२५ औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना आदानप्रदान


काठमाडाैँ : क्रान्तिकारी विद्यार्थीमाथिको दमन र धरपकडको प्रतिरोध गरौँ ! वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि सङ्घर्ष गरौँ !! भन्ने नारासहित अखिल (क्रान्तिकारी) कैलाली ले २५ औँ महान् जनयुद्ध दिवसका अवसरमा जिल्लाका लम्की, घोडाघोडी, अत्तरियालगायत विभिन्न ठाउँमा ब्यानर प्रदर्शनसहित शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमा अखिल ( क्रान्तिकारी) कैलालीले विद्यार्थीलाई अबिर लगाएर चक्लेट वितरण गर्दै शुभकामना कार्यक्रम सप्पन्न गरेको छ । उक्त कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज बबरजङ सिंह, जिल्ला अध्यक्ष सुवास जोशीलगायतको उपस्थिति थियो ।

शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारीका केन्द्रीय सदस्य सिंहले महान् सहिदहरूले देखाएको मुक्तिकामी बाटोमा निरन्तर अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक फासिवादी सरकारले विद्यार्थी नेता–कार्यकर्तामाथी थुपरेको झूट्टा मुद्दा खारेज गरी दमन, धरपकड र विद्यार्थीमाथिको प्रतिबन्ध तत्काल हटाएर सहज वातावरण बनाउन आग्रह गरे । राष्ट्र र जनताको मुक्तिका लागि विगतदेखि नै विद्यार्थीहरूले अहम् भूमिका निर्वाह गर्दै आएको र महान् जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिसम्म हजारौँले बलिदानको कोटा चुक्ता गरी कलम र तारा अङ्कित रक्तरञ्जित झन्डा झुक्न नदिएको उनले बताए । आवश्यक परे फेरि पनि लाखौँको सङ्ख्यामा बलिदानीको कोटा चुक्ता गर्न आफूहरू तयार रहेको पनि उनले बताए ।

महँगी, भ्रष्टाचार, घुसखोरी, कालोबजारी, शैक्षिक माफिया, स्वास्थ्यमाफिया, चेली बेचबिखन र बलात्कारका विरुद्ध स्थापना कालदेखि नै अखिल (क्रान्तिकारी) ले सङ्घर्ष गर्दै आएको र फेरि पनि निर्मम भएर आफूहरू अगाडि बड्ने उनले बताए । यसमा विद्यार्थीको भव्य साथ, सहयोग, समर्थन र सदिच्छा रहनेमा आफू विश्वस्त रहेको उनले बताएका थिए ।

कार्यक्रमको अन्त्यमा २५ औँ महान् जनयुद्ध दिवसका अवसरमा सहिदहरूप्रति उच्च सम्मान, घाइते–अपाङ्ग योद्धामा शीघ्र स्वास्थ्यलाभको कामना, बेपत्ता योद्धाहरूमा सम्झना र एकीकृत जनक्रान्तिमा गोलबद्ध भै बन्दी जीवन बिताइरहेका सम्पूर्ण सहयोद्धा नेता–कार्यकर्तामा मिठो सम्झनासहित विद्यार्थी, शिक्षक, पत्रकार, सुरक्षाकर्मी, बुद्धिजीवी, नागरिक समाज, प्राध्यापक, किसान, मजदुर सबैमा २५ औँ ऐतिहासिक गौरवपूर्ण महान् जनयुद्ध दिवसको हार्दिक शुभकामना व्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :