चीनको बुहानबाट फर्किएका डाक्टर भन्छन्– ‘नेपाल युरोप हुने खतरा छ’

काठमाडौँ : विश्वभरि नै महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसबारे समयमै सतर्कता अपनाउन नसके कुनै दिन पनि दुर्घटना हुनसक्ने चेतावनी डाक्टरहरूले दिएका छन् । कोरोना भाइरसको उद्गम चीनको बुहानबाट फर्किएका डा. रमेश आचार्यले हल्ला बढी भए पनि नेपालमा पर्याप्त मात्रामा पूर्वतयारी निकै कम भएको बताएका छन् ।

काठमाडौँको संवाद डबलीमा सोमबार पत्रकार सम्मेलन गर्दै डा. आचार्यले युरोपले पूर्वतयारीमा लापर्बाही गर्दा अहिले महामारीको सामना गर्नुपरेको बताए । उनले त्यो अवस्था नेपालमा पनि नआउला भन्न नसकिने पनि प्रस्ट पारे । चीनले कोरोना भाइरससँग लडिरहेको बेला युरोपका केही देश पूर्वतयारीमा लाग्न छोडेर मिडियाले फैलाएको अफवाहमा रमाएको र त्यसैको परिणाम अहिले भोग्नुपरेको बताए । उनले भने, ‘हामी पनि अहिलेबाटै तयारीमा लागेनौँ भने कुनै बेला पनि दुर्घटना हुनसक्छ ।’ उनले कोरोना भाइरसबाट आतङ्कित हुनुभन्दा सतर्कता अपनाउनुपर्ने धारणा राखे ।

डा. आचार्यले केही दिनपहिले मात्र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर १२ बुँदे सुझावसहित ज्ञापनपत्र बुझाएका छन् । उनले ‘कोभिड १९ कोरोना भाइरसविरुद्ध जनताको सङ्घर्ष’ नारा दिएर आन्तरिक तयारीमा लाग्नुपर्ने, सातवटै प्रदेशका राजधानीमा आइसोलेसन वार्ड र कोरोना भाइरस पीसीआर टेस्टको परीक्षण केन्द्र स्थापना गर्नुपर्ने, भारतसँग जोडिएका सबै नाका बन्द गर्नुपर्ने, कम्तीमा ३० दिनको लागि अन्तर्राष्ट्रिय विमानस्थल, मन्दिर, गुम्बा, चर्च, विद्यालय बन्द गर्नुपर्ने सुझाव सरकारलाई दिएका छन् ।

घरबाट निस्केपछि नफर्किदासम्म मास्क लगाउनुपर्ने सुझाव दिँदै उनले विदेशबाट आएका विदेशी र नेपाली नागरिकलाई आइसोलेसनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरिनुपर्ने माग गर्दै उनीहरूको शरीरको तापक्रम नापेर हरेक दिन अभिलेख राख्न लगाउने, नमानेको खण्डमा सार्वजनिक स्वास्थ्यको प्रतिकूल असर पारेबापतको कसुरमा कारबाही गर्न डा. आचार्यले सरकारसँग माग गरेका छन् । साथै टेकु प्रयोगशालामा एक दिनमा कम्तीमा पनि दुई हजार पाँचजनाको स्वास्थ्य जाँच गर्ने व्यवस्था गर्नुपर्ने पनि बताएका छन् ।

कोरोना प्रभावित बुहानको थोङ्सी अस्पतालामा रिसर्चको काम गरेका डा. आचार्यले ‘एक व्यक्ति एक साबुन’ अभियान सुरु गर्नुपर्ने सुझाव दिँदै सबैलाई दिनमा दसपटकसम्म हात धुन सुझाव दिए । एकैपटक १०२ डिग्रीभन्दा माथि ज्वरो आएमा, तीनभन्दा बढी श्वासप्रश्वसमा समस्या देखिएमा कोरोनाको सङ्क्रमण हुनसक्ने भन्दै डा. आचार्यले समयमै जचाउन सुझाव दिए । त्यसैगरी एक परिवारमा एक थर्मोमिटर राखी नियमित ज्वरो जाँच गर्नुपर्ने सुझाव पनि आचार्यले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :