सहिद दिवस मनाइदै


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले निरङ्कुश राणा शासनका विरुद्ध प्रजापरिषद्को नेतृत्वमा सङ्घर्ष गर्दा राणा सरकारले हत्या गरेका गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको सम्झना र सम्मानमा स्मृति सभाहरू गर्ने भएको छ । वि.सं. १९९७ मा रणा सरकारले हत्या गरेका गङ्गालाल कम्युनिस्ट विचारका नेता भए पनि प्रजापरिषद् गठन गरेर साझा सङ्गठनमार्फत साझाशत्रु राणा शासनका विरुद्ध सङ्घर्षरत थिए । दशरथ चन्द भारतीय स्वतन्त्रता सङ्ग्रामका सेनानीसमेत थिए । त्यसैगरी धर्मभक्त माथेमा राजा त्रिभुवनका व्यायाम प्रशिक्षक थिए । माथेमाले नै राजा त्रिभुवन र प्रजापरिषद्का बीचमा सूचना आदानप्रदान गर्थे । माथेमा हरेक दिन त्रिभुवनलाई व्यायाम सिकाउन दरबार जाने गर्थे । त्यसैगरी शुक्रराज शास्त्री आर्यसमाजी थिए । उनका पिता माधवराज जोशी आर्य समाजीका अभियानकर्ता थिए । समाज सुधार अभियान चलाएका कारण राणाहरूले माधवराज जोशीलाई दण्डित गरेका थिए । आर्य समाज हिन्दु धर्मकै एकेश्वरवादी समूह (धारा) मानिन्छ । जसले ईश्वर एक मात्र भएको, मूर्तिपूजा गर्नु नपर्ने, दान–दक्षिणा गर्नु नपर्ने र मानवसेवा नै धर्म हो भन्छ । आर्य समाजले राजा–महाराजालाई ईश्वरको रूप मान्दैन । त्यसप्रकारको प्रचार आफ्नो विपक्षमा ठानेर माधवराज जोशी र उनको समूहलाई राणहरूले दमन गरेका थिए । त्यही आर्यसमाजी धाराका अनुयायी शास्त्री प्रजापरिषद्का पनि नेता थिए । एकजना विश्वासघातीले प्रजापरिषद्को भेद खोलिदिएपछि त्यसका सबैजसो नेताहरू गिरफ्तार भए । गिरफ्तार भएकामध्ये ४ जनालाई मृत्युदण्ड दिइयो । टङ्कप्रसाद आचार्य ब्राह्मण भएकाले चारपाटा मुढेर सर्वस्वहरण गरी चारभञ्ज्याङ कटाइयो ।

अरू कयौं जेलमा परे । जेल परेकाहरूलाई २००२ सालमा जुद्धशमशेरले आममाफी दिएपछि मात्र छुटेका थिए । त्यही साल जुद्धशमशेरले सप्तरीकाण्डमा जेल परेका सबैलाई पनि आममाफी दिएका थिए । सप्तरी जेलमा रहेका भारतीय स्वतन्त्रता सङ्ग्रामका राममनोहर लोहियालगायतलाई सप्तरीका जनताले जेलमा आक्रमण गरी मुक्त गराएको घटनालाई सप्तरीकाण्ड भनिन्छ ।

नेकपाको कार्यदिशाले दलाल पुँजीवादविरोधी सबै शक्तिहरू, देशभक्त र प्रगतिशील शक्तिहरूसँग सहकार्य गर्ने नीति लिएको देखिन्छ । कार्यदिशालाई ठोस गर्ने क्रममा यस वर्ष नेकपाले वि.सं. १९९७ का चारजना सहिदहरूको सम्मान र स्मरण गर्ने निर्णय गरेको छ । यसलाई नेकपाको संयुक्त मोर्चासम्बन्धी नयाँ अवधारणाको अभिव्यक्तिका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :