गिरफ्तार कार्यकर्तालाई बिनासर्त तत्काल रिहा नगरिए प्रतिरोध गर्ने नेकपाको चेतावनी

राष्ट्रिय सङ्कटका विरुद्ध लड्न र क्रान्तिकारी शक्तिलाई सहयोग गर्न सुरक्षा निकायलाई अनुरोध


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरोले पार्टीको कामको सिलसिलामा रहेका सगरमाथा ब्युरो सदस्य एवम् उदयपुर जिल्ला सेक्रेटरी जितबहादुर मगर ‘विक्रान्त’ लाई उदयपुरको गढी गाउँपालिका ७ अँधेरीबाट अपहरण शैलीमा गिरफ्तार गरी झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरेको भन्दै बिनासर्त तत्काल रिहाइको माग गरेको छ ।

झूट्टा मुद्दा लगाएर फसाउने सरकारी कदमको घोर भत्र्सना गर्दै ब्युरो इन्चार्ज अनुभव क्रान्तिले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्र र राष्ट्रियतामाथि देखापरेको सङ्कटका विरुद्ध लड्न र लडिरहेको क्रान्तिकारी शक्तिलाई सहयोग गर्न सुरक्षा निकायलाई समेत अनुरोध गर्दै अन्यथा निस्कने परिणामको जिम्मा लिन सम्बन्धित पक्षलाई चेतावनी दिइएको छ ।

अनुभव क्रान्तिको विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा यतिबेला कथित कम्युनिस्टको खोल ओढेको दलाल पुँजीवादी सत्ता कालोबजारी, भ्रष्टाचार, तस्करी, कमिसन र घूसखोरीको गोलचक्करमा फसेको छ । सत्ता र शक्तिको दुरुपयोग गर्दै सत्ताधारी मन्त्रीहरू, सांसदहरू र नेताहरू विभिन्न काण्डका मतियार बन्न पुगेका छन् जसको कारण चुनावी नाराबाट भ्रमित जनतामा तिनको असली अनुहार उदाङ्गो बनेको छ । जनताबाट चौतर्फी नाङ्गिनुका साथै राष्ट्रघात र जनघातमा समेत चुर्लुम्म छन् । राष्ट्र, राष्ट्रियता, जनजीविकाको पक्ष र भ्रष्टाचार, कमिसनखोरी, दलालीकरण र राष्ट्रघातका विरुद्ध बुलन्द आवाज उठाइरहेको र सङ्घर्ष गरिरहेको हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध एक वर्ष पूरा भए पनि शासकहरूका लागि नै अफापसिद्ध भएको छ । सत्ता र सत्ताधारी पार्टीभित्र चुलिँदै गएको सङ्कट टार्न दलाल सत्ता दमन, धरपकड र हत्यासम्म आइपुुगेको विदितै छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा पार्टीको कामको सिलसिलामा हाम्रो पार्टीका सगरमाथा ब्युरो सदस्य एवम् उदयपुर जिल्ला सेक्रेटरी कमरेड जितबहादुर मगर ‘विक्रान्त’ लाई आज बिहान गढी गाउँपालिका ७ अँधेरी, उदयपुरबाट अपहरण शैलीमा गिरफ्तार गरी झूट्टा मुद्दामा फसाउने राज्यको कदमको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । दमनले क्रान्ति नरोकिने सत्यप्रति सचेत रहन शासकहरूलाई सजग गराउँदै गिरफ्तार सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई बिनासर्त रिहा गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछ । राष्ट्र र राष्ट्रियतामाथि देखापरेको सङ्कटका विरुद्ध लड्न र लडिरहेको क्रान्तिकारी शक्तिलाई सहयोग गर्न सम्पूर्ण सुरक्षा निकायका मित्रहरूलाई अनुरोध गर्दै अन्यथा निस्कने परिणामको जिम्मा लिन सम्बन्धित पक्षलाई यही विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :