२५ औँ जनयुद्ध दिवस भव्य रूपले मनाऔ


जनयुद्ध दिवस फागुन १ नेपाली इतिहासको गौरवपूर्ण दिन हो । हामी एकीकृत जनक्रान्तिको मैदानमा उभिएर २५ औँ जनयुद्ध दिवस मनाउने अवसरमा पुगेका छौँ । यस अवसरमा महान् सहिद, बेपत्ता योद्धा र घाइते योद्धाहरूप्रति स्मरण र श्रद्धा व्यक्त गर्न चाहन्छौँ । सारा सहिद तथा बेपत्ता योद्धा परिवारप्रति सम्मान प्रकट गर्दछौँ । सारा पार्टीपङ्क्ति, श्रमिक जनता एवम् मित्रहरूसँग शुभकामना आदानप्रदान गर्न चाहन्छौँ ।

महान् जनयुद्धले दलाल पुँजीवादी, संसद्वादी, सामन्ती तत्वहरूलाई समाप्त पार्दै नेपाली श्रमिक जनताको मुक्ति आन्दोलनलाई विजयको निकट पुर्यायो । विडम्बना ! नायक खोटो निस्कियो । मोर्चा हापिदिँदा जनताको छातीमाथि दलाल पुँजीपतिवर्गको सत्ता बज्रिन पुग्यो । सन्तोषको कुरा जनयुद्धका उत्तराधिकारीले क्रान्तिलाई पुनर्सङ्गठित गर्दै दलाल पुँजीवादी सत्ताका विरुद्ध एकीकृत जनक्रान्ति अगाडि बढाएका छन् ।

एकीकृत जनक्रान्तिले जनयुद्धमा टुटेको कडीलाई जोडेको मात्र छैन, क्रान्तिलाई नयाँ संश्लेषणसहित नयाँ उचाइ पनि दिएको छ । पराजयको नजिक पुगेका श्रमिक जनताले पुनः विजयको आरम्भ गरेका छन् । जनताको सत्ता, जनसेना र क्रान्तिका नयाँ आधारहरू प्राप्त गरेका छन् । क्रान्तिको यात्रामा कमरेड कुमार पौडेल, कमरेड नीरकुमार राई, कमरेड महान, कमरेड सनराइजसहित एक दर्जन कमरेडहरूको रगत बगिसकेको छ भने कमरेड सुदर्शन, वीरजङ्ग, शिलु, माइला, रणवीर, प्रज्वलन, आदर्श, मुकुन्द, सुवास, हितमान, बन्धुसहित सयाैँजना नेता–कार्यकर्ता कमरेडहरू जेल—हिरासतमा हुनुहुन्छ । हजारौँ नेता– कार्यकर्ताहरू क्रान्तिको मैदानमा दिनरात सङ्घर्षरत हुनुहुन्छ । क्रान्तिलाई श्रमिक जनता, राष्ट्रिय पुँजीपति, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, कम्युनिस्ट मित्रहरूको हार्दिकतापूर्ण सरसहयोग प्राप्त भइरहेको छ ।

एकीकृत जनक्रान्तिविरुद्ध केपी वलीको समाजिक दलाल पुँजीवादी सरकार र दलाल पुँजीवादी सत्ता फासिस्ट प्रकारले खनिएको छ । फासिवादले आफ्नो पराजयको त्रासका कारण हाम्रो जनप्रिय पार्टीमािथ औचित्यहीन प्रतिबन्ध थोपरेको छ । केपी सरकार दिन–प्रतिदिन जनतालाई लुट्ने, दमन गर्ने र देशलाई बेच्ने कुकर्ममा डुब्दै गएको छ । भ्रष्टाचार, कमिसनखोरी, तस्करी, महँगीबाट उदाङ्गिँदै गएको सरकार यतिबेला अमेरिकी अतिक्रमणकारी परियोजना एमसीसीलाई संसद्बाटै पारित गरेर गम्भीर राष्ट्रघात गर्दैछ । जनताको मतलाई देश बेच्ने अनुमतिपत्र बनाउँदैछ ! सबै सचेत बनौँ ।

प्रबुद्ध नागरिकहरू !

फासिवाद र प्रतिबन्ध इतिहासको नकारात्मक घटना हुँदाहुँदै पनि जनताको मुक्ति, देशको स्वाधीनता एवम् क्रान्तिको झन्डा फहराउने गौरव प्राप्त भएकोमा विशेष आनन्दानुभूति भइरहेको छ । हामी गर्वका साथ उद्घोष गर्न चाहन्छौँ– नेपालमा दलाल पुँजीपति, प्रतिक्रियावादी, संशोधनवादी एवम् साम्राज्यवादीहरूको कालो सपना कदापि पूरा हुन पाउनेछैन । हामी मुक्त, अधिकार सम्पन्न जनता एवम् स्वाधीन देश बनाइछाड्नेछौँ ।

अन्त्यमा आदरणीय जनता, मेहनती पार्टीपङ्क्ति र सारा मित्रहरू, आउनुस्, महान् जनयुद्ध दिवसमा सहर, गाउँबस्तीहरू रङ्ग्याउँदै आमजनता, महान् सहिद—बेपत्ता योद्धा एवम् घाइतेहरूको सपना पूरा गर्ने प्रतिबद्धतासहित २५ औँ महान् जनयुद्ध दिवस भव्यतापूर्वक मनाऔँ ।

महान् जनयुद्ध दिवस— भव्य रूपले मनाऔँ !
एकीकृत जनक्रान्ति—जिन्दावाद !
वीर सहिद—बेपत्ता योद्धाहरू— अमर रहून् !
दलाल पुँजीवादी सत्ता— मुर्दावाद !
सामाजिक दलाल पुँजीवादी सरकारको दमन— मुर्दावाद !
पार्टीमाथिको फासिवादी प्रतिबन्ध— खारेज गर !
सबैखाले साम्राज्यवादीहरू— मुर्दावाद !
नेपाल कम्युनिस्ट पार्टी— जिन्दावाद !

केन्द्रीय समिति
नेपाल कम्युनिस्ट पार्टी

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :