफ्नै साथीहरूको रगतसँग साटिएको हतियार आफैँबाट अलग गर्दा कति पीडा भयो ? त्यो प्रचण्डजस्तो लालगद्दारलाई मतलब भएन । विश्व–सर्वहारा वर्गका महान् नेता कमरेड माओ त्सेतुङले भन्नुभएझैँ सेना नभएको जनतासँग आफ्नो भन्नु केही हुँदैन । तर प्रचण्डजस्ता लालगद्दारहरूले यो कुरा बुझेनन् । आखिरमा आफैँले जन्माएको बच्चाको हत्या गरेरै छाडे । जनताबाट समेत विश्वास गुमाएका माधव नेपालहरू प्रचण्डका लागि खाँचो भयो । माधव नेपाललाई मनोनीत सभासद् बनाएर २०६६ सालमा प्रधानमन्त्री बनाए । आफैँले पालेको कुकुरले आफैँलाई टोक्छ भनेजस्तै माधव नेपालले प्रचण्डलाई कुकुरलाई जति पनि भाउ नदिएपछि प्रचण्ड बहुलाए । त्यसको बदला लिन प्रचण्डले गाउँगाउँबाट सोझासीधा जनता लगेर काठमाडौँमा थुपारे र यो अन्तिम क्रान्ति हो भन्दै झुक्याए । अन्तिममा विभिन्न बहानामा बेखर्ची बनाएर जनतालाई भिजेको मुसाजस्तो पारेर गाउँ फर्काए । केही सुकिलामुकिलाहरूको धम्कीबाट डराएर मर्न हिँडेका जनतालाई बिचल्ली बनाए ।

कथित शान्तिप्रक्रियाको नौटङ्की गर्दै एउटा क्रान्तिकारी पार्टीलाई सुधारवादमा लगेर फसाइयो । पार्टीभित्रका सच्चा क्रान्तिकारीहरूले प्रचण्ड–बाबुराममण्डलीलाई खबरदारी गरिरहे तर साम्राज्यवादी डलरको स्वाद चाखिसकेका प्रचण्डहरूले के मान्थे र ! दुई लाइन सङ्घर्षको बहाना बनाई आफ्नै सहयोद्धाहरूलाई सिध्याउनतिर लागे ।

अन्तिममा केही सीप नलागेपछि र प्रचण्ड–बाबुरामहरू सुध्रिने छनक नदेखेपछि २०६९ असारको पहिलो साता बौद्धको भेलाले विप्लवलगायत सच्चा, क्रान्तिकारी, बफादारहरुसहित नेताले मोहन वैद्य ‘किरण’ को नेतृत्वमा पार्टी पुनर्गठन गरे । बौद्ध भेलाले जनयुद्धको जगमा जनविद्रोह भन्ने कार्यदिशा प्रस्तावित गर्यो तर त्यो कुरामा मात्र सीमित भयो । आलटाल गर्दागर्दै कार्यकर्ताहरू सिद्धिँदै गए, माखो मार्ने देखिएन । एकपटक माओले भन्नुभएको थियो, ‘कार्यदिशा सही वा गलत हुनुले सबै चीजको निर्धारण गर्छ । कार्यदिशा सही भयो भने नभएको चीज पनि सजिलै प्राप्त हुन्छ, गलत भयो भने भएको चीज पनि गुम्छ ।’ आखिरमा त्यस्तै देखियो । वैद्यले पनि केही गर्ने छाँट नदेखेपछि २०७१ मङ्सिर ८ गते तत्कालीन आदरणीय पार्टी सचिव कमरेड विप्लवको नेतृत्वमा नवीन कार्यदिशा एकीकृत जनक्रान्तिको साथमा पार्टी पुनर्गठन गर्दै २०७१ पुस २३ देखि २७ सम्म दाङमा राष्ट्रिय सम्मेलन भव्य रूपमा सफल भयो र एकीकृत जनक्रान्तिको कार्यदिशालाई पार्टीको महाधिवेशनले पूर्णता दिने निर्णय गर्यो ।

२२ औँ जनयुद्ध दिवससँगै पार्टीको ऐतिहासिक आठौँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा पचासौँ हजार जनता र कार्यकर्ताका बीचमा उद्घाटन गर्दै बन्दसत्र ऐतिहासिक रोल्पाको थबाङमा सम्पन्न भयो । थबाङको त्यो आठौँ महाधिवेशनले एकीकृत जनक्रान्तिलाई उचाइमा पु¥याउने र जनयुद्धबाट बाँकी रहेको क्रान्तिलाई पूरा गर्ने दृढसङ्कल्प लिएर प्रचण्डहरूले छोडेर भागेको क्रान्तिको झन्डालाई उठाउने, सहिदको सपना पूरा गर्ने, घाइते, अपाङ्ग तथा बेपत्ता योद्धाहरूको आकाङ्क्षालाई पूरा गराइछाड्ने प्रतिबद्धतासहित एकीकृत जनक्रान्तिमार्फत दलाल संसदीय व्यवस्थाको अर्को विकल्प वैज्ञानिक समाजवादको स्थापना गर्दै महान् साम्यवादमा पुग्ने अठोट गरियो ।

एकीकृत जनक्रान्तिलाई व्यवहारमा लागू गर्ने क्रममा नामुद भ्रष्ट र दलालहरूमाथि कारबाही गर्दै जाँदा मुख्य दलालहरूको निद्रा समाप्त भएको छ । करछली गर्ने विदेशी दलालहरूको कम्पनी एनसेलमाथि धावा बोल्दा जनताको लोकप्रिय बन्दै गएको पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि कथित कम्युनिस्ट नामको सरकारले प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाएपछि स्थायी समिति सदस्य कमरेड सुदर्शनलगायत सयौँ नेता–कार्यकर्ता जेल–हिरासतमा सङ्घर्ष गरिरहेका छन् । केही कायर मानसिकता भएका सिल्लीहरू दुस्मनसँग आत्मसमर्पण गरेर भागे । प्रतिबन्ध लगाइएको एक वर्ष बितिसकेको छ तर ती दलालका मतियार केपी–प्रचण्डलाई प्रतिबन्ध निल्नु न ओकल्नु भएको छ । गौरवशाली एवम् जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धले केही कायर मानसिकता भएका मान्छेबाहेक अन्यलाई असर गरेको छैन । मृत्युलाई सहर्ष स्वीकार गर्ने जुझारु नेता–कार्यकर्ता जनतासँग खुला तरिकाले बहस र छलफल गरिरहेका छन् । आमशोषित–पीडित, बौद्धिक र शिक्षित वर्गले महासचिव विप्लव र नेकपालाई आशाको केन्द्र मानेका छन् भने एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद ल्याइछाड्ने र लालगद्दारहरूले रद्दीको टोकरीमा मिल्काएको क्रान्तिको झन्डालाई सगरमाथाको चुचुरोमा फर्फराइछाड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :